काउन्टिन्होको गोलसँगै बार्सिलोना फाइनलमा - Naya Patrika
eNaya Patrika
  • ePaper

काउन्टिन्होको गोलसँगै बार्सिलोना फाइनलमा

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगितामा लगातार पाँचौँपटक फाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले बिहीबार राति सेमिफाइनलको दोस्रो लेगमा भ्यालेन्सियालाई २–० ले हराउँदै अन्तिम दुई स्थान पक्का गरेको हो ।

समग्रमा बार्सिलोना ३–० ले विजयी भयो । पहिलो सेमिफाइनल लेगमा बार्सिलोनाले आफ्नै घरेलु मैदानमा १–० को नतिजा निकालेको थियो । अब उपाधि भिडन्तमा बार्सिलोनाले सेभिल्लाको सामना गर्नेछ । बार्सिलोनाले पछिल्ला तीन सिजनमा उपाधि जित्दै आएको छ ।

अब लगातार चौथोपटक कोपा डेल जित्ने दाउमा बार्सिलोना छ । सन् २०१४ को फाइनलमा बार्सिलोना रियलम्याड्रिडसँग पराजित भएको थियो । त्यसयता बार्सिलोना अपराजित छ ।

काउन्टिन्होको पहिलो गोल
यसै सिजन ब्राजिलिन स्ट्राइकर काउन्टिन्हो लिभरपुलबाट १४ करोड ५० लाख पाउन्डमा बार्सिलोनासँग अनुबन्ध भएका थिए । बार्सिलोनाकै महँगा खेलाडीमा पर्ने काउन्टिन्हो भ्यालेन्सियाविरुद्ध क्लबका लागि पहिलो गोल गर्न सफल भए ।

खेलको ४९औँ मिनेटमा उरुग्वेयन स्ट्राइकर लुइस सुआरेजको सटिक पासमा काउन्टिन्होले बायाँ खुटाले गोल गर्दैै बार्सिलोनालाई १–० को अग्रता दिलाए । सुआरेज र काउन्टिन्होबीच गज्जबको संयोग देखिन्छ ।

सन् २०१३ मा सुआरेज र काउन्टिन्हो एउटै क्लब लिभरपुलबाट खेल्थे । लिभरपुलका लागि काउन्टिन्होले पहिलो गोल सुआरेजकै पासमा गरेका थिए । त्यसवेला काउन्टिन्होले मेस्टालाविरुद्ध गोल गरेका हुन् ।

राकिटिकको विजयी गोल
भ्यालेन्सियाले घरेलु मैदानमा बार्सिलोनालाई काउन्टर र आक्रामक प्रदर्शनले दबाबमा राखेको थियो । प्रतिस्पर्धामा बार्सिलोना र भ्यालेन्सियाका खेलाडीले गोलका लागि उत्तिकै प्रयास गरेका थिए । भ्यालेन्सियाको एउटा प्रहार पोस्टमा लागेको थियो ।

बार्सिलोनाले खेलको ८२औँ मिनेटमा राकिटिकको गोलसँगै २–० को अग्रता लियो । भ्यालेन्सियाका डिफेन्डरको गल्तीमा सुआरेजले राकिटिकलाई डिबक्सअगाडि सटिक पास दिए ।

अनमार्कमा रहेका राकिटिकले सहजै पहिलो बारमा गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए ।

तपाईको प्रतिक्रिया