दिपेन्द्रलाई पनि गल्फ सिकाएँ : घनश्याम थापा - Naya Patrika
eNaya Patrika
  • ePaper

दिपेन्द्रलाई पनि गल्फ सिकाएँ : घनश्याम थापा

विश्वमा गल्फलाई प्रतिष्ठित तथा धनाढ्यहरूले खेल्ने खेलका रूपमा लिइन्छ । यस्ता व्यक्तिहरूले आफ्नो लगानीको केही हिस्सा गल्फको प्रायोजन र खेल्नका लागि छुट्याएका हुन्छन् । गल्फका व्यावसायिक खेलाडीहरू विश्वकै सर्वाधिक धनी एथलेट्को सूचीमा शीर्ष स्थानमा रहने गरेका पनि छन् । नेपालमा पनि गल्फ भित्रिएको धेरै भइसक्यो । नेपालकै सर्वाधिक पुरानो रोयल नेपाल गल्फ कोर्सले स्थापनाको १००औँ वर्षगाँठ मनाइसकेको छ । नेपाली गल्फको इतिहास खोतल्दा घनश्याम थापाको नाम अगाडि आउँछ । तत्कालीन प्रधानसेनापति (नेपालकै पहिलो प्रधानसेनापति) नरशमशेरको आग्रहमा बाबु मीनबहादुर थापा गल्फ कोर्टमा सुपरभाइजर थिए । बाबुको हात समाउँदै घनश्यामले सानैमा गल्फ कोर्स छिर्ने मौका पाए । त्यसपछि उनको जिन्दगी पनि गल्फ कोर्टमै धेरै रमायो । उमेरले ७० नाघिसकेका घनश्यामले नेपालमा गल्फको इतिहास र वर्तमान अवस्थाबारे नयाँ पत्रिकाका प्रकाश कँडेललाई सुनाए :

घनश्याम थापा पहिलो व्यावसायिक नेपाली गल्फ खेलाडी

 

विश्वमा गल्फ
गल्फको सुरुवात अर्थात् आविष्कार रोचक छ । यो १५औँ शताब्दीमा स्कटल्यान्डका भेडा गोठालाहरूले सुरु गरेको खेल हो । त्यहाँको मौसम निकै जाडो । चरनमा गएका भेडाहरू भुइँ खोस्रेर बस्ने गर्थे, तातोका लागि । गोठालाहरू भने लठ्ठीले ढुंगा हान्ने खेल खेल्थे । तर, एक दिन लठ्ठीले हान्दा ढुंगा हराएछ । खोज्दा–खोज्दा ढुंगा जमिनमा बनेको एउटा होल (प्वाल) भेटियो ।

त्यसपछि गोठालाले सोचेछन्, ओहो ! लठ्ठीले हानेको ढुंगा यसरी नै प्वालमा खसालेर खेल्दा पो मज्जा हुन्छ होला । उनीहरूले यस्तै गरे । गल्फ खेल यसरी नै सुरु भयो । त्यतिखेर प्वालमा जसले धेरैचोटि खसाल्छ, उसले जित्छ भन्ने भयो । लामो दूरीमा हुइँक्याउने भन्ने थिएन । यो खेल लामो समयसम्म चल्यो । त्यसपछि उनीहरूले नै ढुंगाको सट्टा ऊनको बल बनाएर खेले । फेरि रबरको बल बनाएर खेले । क्रमशः नाइल, सेरलिन, बलाटा र अहिले टाइटानिकको पनि बल आउन थालेको छ ।

लठ्ठी पनि परिस्कृत हुँदै आयो । उनीहरुले फलामको लठ्ठी बनाए । फलाम खस्रो भएपछि पेन्ट गरेर पेन्टेट स्याफ प्रयोग गरे । आलमुनियमको पनि बनाएर खेले, तर त्यो प्रभावकारी भएन । त्यसपछि बनाइएको स्टिलको स्याफ पनि हल्का वेट भयो भन्दै अहिले ग्राफाइट कार्बोन, टाइटन स्याफसम्म आइपुगेको हो । गल्फको जसरी विकास भयो, स्रोत र साधन पनि त्यसरी नै विकास हुँदै आए । खेलाडीका लुगासमेत त्यतिवेला टाई र चुस्ता हुन्थ्यो । तर, अहिले रंगीविरंगी ड्रेसमा गल्फ खेल्ने फेसन छ ।

नेपालमा गल्फ
नेपालमा गल्फ सन् १९१७ मै खेलिएको हो । बेलायत गएर आएका राणा तथा ब्रिटिसले यसको सुरुवात गरे । हामी कोलकाताबाट नजिक पनि भयौँ । बेलायतबाहिर कोलकातामा संसारकै पुरानो गल्फ कोर्स (रोयल क्याल्कता गल्फ कोर्स) थियो । यसबाट पनि थाहा हुन्छ कि ब्रिटिसहरू कोलकातामै ल्यान्ड गरेका रहेछन्, भन्ने । राणाहरूले त्यहीँ सिकेपछि नेपालमा गल्फ भित्रियो । हाल रोयल नेपाल गल्फ कोर्स भएको ठाउँलाई त्यतिखेर गौचर भनिन्थ्यो । त्यहाँ ‘गौचर गल्फ कोर्स’ नै थियो, राणा र ब्रिटिसहरू खेल्थे । तर, गल्फ कोर्समै ब्रिटिसहरूबाट अनैतिक गतिविधि बढ्न थाल्यो भनेर राणाहरूले राजालाई सूचना दिएपछि कोर्स बन्द गरियो । गौमाता चर्ने गौचरन भएकाले कोर्स हटाउनुपर्ने भयो भनेर राजाले ‘डिप्लोम्याटिक’ तरिकाले बन्द गराएका थिए । यो सन् १९२९ को कुरा हो । त्यसपछि पनि फाट्टफुट्ट गल्फ खेल्दै आए पनि १९५८ सम्म कुनै औपचारिक खेल भएको पाइँदैन ।

१९५८ मा म १० वर्षको थिएँ । त्यतिवेला फेरि गल्फ सुरु गर्ने भनेर मेरो बुवालाई बोलाइयो । बुबा गल्फकै सुपरभाइजर हुनुहुन्थ्यो । गल्फ कोर्स बन्द भएपछि नरशमशेर (नेपालको पहिलो प्रधानसेनापति)ले सीधै प्रहरीतिर तानेका थिए । फेरि नरशमशेर र किरणसमशेर राणा मिलेर गल्फ कोर्स खोल्ने भन्दै बुबालाई बोलाए । म पनि उहाँकै पछिपछि लागेर गएँ ।

त्यहाँ गल्फ खेलेको देख्दा मलाई पनि हानौँ–हानौँ लाग्यो । मलाई एउटा लठ्ठी दिएका थिए । मैले पनि लठ्ठी झिकेर हानेको त लाग्दो रहेछ । त्यही लठ्ठीले बल ड्राइभिङ, चिपिङ, पटिङ सबै काम गर्नुपथ्र्यो । ३५ फिट तल नाला थियो, त्यहाँ बल खस्यो भने पनि लठ्ठीकै सहारामा निकाल्नुपथ्र्यो ।

खेल्दै जाने क्रममा मैले राम्रो गर्न थालेपछि एउटा सेट दिए । क्याप्टेन बुलसाराले मलाई त्यो सेट दिनुभएको थियो । उहाँ अहिले हुनुहुन्न, दिल्लीको क्र्यासमा बित्नुभयो ।

१९६४ गोल्डेन एरा
सन् १९६४ मा वसुन्धरा शाह (तत्कालीन अधिराजकुमार) पनि गल्फ कोर्समा आएर खेल्न थाल्नुभयो । उहाँको आगमनसँगै नेपालमा गल्फ सुधार भयो । त्यतिवेला पानी पर्दा ओत लाग्ने ठाउँ पनि कोर्समा थिएन । रूखमा ओत लाग्नुपथ्र्यो । वसुन्धरा शाहले एउटा छाप्रो बनाइदिनुभयो । त्यहीँ बस्ने, खाने र नौ होलपछि आराम गर्न थालियो । उहाँकै चलाखीमा एउटा सानो बिल्डिङ (क्लब हाउस) बनाएर राजा महेन्द्रलाई उद्घाटन गराउने काम भयो । त्यो कार्यक्रममा राजासमक्ष उहाँले गल्फका दुःख पनि राख्नुभयो । यसलाई ‘रोयल नेपाल गल्फ क्लब’ बनाउनुपर्‍यो भनेर बिन्ती पनि भयो । गौचर गल्फ कोर्स ५ सेप्टेम्बर १९६५ देखि रोयल नेपाल गल्फ कोर्समा परिणत भयो । रोयल नेपाल गल्फ भइसकेपछि विभिन्न राजदूतहरू पनि आउन थाले, दूतावासहरूको टुर्नामेन्ट हुन थाल्यो । महिनैपिच्छे टुर्नामेन्ट हुन्थ्यो । एयरलाइन्सले पनि विभिन्न टुर्नामेन्ट गर्न थाले । त्यसवेला उच्चपदस्थहरूले खेल्थे, तर व्यावसायिक थिएन । नेपालमा गल्फ धेरै पछि मात्रै व्यावसायिक भएको हो ।

वसुन्धराको निधनसँगै निष्क्रिय
वसुन्धराको स्वर्गारोहणसँगै १९८० बाट फेरि गल्फ कमजोर हुन थाल्यो । हवाई विभागले जग्गा लिइदियो । मैले सबै मिलेर जाऊँ र सम्बन्धित ठाउँमा आफ्नो माग राखौँ भनेँ । तर, खासै धेरैलाई चासो भएन । अझै पनि गल्फ कोर्स हवाई विभागकै मातहतमा छ । हवाई विभागलाई फिर्ता दिनेगरी करारमा लिएर चलिरहेको छ ।

सेप्टेम्बर १९८२ देखि फेब्रुअरी १९८३ सम्म गल्फ भन्ने कुरै थिएन । म आफू गल्फ प्रोफेसनल थिएँ, तर देशमा कोर्स थिएन । अनि संसारमा चिनेजानेका साथीहरूलाई मैले कतै काम भए खोजौँ भनेर आग्रह गरेँ । अन्ततः मुम्बईमा काम मिल्यो । तिहारका वेला घर छाडेर मुम्बईतर्फ पाइला चाल्दा आँखाभरि दुःखको आँसु भरियो । त्यहाँ ९ वर्षजति बसेँ । तर, त्यहाँबाट फिरेर आउँदा पनि नेपालमा गल्फ प्रोफेसनल भएको थिएन ।

म आफैँ कस्सिएँ । रोयल नेपाल गल्फ क्लबलाई स्तरीय बनाउन डेढ वर्ष अहोरात्र खटिएँ । कोर्स हराभरा बनाएँ । तर, फेरि हवाई विभागले जग्गा दिनू भन्न थाल्यो । कुनै जोड नचलेपछि जर्मनी गएँ । पूरा चार वर्ष बसेँ । उनीहरूले बेग्लै नियम बनाएपछि नेपालमै फर्किएँ ।

नेपालमै व्यावसायिक टुर्नामेन्ट
जर्मनीबाट फकेपछि सातजना व्यावसायिक खेलाडी उभ्याएर ‘नेपाल प्रोफेसनल गल्फ एसोसिएसन’ स्थापना गराएँ, ४ जुलाई १९९३ मा । त्यसपछि लगातार १० वर्षजति मेरै नेतृत्वमा चलाएँ । अहिले रवीन्द्रमान श्रेष्ठलाई हस्तान्तरण गरेर बसेको छु । गल्फ एसोसिएसन स्थापनासँगै पहिलो व्यावसायिक टुर्नामेन्ट भयो । बिस्तारै मर्केनटाइल, हिमालयन बैंकले प्रतियोगिता गर्न थाले । सूर्य नेपालसँग सम्झौता नै भयो । सम्झौतासँगै सूर्य नेपाल गल्फ प्रतियोगिता सुरु हुन थाल्यो । त्यसको पहिलो फाइल र सबै कमिटीहरू मैले नै बनाएको थिएँ । त्यो वेलामा धेरै खेलाडी भारतबाट आउँथे, खेल्थे, जित्थे र उपाधि लैजान्थे । अहिले व्यावसायिक नेपाली खेलाडी ६० जनाको हाराहारीमा छौँ । अधिकांशले नेपालमै उपाधि राख्न थालेका छन् । यो नेपाली गल्फका लागि साँच्चिकै सुन्दर दिनको सुरुवात हो ।

दीपेन्द्रलाई सिकाएँ
युवराज दीपेन्द्रलाई मैले नै गल्फ सिकाएँ । सुरुमा धेरै बिगार्थे, बिस्तारै म्याचुअर्ड बनाउँदै लगेँ । ८ वर्षको उमेरबाटै खेल्न थालेका थिए । म उनलाई खेलमा ‘कलिङ स्टिङ’का रूपमा लिन्छु । जुनसुकै खेलमा चासो राख्ने दीपेन्द्र गल्फ झन् मन पराउँथे । चार–पाँच वर्ष उनलाई गल्फ सिकाएँ । त्यसपछि म मुम्बई गएँ । फर्केर आएपछि हामी सँगै खेल्थ्यौँ । साह्रै नै रमाइला थिए । पिएचडी सकाउन लाग्दा पनि मसँग भेट भएको थियो । एउटा थेसिस बाँकी छ, त्यसपछि खेलौँला भन्थे । तर, त्यसपछि न गल्फ खेलियो, न उनले थेसिस नै सक्न पाए । देशले डाक्टर राजा पाउँदै छ भन्ने म सोच्थेँ, तर सोचाइमै सीमित भयो । सबै इतिहास भयो ।

राम्रो आत्मीयता बढेपछि मैले उनलाई आफ्ना मनका कुरा भन्थेँ । एक दिन गल्फका दुःखका पाटा सुनाएँ । खेलाडीलाई खुवाउने बाटो छैन, व्यावसायिक प्रायोजकको व्यवस्था गरिदिनुपर्‍यो भनेँ । उनकै अग्रसरतामा सूर्य नेपाल गल्फ टुरसँग सम्झौता भयो । सूर्य नेपाल गल्फ टुर अहिले पनि चलिरहेको छ । अरू–अरू पनि आउनुपर्ने हो । तर, देशको अवस्थाले सबै आउने अवस्था छैन ।

वसुन्धरा शाहको विश्वास
बुलसाराबाट जब मैले सेट पाएँ, ६ हेन्डिक्याप खेल्ने अवस्थामा पुगेँ । त्यसपछि वसुन्धरा सरकारले मलाई बेलायत पठाउने इच्छा गर्नुभएको थियो । किनभने उहाँका लागि बेलायत पनि पानी–पँधेरो थियो । तर, त्यसवेला भारतमा झरेननारन सिंह राजदूतका रूपमा दिल्लीमा भएकाले दिल्लीमै खानपिनको पैसा नलाग्ने गरी दूतावासमै बसेर खेल्ने व्यवस्था मिल्यो । ६ महिना दिल्लीमा अभ्यास गर्ने र खेल्ने मौका पाएँ । १९६८ अप्रिलमा ट्रेनिङ सिध्याएपछि इन्डियन टुर सबै खेलेँ । एसियन टुर पनि खेलेँ । नेपाललाई दुईपटकसम्म विश्वकपमा लगेँ । १९७५ मा थाइल्यान्ड र ०७७ मा फिलिपिन्समा भएको विश्वकपमा सहभागी भएँ । त्यसपछि लाग्यो अब गल्फमा आफ्नो स्तर पुग्ने रहेनछ । विदेशमा खेलेर स्तर नपुग्ने भयो भनेर देशमै गुरु बनेँ, अहिलेसम्म गुरु नै बनिरहेको छु ।

मेरै पहलमा दुई–चारपटक विश्वकपमा सहभागिता जनाउन खेलाडी पठाउने कोसिस भयो । तर, बजेटको अभावमा प्रि–क्वालिफाइङ, क्वालिफाइङ खेलाउन सकिएन । समस्या त्यहीँबाट भयो ।

व्यावसायिक बन्न बलबोयबाटै संघर्ष
गल्फमा एमेच्योर र प्रो हुन्छ । एमेच्योर सोखिनले खेल्छन् । उनीहरूलाई केवल जिउको पसिना निकाल्नु छ, हारे पनि कुनै फरक पर्दैन । तर, प्रोफेसनललाई त जित्नैपर्ने हुन्छ । उनीहरूले पैसा कमाउनुपर्ने हुन्छ । पैसा छैन रहर छ भने क्यारी र बलबोयबाटै संघर्ष गर्नुपर्छ । उनीहरूलाई वार्षिक रूपमा कुनै न कुनै मौका दिएको हुन्छ । संसारमा जति पनि गल्फ खेलाडीले प्रगति गरेका छन्, तल्लो स्तरबाटै संघर्ष गरेका छन् ।

गल्फ खस्किँदा दुःख लाग्छ
नेपालमा गल्फका प्रोफेसनल खेलाडीलाई स्पोन्सरको अभाव छ । यहाँको समस्या नै यही हो । दीपक थापा, शिवराम श्रेष्ठजस्ता प्रतिभाहरू निस्कन्छन्, तर तालिम र स्पोन्सरको अभावमा ओइलाउनुपर्छ । खेल्ने ठाउँ पनि गतिलो छैन । रोयल नेपाल धर्मरमा चलिरहेको छ । गोकर्णमा एउटा स्तरीय गल्फ कोर्स छ, तर महँगो । प्रतिभाहरू खेल्न नपाउँदा नेपालमा गल्फ खस्किएको छ । मेरो लागि यो दुःखको पाटो हो । पछिल्लो समय गल्फप्रति आकर्षण बढिरहेको पाउँछु, विशेषगरी टाइगर उड्सको क्रेजले युवाहरू गल्फप्रति आकर्षित भएका छन् ।

गल्फ टुरिजम हब बन्न सक्छ
गल्फका लागि सर्वाधिक सुहाउँदो मौसम छ, नेपालमा । यहाँ १२ महिनै गल्फ खेल्न सकिन्छ । युएईको त्यस्तो गर्मीमा खेलिरहेका हुन्छन् । नेपालमा त टुरिस्ट नआउने कुरै हुँदैन । जाडो मौसम भएका देशमा हिउँले गर्दा खेल्नै पाउँदैनन्, टेम्पोररी गल्फमा खेल्छन् । गल्फ खेल्न आउने पर्यटक निकै धनी हुन्छन् । उनीहरूलाई पैसाको लोभ हुँदैन । त्यसैले नेपालमा गल्फ खेल्ने वातावरण बनाउनुपर्‍यो । पर्यटक तान्नुपर्‍यो । दुई दिन बस्ने पर्यटक गल्फ कोर्समा छिर्‍यो भने पाँच दिन बस्छ । त्यसले फाइदा त राज्यलाई नै दिन्छ । काठमाडौंबाहिर पनि कोर्सहरू बनाउनुपर्छ । अब गल्फ कोर्समा निजी क्षेत्रहरूले लगानी गर्न जरुरी छ ।

तपाईको प्रतिक्रिया