सरसफाइका लागि सल्यानमा 'सुईरो अभियान' - Naya Patrika
eNaya Patrika
  • ePaper

सरसफाइका लागि सल्यानमा ‘सुईरो अभियान’

सल्यानका व्यापारिक बजारहरुमा जथाभावी फोहोर बढ्न थालेपछि सरसफाईको लागी ‘सुईरो अभियान’ सुरु गरिएको छ । दुर्गन्धित तथा अव्यवस्थित तरीकाले जथाभावी बजारमा फोहोर बढ्न थालेपछि अभियानको थालनी गरिएको हो ।

अभियानको थालनी जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजारबाट गरिएको छ । फोहोरका कारण बजार अव्यवस्थित तथा दुर्घन्धित देखिन थालेपछि हातहातमा सुईरो लिएर बजार सरसफाई गरिएको हो । सफा, स्वच्छ र सुन्दर सल्यान बनाउनका लागि ‘सुईरो अभियान’ थालिएको होटल व्यवसायी संघ सल्यानका विकास डिसीले बताए ।

व्यवसायीहरुबाटै ‘सुईरो अभियान’को थालनी भएपछि नेपाली सेना, नेपाल प्रहरी, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरु, बजारबासी, विद्यार्थी लगायतले अभियानलाई साथ दिएका छन् । फाहोरलाई शारदा नगरपालिकाको गाडी प्रयोग गरेर फोहोर विसर्जन गर्ने ठाँउमा ब्यबस्थापन गरिएको छ । अभियानको सुरुवात भएपछि जिल्लाका बजारहरु सफा देखिन थालेका छन् ।

होटल व्यवसायी संघ सल्यानका अध्यक्ष धुव्र भण्डारीले भने–’बजारको बिभिन्न चोक तथा सडकहरु फाहोर हुन थालेपछि सुईरो संचालन गरेका हौँ ।’ धेरै फोहोर देखिने श्रीनगरको सुकेखोलामा रहेको फोहोरलाई सुईरोले संकलन गरेर व्यबस्थापन गरिएको उनले बताए । सुईरो अभियान सफल बनाउन शारदा नगरपालिका सल्यान, एसएनभि, पास नेपाल, युएसएआईडि, सुहाआरा, फोहोर मलाई केन्द्र , मिसन टु डेभ्लप कम्युनिटी लगाएतका संघ सस्थाहरु समेत लागेका छन् ।

सुईरो अभियानमा जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशबहादुर विष्ट, शारदा नगरपालिका सल्यानका प्रमुख सुरेश अधिकारी लगाएतको समेत सहभागिता रहेको थियो । यो अभियान जिल्लाका नगर तथा बजार सफा बनाउन निरन्तर संचालन गरिने फोहोर मलाई केन्द्र सल्यानका सरसफाई निरीक्षक डम्बर थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया