गज्जब! कलेजका दिन : रमेश उप्रेती - Naya Patrika
eNaya Patrika
  • ePaper

गज्जब! कलेजका दिन : रमेश उप्रेती

रमेश उप्रेती नेपाली चलचित्र क्षेत्रका चर्चित नायक हुन् । कतिपयले उनलाई भाग्यमानी नायकको रूपमा पनि लिने गरेका छन् । लामो समयको ग्यापपश्चात् उनी फेरि चलचित्र क्षेत्रमा फर्केका छन् । चलचित्रमा सफल भएका उनी पढाइमा चाहिँ कस्ता थिए त ? उनले आफ्नो विद्यार्थीजीवनका किस्सा महेश तिमल्सिनालाई यसरी सुनाए :

एसएलसी पास हुँदा संसारै जितेजस्तो भयो
मेरो जन्म काभ्रेपलाञ्चोक सिपाली चिलाउने भन्ने ठाउँमा भएको हो । जसले गर्दा मेरो विद्यार्थीजीवनको सुरुवात त्यहीँबाट भयो । मैले क, ख गाउँकै विद्यालयबाट सिकेँ । गाउँकै स्कुलमा कक्षा ७ सम्म अध्ययन गरेपछि कक्षा ८ अध्ययनका लागि धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा भर्ना भएँ । त्यहीँबाट ०४६ मा द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण भएँ । त्यसवेला गाउँका मान्छे त्यति धेरै पढेका हुँदैनथे । जसले गर्दा एसएलसी पास गर्दा संसारै जितेजस्तो भयो । गाउँलेले पनि फलानोको छोरो एसएलसी पास भयो रे भनेर वाहवाही गर्थे । तर, अहिले एसइई पास भएको कुनै मतलबै छैन ।

हेडसरको डरले कक्षा छाडिन्थ्यो
मेरो स्कुलमा तीनपटक हाजिर हुन्थ्यो । चौथो पिरियडमा हेडसरले पढाउनुहुन्थ्यो । उहाँले हामीलाई ग्रामर पढाउनुुहुन्थ्यो । म अंग्रेजीमा अलि कमजोर थिएँ । जसले गर्दा सधैँ हेडसरको भाँटो खानुपथ्र्यो । त्यसैले उहाँको कक्षा सधैँ बंक गर्थेँ । उहाँले मलाई सम्झाउनुहुन्थ्यो । तर, पछि म कलाकार भइसकेपछि मैले एउटा मिडियामा उहाँको नाम लिएको थिएँ । उहाँले मलाई फोन गरेर भावुक हुनुभयो । यसको मतलब म कुनै कार्यालयको हाकिम भएर होइन । तर, मलाई पनि चस्मा लगाएर कुनै अफिसको हाकिम बन्ने लक्ष्य थिएन । मेरो स्वभाव एकबारको जुनीमा एउटा कोठामा कुनै विभाग समालेर बस्ने होइन ।

कलेजमा खासै  मन लगाएर पढिएन
एसएलसी उत्तीर्ण भएपछि मेरो कलेजयात्रा मीनभवनस्थित नेपाल कमर्स क्याम्पसबाट सुरु भयो । ०४८ मा त्यहाँ भर्ना भएको थिएँ । त्यसवेला भर्खर भर्खर गाउँबाट आएकाले पढाइतर्फ त्यति धेरै ध्यान जाँदैनथ्यो । तर, जसरी पनि ११, १२ पास गर्नुपर्छ भन्ने थियो । कतिपय विद्यार्थी साथी पढाइका साथै जागिर पनि गर्थे, तर मेरो भने जागिरे मानसिकता थिएन । जागिर खाने मानसिकता नहुनेबित्तिकै शैक्षिक प्रमाणपत्रको खासै मतलब पनि लागेन । त्यसैले इज्जतका लागि चाहिँ प्रमाणपत्र तह पास गर्नुपर्छ भन्ने थियो । तर, मन लगाएर पढिएन ।

परिवारको प्रहरी बनोस्  भन्ने चाहना थियो
परिवारले प्रहरीमा जाओस् भन्ने चाहना राखेको थियो । अंग्रजीमा कमजोर भएकाले सधैँ अंग्रेजीमा फेल हुन्थेँ । जसले गर्दा स्नातक तहमा अंग्रेजी विषयमा तत्कालै पास हुन सकिनँ । त्यहाँमाथि म प्रहरीमा इन्सपेक्टरबाहेक अरू पदमा जागिर नखाने । यदि मैले त्यसवेला असइमा जागिर खाएको भए अहिले डिएसपी हुन्थेँ होला ।

जुनियर कक्षाका केटीहरू  खुब जिस्क्याइन्थ्यो
म कलेजमा एकदमै हावादारी थिएँ । साथीभाइसँग रमाइलो गर्नुपर्ने स्वभावको थिएँ । पढाइमा भन्दा अतिरिक्त क्रियाकलापमा धेरै ध्यान जान्थ्यो । त्यस्तै, आफूभन्दा जुनियर कक्षामा आएका केटीहरूलाई जिस्क्याउँथ्यौँ । त्यसवेलाको विद्यार्थीजीवनमा बिताएका क्षण सम्झँदा पनि आनन्द आउँछ ।

पैसाको अभाव जसोतसो टार्थेँ
कलेजको जिन्दगी त्यहाँमाथि कुनै जागिरमा पनि लागेको थिइनँ । जसले पैसाको अभाव हुन्थ्यो । तर, त्यति धेरै आवश्यकताको पूर्ति गर्नुपर्ने पनि थिएन । साथै, सपना पनि खासै थिएन । त्यस्तै, कुनै नराम्रो लत पनि थिएन । जसले गर्दा त्यति धेरै पैसा खर्च हँुदैनथ्यो । अर्को कुरा मैले पहिल्यैदेखि कहिल्यै पनि घरमा पैसा माग्दिनँ भन्ने प्रण गरेको थिएँ । त्यसैले केही न केही काम गरेर पैसाको अभावलाई टार्थेँ ।

साथीभाइको लहलहैमा  अनेरास्ववियुमा सक्रिय भएँ
मैले मीनभवनस्थित नेपाल कमर्स क्याम्पस पढेको हुँ । जसले गर्दा त्यो कलेज आफैँमा राजनीतिकोे केन्द्रबिन्दुको रूपमा रहेको थियो । त्यसैले म कलेजमा अध्ययन गर्दा राजनीति नबुझेरै अनेरास्ववियुमा सक्रिय भएर लागेको थिएँ । तर, मलाई राजनीतिमा खासै चासो थिएन ।

कलेज पढ्दा सातै दिन जेल परेँ
त्यसवेला कलेजमा निकै ग्याङफाइट हुन्थ्यो । म कलेजको एउटा लडाकु नै थिएँ । मलाई झगडा गर्न निकै मनपथ्र्याे । वास्तवमै भन्नुपर्दा मेरो नामै पटकेजस्तो थियो । किनभने म हप्तामा सातै दिन जेल पर्थेँ । मेरो राजनीतिक हिसाबमा कसैसँग पनि झगडा हुँदैनथ्यो । व्यक्तिगत रूपमै धेरै झगडा हुन्थ्यो । यसरी झगडा परेको थाहा पाएपछि घरबाट बुवाआमाले धेरै गाली गर्नुहुन्थ्यो । जब म सिनेमा क्षेत्रमा आएँ । त्यसपछि म परिवर्तन भएँ ।

ऊ वेला पढिएन, अहिले पछुतो
मैले स्नातक तह पूरा गर्न सकिनँ । दोस्रो तहमा अध्ययन गर्दादेखि नै अभिनय क्षेत्रमा लागेँ । त्यसपछि पढाइतर्फ खासै रुचि भएन । तर, अहिले आएर वेलावेलामा नपढेकोमा पछुतो लाग्छ । किनभने विद्यार्थीजीवनमा मैले अंग्रजीमा राम्रो गर्दिएको भए अहिले मेरो अंग्रजी राम्रो हुन्थ्यो । यो कुराले चाहिँ मलाई सधैँ सताउँछ । यो कुराले चाहिँ कहिलेकाहीँ पछुतो लाग्थ्यो । तर, अहिले धेरै वर्ष अमेरिका बसेर त्यसलाई सुधारेको छु ।

लाजले प्रेमप्रस्ताव राख्नै सकिनँ
कलेज लाइफ एउटा त्यस्तो लाइफ हो जुन सम्झँदा आनन्द आउँछ । कलेजमा धेरै साथीका गर्लफ्रेन्ड, ब्याइफ्रेन्ड हुन्थे । यही क्रममा कलेजमा मैले एउटी केटीलाई मन पराउँथेँ । तर, म केटीको अगाडि बोल्न निकै लजाउँथेँ । त्यस केटीलाई पनि उसलाई मैले मन पराउँछु भन्ने थाहा थियो र अरू साथीहरूलाई पनि । लाजले मैले त्यो केटीलाई प्रेम प्रस्ताव राख्न नसकेर गुमाउनुप¥यो, तर पछुतो छैन । उहाँ अहिले आफ्नै संसारमा खुसी हुनुहुन्छ होला । उहाँलाई गुमाउँदा कुनै पछुतो छैन, तर सम्झँदा आनन्द आउँछ ।

  • रमेश उप्रेती, अभिनेता

तपाईको प्रतिक्रिया