पूर्वप्रधानमन्त्री जियाका समर्थकद्वारा विरोध प्रदर्शन - Naya Patrika
eNaya Patrika
  • ePaper

पूर्वप्रधानमन्त्री जियाका समर्थकद्वारा विरोध प्रदर्शन

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई विशेष अदालतले बिहीबार भ्रष्टाचारी ठहर गरेपछि उनका समर्थकहरूले राजधानी ढाकामा विरोध प्रदर्शन गरेका छन् । बालबालिकासम्बन्धी एउटा परोपकारी कोषको रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतले ७२ वर्षीया जियालाई पाँच वर्षको जेल सजाय सुनाएको थियो ।

सो फैसलाको विरोधमा बंगलादेशको राजधानी ढाकामा उनका समर्थकहरूले अदालत र सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।आफूमाथि लागेका आरोप जियाले अस्वीकार गर्दै आएकी छिन् । जियामाथि राजनीतिक प्रतिशोधका आधारमा फैसला गरिएको विपक्षीहरूले आरोप लगाएका छन् ।

प्रहरीले अश्रुग्यास प्रयोग गरेर जियाका हजारौँ समर्थकलाई तितरबितर पारेको थियो । फैसला सुनाउनुअघि पनि राजधानी ढाकामा उनका समर्थकहरूले प्रदर्शन गरेका थिए ।

पूर्वप्रधानमन्त्री जियामाथि लागेको भ्रष्टाचारको अरोपबारे विगत लामो समयदेखि सुनुवाइ जारी थियो । जिया भ्रष्टाचारी ठहर भएसँगैै यसै वर्षको अन्त्यतिर हुन लागेको संसदीय चुनावमा पनि भाग लिन नपाउने भएकी छिन् । उनीविरुद्ध अरू दर्जनौँ मुद्दाहरू अदालतमा विचाराधीन छन् ।

ती मुद्दाहरूको पनि अब फैसला हुने जनाइएको छ ।अदालतले खालिदा जियाका छोरा तारिक्यु रहमानसहितका अरू पाँचजनालाई पनि १० वर्षको जेल सजाय सुनाएको छ । भ्रष्टाचारमा उनीहरूको पनि संलग्नता रहेको जनाइएको छ ।

यसैबीच, आफूविरुद्ध फैसलाबारे जियाले सर्वोच्च अदालतमा पुनरावेदन दिन सक्ने बताइएको छ । उनका अधिवक्ताले यस विषयमा छिट्टै निर्णय लिने जनाइएको छ । जियासहित पाँच जनाविरुद्ध सन् २००८ को जुलाईमा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता भएको थियो । सन् २००१ देखि २००६ सम्म खालिदा बंगलादेशकी प्रधानमन्त्री बनेकी थिइन् ।

तपाईको प्रतिक्रिया