कलेज भर्ना हुँदा गोल्डमेडल पाइसकेको थिएँ : हरिवंश अाचार्य - Naya Patrika
eNaya Patrika
  • ePaper

कलेज भर्ना हुँदा गोल्डमेडल पाइसकेको थिएँ : हरिवंश अाचार्य

हाँस्यकलाकारिता क्षेत्रका चर्चित कलाकार हुन् हरिवंश आचार्य । उनले हास्यव्यंग्य कलाकारिता क्षेत्रमा लामो समय बिताइसकेका छन् । आचार्य यस क्षेत्रमा छुट्टै छवि भएका व्यक्तित्व पनि हुन् । सामाजिक सन्देश दिनेखालका कैयौँ चलचित्र र हास्यव्यंग्य टेलिशृंखलामा अभिनय गरिसकेका आचार्यको विद्यार्थीजीवन यस्तो छ :

बुवाआमाले पण्डित बनाउने चाहनाले संस्कृत पढाउनुभयो

मेरो जन्म काठमाडौंस्थित नक्साल गैरीधारामा भएको हो । काठमाडौंंमै जन्मेको हुनाले कतिपयले मेरो बाल्यकाल सहज ढंगले बित्यो भन्ने सोच्छन् होला । तर, वास्तविकता त्यो थिएन । किनभने म ६ वर्षको हुँदा मेरो बुवा बित्नुभयो । त्यस्तै, ११ वर्षको हुँदा आमा पनि बित्नुभयो । तर, मेरो बुवाआमाको इच्छाचाहिँ मलाई पण्डित बनाउने थियो । त्यसैले मलाई रुद्री पूजापाठ गर्न सिकोस् भनेर उहाँहरूले सानैदेखि संस्कृत विद्यालयमा पढ्न पठाउनुभयो । ठमेलमा एकजना तीर्थराज आचार्य गुरु हुनुहुन्थ्यो । उहाँसमक्ष म संस्कृत पढ्न जान्थेँ । जसले गर्दा मलाई अलिअलि रुद्री, चण्डी कौमोदी गर्न आउँथ्यो ।

संस्कृत पढ्ने इच्छा नभएपछि दरबार हाइस्कुल गएँ

तर मेरा साथीहरू धेरैजसो शान्ति विद्यागृह, जुद्धोदय, नन्दी माविमा पढ्न जान्थे । मलाई पनि संस्कृत नपढाएर यस्तै विद्यालयमा भर्ना गर्दिए हुन्थ्यो भन्ने लाग्थ्यो । आफूलाई इच्छा नभएको पढाइ भएको हुनाले संस्कृतमा त्यति ध्यान दिँदैनथेँ । त्यसपछि म बिग्रिएर हिँड्न थालेँ । स्कुलबाट भागेर हिँड्थेँ । यसरी म विद्यालय नगएको आमाले थाहा पाउनुभयो । त्यसपछि म आमासँग संस्कृत पढ्न जान्नँ भनेर रोएँ । त्यसपछि मलाई दरबार हाइस्कुलमा कक्षा ६ मा भर्ना गरियो ।

स्कुलबाट भागेर फिल्म हेर्न जान्थेँ

११ वर्षको हुँदा आमा बित्नुभयो । म आफैँ पद्मोदय स्कुलमा गएर भर्ना भएँ । त्यसवेला भर्ना हुँदा पद्मोदय स्कुललाई ७ रुपैयाँ तिरेको थिएँ । तर, मेरो सुरुदेखिको नै पढाइको आधार बिग्रिएकाले स्कुल जानेभन्दा पनि भाग्ने बानी लागिसकेको थियो । म घरबाट स्कुल जाने भनेर निस्कन्थेँ, तर स्कुल नगईकनै सिनेमा हेर्न जान्थेँ । त्यसवेला प्रदर्शनमा आएका हिन्दी सिनेमा कुनै पनि हेर्न छुटाइनँ होला । कहिलेकाहीँ आफूसँग पैसा नभएको वेलामा घरबाट पैसा चोरेर भए पनि हेर्थेँ । त्यस्तै, कहिले त हुलमुलमा त्यसै छिरेर पनि हेरिन्थ्यो । प्रायः मैले काठमाडौंका कुनै पनि सिनेमा हलमा चलचित्र हेर्न छुटाइनँ होला । यसरी स्कुलबाट भागी–भागी सिनेमा हेर्दै जाँदा मलाई सिनेमाप्रति रुचि जाग्न थाल्यो । मलाई त्यसवेलाका सिनेमाका अधिकांश डायलग कण्ठ हुन्थे । जसले गर्दा सिनेमाघर मेरा लागि विद्यालयजस्तै भयो ।

एसएलसी उत्तीर्ण हुन चार वर्ष लाग्यो

०३२ मा एसएलसी दिएँ । फेल भएँ । ०३३ मा पनि फेल भएँ । ०३४ मा परीक्षा नै दिइनँ । ०३५ मा परीक्षा दिएँ । अनि मात्र एसएलसी पास भएँ । तृतीय श्रेणीमा उत्तीर्ण भएँ । तर, मलाई बोर्ड फस्र्ट नै भएजस्तो भयो । तर, मेरो परिवारमा दिदी पनि हुनुहुन्थ्यो । मैले चार वर्षसम्म एसएलसी उत्तीर्ण गर्न नसक्दा उहाँ धेरै चित्त दुखाउनुहुन्थ्यो ।

कलेज भर्ना हुँदा तीनवटा गोल्डमेडल

यसरी एसएलसी उत्तीर्ण भइसकेपछि म आइए अध्ययनका लागि ०३६ मा रत्नराज्यलक्ष्मी क्याम्पसमा भर्ना भएँ । पत्रकारिता विषय अध्ययन गर्न थालेँ । जुनवेला म एउटा सामान्य कलाकार भइसकेको थिएँ । त्यतिखेर नै मैले गाईजात्रा महोत्सवमा तीनवटा गोल्डमेडल लिइसकेको थिएँ । जसले गर्दा मलाई धेरैजसो मानिसले नामले नै चिन्ने भइसकेका थिए । यसपछि ०३७ मा मेरो र मदन दाइको सहकार्य सुरु भयो ।

कलाकारितालाई अघि बढाउँदा पढाइ बिग्रियो

यसरी सहकार्य भएपछि यमलोक भन्ने क्यासेट पनि निस्किसकेको थियो । जुनवेला त्यो क्यासेट निकै हिट थियो । जसले गर्दा हामीलाई प्रोग्रामको भ्याइनभ्याई नै हुन थाल्यो । त्यसैले कलेज जानेभन्दा पनि बाहिरतिर कार्यक्रममा हिँड्दै समय बित्यो । यसरी विभिन्न कारणले गर्दा मैले आइए पास गर्न सकिनँ । तर, कुनै पछुतो छैन ।

पैसाको निकै समस्या थियो

म सानैमा टुहुरो भएको हुनाले मलाई पैसाको समस्या पनि त्यत्तिकै थियो । काठमाडौंमा आफ्नै बस्ने ठाउँ थियो । तर, त्यो ठाउँ पनि अरूले नै खाइदियो । जसले गर्दा मैले ११ वर्षको उमेरदेखि नै मुद्दा लड्नुप¥यो । मेरी दिदी स्कुलमा पढाउनुहुन्थ्यो । त्यहाँबाट आएको पैसाले नै घरखर्च चल्थ्यो । मैले एसएलसी चार वर्षसम्म कटाउन नसकेपछि बानेश्वरस्थित रत्नराज्य स्कुलमा अकाउन्टेन्टको रूपमा काम गर्थेँ । जहाँबाट मलाई एक सय ३५ रुपैयाँ तलब आउँथ्यो । जसबाट ३५ रुपैयाँ आफू लिन्थँे सय रुपैयाँ दिदीलाई दिन्थेँ ।

प्रस्तुति : महेश तिमल्सिना

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु