सुस्मिताको दैनिकी : १२ वर्षीय दाइलाई बोकेरै विद्यालय - Naya Patrika
eNaya Patrika
  • ePaper

सुस्मिताको दैनिकी : १२ वर्षीय दाइलाई बोकेरै विद्यालय

रातो सलको सहाराले दाइलाई बुइमा बोकेर एक हातले सल र अर्को हातले किताब समातेर पसिना काड्दै पालुङटार नगरपालिका–९ धुँवाकोटस्थित मदने डाँडा माध्यमिक विद्यालयमा आइतबार एक छात्रा आइपुगिन् । १० वर्षीया सुस्मिता कक्षा २ मा पढ्छिन् भने उनका दाइ १२ वर्षीय लक्ष्मण ३ कक्षामा अध्ययनरत छन् ।

बिहान सबेरै उठ्नु, हतार हतार गरेर खाना खाएर हातमा दाइ र आफ्नो किताब कापी भएको झोला झुण्ड्याउँदै दाइलाई बोकेर विद्यालय जानु सुस्मिता बरामको दैनिकी बनेको छ । तीन कक्षामा पढ्ने लक्ष्मण बरामको खुट्टाले काम गर्दैन । उनका दुवै खुट्टा वाङ्गो छ । आधा घण्टाको बाटो दाइलाई बोकेर विद्यालयको कक्षामा आइपुगेपछि बेन्चमा बसाल्दै सुस्मिताले भनिन् ‘दाइको दुवै खुट्टाले टेक्न मिल्दैन, सधैँ आफैँ बोकेर विद्यालय ल्याउँछु ।’ विद्यालय आउँदा जाँदा भेटेका साथीहरुले किताब बोकिदिन सघाउने गरेको सुस्मिताले बताइन् ।

‘विद्यालय १० बजे पुग्नु पर्छ, कहिले आठ वजे त कहिले सवा ८ बजेसम्म घर बाट निस्कन्छु,’ सुस्मिताले भनिन् ‘दाइलाई बिसाउँदै बिसाउँदै ल्याउँछु, घर जाने बेला त कहिले रातै पर्छ ।’ छेरेकबाट ढुङ्गेटारीमा रहेको विद्यालय आउन अरुलाई तिस मिनेट लागे पनि दाइलाई बोकेर आउँदा सुस्मितालाई १ घण्टै लाग्छ ।

लक्ष्मण जन्मजात अपाङ्ग भएको उनको हजुरआमा सुनमायाँ बरामले बताइन् । ‘यसको आमा पनि यहि भदौमा पोइला गइन्, अहिले म बुढीले यसलाई हेरिरहेको छु ,’ सुनमायाँले भनिन् ‘बोल्न वाठै छ, पढाइ पनि ठिकै छ, एउटा नातीलाई खाना खाजा खुवाउने शौचालय लाने ल्याउने गर्दै विहान बेलुकी त्यसै जान्छ ।’ उनका बुबा मिन बहादुर ज्याला मजदुरीमा खटिन्छन् ।

विद्यालयको कक्षा चलिरहेको बेला लक्ष्मणले साथीलाई शौचालय जाने इसारा गरे । सँगै रहेका उनका साथीले बुइ चढाउँदै कक्षाबाट शौचालय पुर्याए । ‘उनको बैनीले बोकेर घर लाने ल्याउने गर्छिन्, यहाँ विद्यालयमा चाँही उनकै साथीहरुले शौचालय सम्म लाने ल्याउने गर्छन्,’ विद्यालय प्रध्यानाध्यापक रुद्र प्रसाद उप्रेतीले भने ‘बिद्यालयमा उनलाई सहयोग गर्न यता उती लान अरु बिद्यार्थी निकै सहयोगी नै बनेका छन् । बरामको परिवार आर्थिक रुपमा पनि निकै कमजोर रहेको उप्रेतीले सुनाए ।

तपाईको प्रतिक्रिया