उत्तरको उच्चस्तरीय प्रतिनिधिमण्डल दक्षिण कोरियामा - Naya Patrika
eNaya Patrika
  • ePaper

उत्तरको उच्चस्तरीय प्रतिनिधिमण्डल दक्षिण कोरियामा

उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डल दक्षिण कोरिया पुगेको छ । दक्षिण कोरियामा सुरु भएको शीतकालीन ओलम्पिक समारोहमा सहभागिता जनाउन उत्तर कोरियाको उच्चस्तरीय टोली शुक्रबार दक्षिण कोरिया पुगेको हो ।

उत्तर कोरियाको संसद्का प्रमुख किम यङ नामको नेतृत्वको सो प्रतिनिधिमण्डल दक्षिण कोरिया पुगेको हो ।

दक्षिणको भ्रमण गर्ने उच्चस्तरीय अधिकारी
उत्तर कोरियाको संसद्का प्रमुख किम यङनाम लामो समयपछि दक्षिण कोरियाको भ्रमण गर्ने उत्तर कोरियाली उच्च सरकारी अधिकारी हुन् । प्रतिनिधिमण्डलमा उत्तर कोरियाली नेता किम जोन उनकी बहिनी पनि छिन् ।

नाम नेतृत्वको प्रतिनिधिमण्डल बोकेको विमान शुक्रबार बिहान दक्षिण कोरियाको पश्चिमी बन्दरगाह सहर इन्चोनको एक अन्तर्र्रािष्ट्रय विमानस्थलमा अवतरण गरेको थियो ।

उत्तर कोरियाका प्रतिनिधि बोकेको सेतो रङको जेट विमान इन्चोनको विमानस्थलमा अवतरण गरेपछि दक्षिण कोरियाका राष्ट्रिय टेलिभिजनहरूले प्रत्यक्ष प्रसारण गरेका थिए ।

सुरक्षा व्यवस्था कडा
उत्तर कोरियाको प्रतिनिधिमण्डल दक्षिण कोरियाको विमानस्थलमा पुग्दा त्यहाँको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको थियो । विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । हवाई उड्डयन क्षेत्रका अधिकारीहरू पनि सो विमानस्थलमा उपस्थित थिए ।

प्रतिनिधिमण्डलमा उत्तर कोरियाको संसद्का प्रमुख किम यङ नामसहित तीन उच्च सरकारी अधिकारी र १८ जना सहयोगी कर्मचारी रहेको दक्षिण कोरियाली एकता मन्त्रालयले जानकारी दिएको छ । प्रतिनिधिमण्डल आइतबार स्वदेश फर्किने कार्यक्रम छ ।

उत्तर कोरियाली प्रतिनिधिमण्डल शुक्रबार दक्षिण कोरिया पुग्ने यसअघि नै सिउलले जानकारी दिएको थियो ।

उच्चस्तरीय भेटवार्ताको तयारी
वार्ताका क्रममा उत्तर कोरियाली प्रतिनिधिमण्डलले दक्षिण कोरियाको उच्च तहका अधिकारीसँग भेटवार्ता गर्ने अनुमान गरिएको छ । तथापि, उत्तर कोरियाले यस विषयको कुनै पुष्टि गरेको छैन ।

यसअघि उत्तर कोरिया र दक्षिण कोरियाका प्रतिनिधिमण्डलबीच दुई देशको एक सीमा गाउँमा वार्ता भएको थियो । सोही वार्तापछि उत्तर कोरियाले दक्षिण कोरियामा शुक्रबारदेखि सुरु भएको हिउँदे ओलम्पिक खेलमा सहभागी हुने जनाएको थियो ।

एक महिनाअघि भएको सो वार्तामा उत्तर कोरियाको आणविक गतिविधिलगायत समसामयिक विषयमा छलफल भएको थियो । आगामी दिनमा पनि वार्तालाई निरन्तर दिने दुई कोरियाबीच सहमति भएको थियो ।

त्यसअघि नयाँ वर्षको शुभकामना सन्देशमा उत्तर कोरियाली नेता किम जोङले दक्षिणसँग वार्ता गर्न सकिने संकेत गरेका थिए ।

राष्ट्रिय एकतामन्त्रीले गरे स्वागत
उत्तर कोरियाली उच्चस्तीय प्रतिनिधिमण्डललाई दक्षिण कोरियाली एकतामन्त्रीले स्वागत गरेका थिए । दक्षिण कोरियाली एकतामन्त्री चो म्योङ गियोन उत्तर कोरियाली प्रतिनिधिमण्डलको स्वागतका लागि विमानस्थल पुगेका थिए ।

मन्त्री च्योसँगै उपमन्त्री चुन हाउसुन, दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका सुरक्षा उपनिर्देशक नाम ग्यानपो पनि स्वागतका लागि विमानस्थलमा पुगेको दक्षिण कोरियाको एकता मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । प्रतिनिधिमण्डललाई उच्चस्तरीय सम्मान दिइएको दक्षिण कोरियाले जनाएको छ ।

एउटै झन्डामुनि मार्च
ओलम्पिकको उद्घाटन समारोहअघि दुवै कोरियाली खेलाडीले एउटै झन्डामुनि मार्च गरेका छन् । दुई कोरियाबीच लामो समयदेखि असमझदारी बढेको थियो । तर, ओलम्पिकमार्फत दुवै देशले वैमनश्यता अन्त्य गर्दै एउटै झन्डामुनि मार्च गरेका हुन् ।

उत्तर कोरियाको आणविक होड अन्त्यका लागि पनि खेल प्रभावकारी हुने विश्व समुदायले विश्लेषण गरेको छ । प्योङयाङका बारम्बारका परमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाको अन्तर्राष्ट्रिय समुदायले आलोचना गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय समुदायको चेतावनी बाबजुद उत्तर कोरियाले आण्विक गतिविधिलाई निरन्तरता दिएको भन्दै संयुक्त राष्ट्रसंघले प्योङयाङविरुद्ध विभिन्न चरणमा नाकाबन्दी लगाएको छ ।

तपाईको प्रतिक्रिया