अन्तर्राष्ट्रिय सेयर बजारमा पहिरो - Naya Patrika
eNaya Patrika
  • ePaper

अन्तर्राष्ट्रिय सेयर बजारमा पहिरो

पछिल्ला दुई दिन अन्तर्राष्ट्रिय सेयर बजारमा तीव्र गिरावट आएको छ । औद्योगिक क्षेत्रका मुख्य ३० कम्पनीको सेयर सूचक डाउजोन्स सोमबार मात्र १ हजार १ सय ७५ दशमलव २१ अंक घटेर २४ हजार ३ सय ४५ दशमलव ७५ विन्दुमा झरेको छ । प्रतिशतका आधारमा सन् २०११ को अगस्टमा अमेरिकी सेयरमूल्यमा आएको कमीयताकै यो सबैभन्दा धेरै हो ।

यसैगरी, ठूला ५ सय कम्पनी सूचीकृत एसएन्डपी ५०० सोमबार ४ दशमलव १ प्रतिशत घटेको छ । सो दिन नास्ड्याक कम्पोजिट ३ दशमलव ७८ प्रतिशत र न्युयोर्क स्टक एक्सचेन्ज ३ दशमलव ९२ प्रतिशत घटेर बन्द भएको छ । बेलायतको सेयर बजार मापन गर्ने एफटिएसई १०० १ दशमलव ९१ प्रतिशत घटेर पछिल्लो १ वर्षको सबैभन्दा न्यून विन्दुमा पुगेको छ । मंगलबार बजार खुल्दासमेत यो प्रवृत्तिले निरन्तरता पाएको छ ।

अमेरिकी सेयर बजारको प्रवृत्तिलाई विश्वका अन्य परिसूचकले पनि पछ्याएका छन् । जापानको निकेई–२२५ चार दशमलव ७३ प्रतिशत घटेको छ भने साङ्घाई कम्पोजिट ३ दशमलव ४ प्रतिशत घटेको छ । मंगलबार भारतको सेयर परिसूचक बिएसई सेन्सेक्स ५६१.२२ अंकले घटेको छ ।

सोमबार अमेरिकी सेयर बजार ओरालो लाग्नुमा कुनै ठोस कारण नभए पनि बजारमा गएको पहिरोले लगानीकर्ता अन्योलमा परेका छन् । फेडरल रिजर्भले छिटोछिटो ब्याजदर बढाउनु तथा अमेरिकीको ज्यालादर बढ्ने प्रक्षेपणले बजार घट्न मद्दत गरेको विश्लेषकहरुले अनुमान गरेका छन् । ब्याजदर वृद्धिले कर्पोरेटको नाफा घट्ने तथा ज्याला वृद्धिले मूल्य बढाउने लगानीकर्ताको डर छ । मंगलबार बजार खुल्नेबित्तिकै लगानीकर्ताले सेयर बिक्रीलाई झनै बढाएका छन् । सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पले कर कटौतीको कानुनमा हस्ताक्षर गरेको ट्विट गरेका थिए । यो कानुनले आगामी वर्षहरूमा अमेरिकी बजेट घाटामा जाने विश्लेषकको अनुमान छ ।

अमेरिकी सेयर बजारको प्रवृत्तिलाई विश्वका अन्य परिसूचकले पनि पछ्याएका छन् । जर्मन डाक्स २ दशमलव १ प्रतिशत घटेको छ भने फ्रान्सको सिएसी २ दशमलव ४ प्रतिशत घटेको छ । सोमबार एसियाली सेयरबजार पनि घटेको छ । जापानको निक्केई २२५ चार दशमलव ७३ प्रतिशत घटेको छ भने साङघाई कम्पोजिट ३ दशमलव ४ प्रतिशत घटेको छ । त्यसैगरी, हङकङको सेयरबजार मापक हाङसेङ ५ दशमलव १२ प्रतिशत घटेको छ । मंगलबार भारतको सेयर परिसूचक बिएसई सेन्सेक्स ५६१.२२ अंकले घटेको छ । त्यस्तै, निफ्टी फिप्टी भने १६८ अंकले घटेको छ । भारतीय सेयर बजार घट्नुमा अन्तर्राष्ट्रिय प्रभावका अतिरिक्त हालै प्रस्तुत भएको बजेटको पनि प्रभाव छ । भारत सरकारले १ फ्रेबुअरीमा सन् २०१९ को चुनावलाई लक्षित गर्दै पपुलिस्ट बजेट सार्वजनिक गरेको थियो ।

तपाईको प्रतिक्रिया