जय भोले बन्ने फुलपातीमा रिलिज - Naya Patrika
eNaya Patrika
  • ePaper

जय भोले बन्ने फुलपातीमा रिलिज

पुराना फिल्मकर्मी अशोक शर्मा झन्डै १७ वर्षपछि फिल्म निर्देशनमा फर्किएका छन् । उनको निर्देशनमा बन्ने जय भोले फिल्मको बिहीबार राजधानीको र्‍याडिसन होटेलमा प्रेसमिट गरी घोषणा गरियो ।

कमेडीका साथमा सामाजिक विषयमा निर्माण हुने जय भोलेको सुटिङ फागुन पहिलो सातादेखि सुरु हुनेछ । फिल्ममा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धि तामाङ, सुरेन्द्र केसीका साथमा निर्देशक शर्मा स्वयम् मुख्य भूमिकामा रहनेछन् । अभिनेत्री वसुन्धरा भुसाल विशेष भूमिकामा रहने फिल्मको स्क्रिप्ट अभिनेता खगेन्द्रले लेखेका हुन् ।

निर्देशक शर्मा स्वयम्, उनकी पत्नी किरण, छोरा अंकित र छोरी कृति शर्मा निर्माता रहेको फिल्म पुरुषोत्तम प्रधानले खिच्नेछन् । डेढ करोडभन्दा बढी बजेटमा बन्ने फिल्मको सुटिङ इलाम, झापा, पोखरालगायतका स्थानमा हुनेछ । राजनराज शिवाकोटी र कल्याण सिंहको संगीत रहेको फिल्ममा वसन्त श्रेष्ठको कोरियोग्राफी रहनेछ । ०७५ को फुलपातीमा प्रदर्शन हुने भनिएको जय भोले आधुनिक फिल्म भएको निर्देशक शर्माले बताएका छन् । ‘यो एउटा सहरको कथा हो,’ उनले भने, ‘मैले नयाँ सोच र शैलीबाट फिल्म बनाउँदै छु । त्यसैले सफल हुनेमा पूर्ण विश्वस्त छु ।’

शर्माले सीता, गरिब, नीरमाया, अल्लारे, मिस्टर रामकृष्णे र यो मायाको सागर गरी ६ वटा फिल्म निर्देशन गरिसकेका छन् । ०५७ सालमा यो मायाको सागर निर्देशन गरेपछि शर्माले ०५९ सालमा अनिश कोइरालाको निर्देशनमा मितिनी निर्माण गरेका थिए । पछि, उनले छवि ओझा र उज्वल घिमिरेसँगको संयुक्त निर्माणमा अन्दाज निर्माण गरेका थिए । उनी झन्डै १७ वर्षपछि निर्देशनमा ‘कमब्याक’ हुन लागेका हुन् ।

तपाईको प्रतिक्रिया