युवाका पक्षमा वाणिज्य मन्त्रालयका सात काम - Naya Patrika
eNaya Patrika
  • ePaper

युवाका पक्षमा वाणिज्य मन्त्रालयका सात काम

वाणिज्य मन्त्रालयको काम अन्तरदेशीय व्यापार  (आयात–निर्यात) गर्ने हो । अहिले आयात बढेको छ, निर्यात घटेको छ । यसको अर्थ नेपालमा अहिले उत्पादन छैन । लगानी छैन । रोजगारी छैन । त्यस्तो अवस्थामा उत्पादन हुने कुरा भएन । त्यसकारण मैले नेपालमा लगानी भित्राउन, रोजगारी सिर्जना गर्न र उत्पादन बढाउन नीतिगत काम गरेको छु, जुन सीधै युवासँग सम्बन्धित हुन्छन् ।
१. निजी कम्पनी दर्ता गर्नकै लागि सबैभन्दा ठूलो समस्या छ । कानुनी झन्झट छ । युवा, दलित तथा विपन्न वर्गका व्यक्तिले कम्पनी वा व्यावसाय दर्ता गर्न चाहे निःशुल्क गराउने व्यवस्था गरेको छु ।
२. विश्व बजारमा नेपालको निर्यातजन्य वस्तुमा हस्तकलाका वस्तु सबैभन्दा उत्कृष्ट छन् । हस्तकलाका वस्तुको व्यापार गर्नका लागि अन्तर्राष्ट्रिय बजार मेला लगाउन पहिला १२ करोड बजेट थियो । अहिले ३३ करोड बजेट लगानी गरेको छु । यसले हस्तकलाकर्मीहरूलाई प्रोत्साहन मिल्नेछ ।

नेपालमा लगानी भित्राउन , रोजगारी सिर्जना गर्न र उत्पादन बढाउन नीतिगत काम गरेको छु, जुन सीधै युवासँग सम्बन्धित छन्

३. नेपालबाट अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा बढी पस्मिना जानुपर्ने हो । पस्मिनाको धागो नेपालमा पाइँदैन । त्यसकारण पस्मिना धागो उत्पादनका लागि नेपालका हिमाली जिल्लाहरूमा अनुदान दिएर गाउँगाउँमै रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याएको छु । ता कि युवाहरू गाउँ छाडेर सहर र सहर छाडेर विदेश जानु नपरोस् भन्ने हो ।
४. नेपाली किसानले उत्पादन गरेका वस्तुहरुलाई बिक्रीवितरण गर्नका लागि व्यापार मेला लगाउन सातवटै प्रदेशमा स्थायी प्रकृतिको अन्तर्राष्ट्रिय प्रदर्शनी हलहरू बनाउँदै छौँ ।
५. युवाका कार्यक्रम वा व्यापारीका प्रदर्शनी गर्न भृकुटीमण्डप साँघुरो भयो । त्यसकारण चोभारमा रहेको हिमाल सिमेन्ट कारखानाले छाडेको जग्गामा १५ सय रोपनी जग्गा लिएर ६ सय रोपनीमा ड्राई फुड र ९ सय रोपनीमा अन्तर्राष्ट्रिय व्यापार मेला लगाउने गरी एक सय अर्बको आयोजनाको काम सुरु गर्दै छौँ ।


६. अन्तर्राष्ट्रिय व्यापार झन्झटिलो, सामान ल्याउँदा पचासौँ ठाउँमा चेक हुने र सम्बन्धित देशका सुरक्षाकर्मीले दुःख दिने भएकाले हाम्रा व्यापारीहरू घाटामा जाने अवस्था थियो । नेपालका तर्फबाट वाणिज्य विभागमा दर्ता भएर भन्सारबाट कोड लिएपछि एउटा उत्पत्तिको प्रमाणपत्र, भन्सारको कागज र वाणिज्य मन्त्रालयको कागजले निर्यात गर्न सक्ने व्यवस्था गरेका छौँ । अहिले त्यस्ता कागज नौ ठाउँको चाहिन्छ । निर्यातमा कर मिनाहा गर्ने, बाहिर लगेर जति बेच्नुहुन्छ, त्यसको दुई प्रतिशत पुरस्कार फिर्ता लिने नीति हामीले लिएका छौँ । आयात गरेर सजिलो ढंगले व्यापार गर्न सकुन् भनेर इलोक्ट्रोनिक ट्र्याकिङ सिस्टमको विकास गरेका छौँ ।
७. वस्तु उत्पादनका लागि प्रोत्साहन गर्ने र भइरहेको कारोबारलाई सहजीकरण गर्ने वाणिज्य मन्त्रालयले गरिरहेको छ ।

नेपालमा श्रमिकको ज्याला  अत्यन्तै न्यून भयो । आठ हजार ६ सय ज्यबालाले टिक्न सक्ने  अवस्था नै हुँदैन । त्यसले  सहरमा मात्रै होइन, गाउँमा पनि खान पुग्दैन । त्यसकारण कम्तीमा मलेसियामा भएकोजति तलब नेपालमै दिनुपर्छ ।

युवालाई स्वदेशमै राख्न नेपालमा श्रमिकको ज्याला अत्यन्तै न्यून भयो । आठ हजार ६ सय ज्यालाले टिक्न सक्ने अवस्था नै हुँदैन । त्यसले सहरमा मात्रै होइन, गाउँमा पनि खान पुग्दैन । त्यसकारण कम्तीमा मलेसियामा भएकोजति तलब नेपालमै दिनुपर्छ । सरकारले न्यूनतम १५ हजार तलब दिनुपर्छ भन्ने निर्णय गरिसकेको छ । नेपाली युवायुवतीमा काम गर्ने जाँगर धेरै कम छ । काम गर्ने संस्कार हामीमा छैन । व्यवसाय गर्ने संस्कार पनि हामीमा छैन । हामीले काम निर्वाहमुखी गर्छौं । हामीलाई धान पनि आफ्नै खेतको चाहिने, मकै र कोदो पनि आफ्नै बारीको चाहिने, दूध खाने गाई, भँैसी पनि आफ्नै हुनुपर्ने, जोत्ने गोरु पनि आफ्नै चाहिने, खसी बाख्रा पनि आफैँ पाल्नुपर्ने भएकाले हामी निर्वाहमुखी मात्रै भयौँ । त्यसकारण हाम्रो देशमा योचाहिँ प्रधान उत्पादन हो भन्ने नै छैन । सरकार एउटा हात हो, जनता अर्को हात हो, जोड दिने काम सञ्चारकर्मीले गर्न अत्यन्त जरुरी छ ।

  • मीन विश्वकर्मा, वाणिज्यमन्त्री

तपाईको प्रतिक्रिया