जरिवाना तिरे लाइसेन्स नभए पनि छुट - Naya Patrika
eNaya Patrika
  • ePaper

जरिवाना तिरे लाइसेन्स नभए पनि छुट

सवारी सञ्चालन अनुमतिपत्र (लाइसेन्स) नभए पनि तनहुँमा सवारी साधन चलाउन पाइन्छ भन्दा अचम्म लाग्छ । तर, यो यथार्थ हो । लाइसेन्स नभए पनि सवारी साधन चलाएकै आधारमा ट्राफिक प्रहरीले पक्रिए पनि सामान्य जरिवाना शुल्क तिरेपछि  छुटकारा पाइन्छ ।

जिल्लाका अधिकांश स्थानीय रुटमा चल्ने सवारी चालक लाइसेन्सविनै वर्षौंदेखि सवारी साधन चलाइरहेका छन् । उनीहरूलाई ट्राफिक प्रहरीले चेकजाँच नगर्ने भन्ने पनि होइन । हरेक दिनजसो चेकजाँच पनि हुन्छ ।

तर, ट्राफिकले जरिवानाबापतको सामान्य चिट काटेपछि उनीहरू पुनः सवारी चलाउन योग्य हुन्छन् । ग्रामीण भेगमा मात्रै होइन, राजमार्गमा चल्ने केही सवारी चालक पनि यसरी नै सवारी चलाइरहेका छन् ।

राजस्व बढ्यो, दुर्घटना घटेन
दुर्घटना न्यूनीकरण र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न भन्दै ट्राफिक प्रहरीले राजमार्ग र ग्रामीण भेगमा समेत चेकजाँचमा कडाइ गरेको छ । जसबाट सरकारलाई राजस्व त बढेको छ, तर दुर्घटनामा भने न्यूनीकरण भएको छैन ।

चालकले मादक पदार्थ सेवन गरेको भएमा वा विनालाइसेन्स सवारी साधन चलाउँदा पनि जरिवाना लिएर छाड्ने गरेको यात्रुहरूको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार पहिलोपटक यस्ता चालक भेटिए जरिवाना लिएर छाड्ने गरिएको छ ।

सरकारले नियमित रूपमा लाइसेन्सको परीक्षा नखुलाउँदा कतिपय दक्ष चालकले पनि लाइसेन्स नपाइरहेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख कृष्णबहादुर क्षेत्रीको भनाइ छ । ‘त्यस्ता व्यक्तिको कामलाई रोक्न सकिँदैन ।

केही सवारीधनीलाई लाइसेन्स नखुलेकै कारण नपाएकाले जरिवाना काट्दै छाडेका छौँ,’ उनले भने । यस्तो क्रियाकलापबाट समस्या हुने उनको पनि भनाइ छ । प्रहरीका अनुसार चेकजाँचका क्रममा विशेषगरी कलेज पढ्ने धेरै किशोर–किशोरीले सवारी चालक अनुमतिपत्र नलिई हिँड्ने गरेका छन् । ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार प्रायः स्कुटर, मोटरसाइकल र ट्र्याक्टर चालकले सवारी चालक अनुमतिपत्र नलिई सवारी चलाउने गरेका छन् ।

राजस्व संकलन
तनहुँमा आव ०७३/७४मा १३ हजार पाँच सय ४७ सवारी साधनलाई कारबाही गर्दा ८४ लाख ७६ हजार राजस्व संकलन भएको छ । त्यस्तै आव ०७४/७५को ६ महिनामा १० हजार एक सय ४३ सवारी साधन कारबाहीमा परेका छन् ।

कारबाहीमा परेका सवारी साधनबाट ६४ लाख २६ हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख क्षेत्रीले बताए । गत वर्षको तुलनामा यस वर्ष सवारी साधनको कारबाहीबाट राजस्व बढी संकलन भएको छ ।

ट्राफिकले दुःख दिएको ट्रायाकटर चालकको गुनासो
बजार क्षेत्रमा गुड्ने ट्र्याक्टरका चालकलाई ट्राफिक प्रहरीले दुःख दिने गरेको गुनासो आएको छ । ट्र्याक्टरमा ढुंगा, गिटी, बालुवालगायत वस्तु ल्याउँदा ट्राफिकले दुःख दिने गरेको उनीहरूको दाबी छ ।

‘अरूलाई असर नपरोस् भनेर गिटी, बालुवा पालले छोपेर ल्याउँछौँ तर पनि प्रहरीले ट्र्याक्टर रोकेर दुःख दिन्छन्,’ एक ट्रायाकटर चालकले भने, ‘केही ट्राफिक प्रहरीले सरलाई पनि हेरौँला नि भनेपछि छाड्छन् ।’

ट्राफिक प्रहरीले भने नियमसंगत ढंगले काम गरिरहेको बताए । नियमले चलाउने चालकलाई केही नगरेको तर प्रक्रिया मिच्नेलाई भने त्यसै नछाडेको प्रहरीको भनाइ छ । ट्रायाकटर चालकहरूले लगाएको आरोपको खण्डन गर्दै त्यस्तो गतिविधि ट्राफिक प्रहरीले नगर्ने र गरेको पाइए कारबाहीको दायरामा ल्याउने ट्राफिक प्रमुख क्षेत्रीले बताए ।

लाइसेन्स नभएका सवारी चालकलाई दफा ४५ अनुसार एक हजार जरिवाना लिन सकिने प्रावधान रहेको छ भने पटक–पटक कारबाहीमा पर्ने सवारी साधनबाट एक हजार पाँच सयसम्म जरिवाना लिन सकिनेछ ।

तपाईको प्रतिक्रिया