पप गीत र गायकलाई होच्याउँथे - Naya Patrika
eNaya Patrika
  • ePaper

पप गीत र गायकलाई होच्याउँथे

रेडियो नेपालमा गीत रेकर्ड गराउने इच्छा गर्भमै तुह्यो । साह्रै ठूलो आशा, भरोसा र विश्वास टुट्यो । बाहिरबाट हेर्दा स्वागत गरेझैँ गर्ने, सबैको साझा सम्पत्ति हो भन्ने, तर वास्तविकतामा त्यसको ठीक उल्टो गर्ने ।

०५३/०५४ सालतिर नयाँ किसिमका गीतसंगीत लिएर युवा गायकहरूको एउटा समूह देखा पर्‍यो । विशेषगरी १५ देखि २५ वर्षसम्मका युवा—युवतीलाई त्यस्ता शैलीका गीतले आकर्षित गर्‍यो । पश्चिमेली संगीतबाट प्रभावित उनीहरूको संगीत उनीहरूकै उमेरका श्रोताहरूले सुन्थे । उनीहरूको संगीत, गाउने शैली, अनि ड्रेसअप गर्ने तरिका र स्टेज प्रस्तुति परम्परागतभन्दा फरक थियो ।

रेडियो नेपालबाट बज्ने सीमित गीतहरू सुन्दा–सुन्दा वाक्क दिक्क भइसकेका ती युवाहरू आफ्नै उमेर अनि सोच मिल्ने संगीतको खोजीमा थिए । ०४६/०४७मा प्रजातन्त्र आएपछि निजीस्तरबाट रेडियो तथा टेलिभिजन खोल्ने अनुमति मिल्यो । त्यससँगै रेडियो नेपाल र नेपाल टेलिभिजनको एकाधिकार तोडियो । रेडियो नेपालमा कुनै पनि स्थान नपाएका उनीहरू अब भने निजी लगानीमा खोलिएका एफएम रेडियोमा गाउन थाले ।

स्वामी विवेकानन्दको अस्तित्वको तीन चरण यहाँ लागू हुन्छ । नयाँ विचारको जन्म हुँदा सुरुको अवस्थामा यसलाई उडाउने प्रयास गरिन्छ । दोस्रो चरणमा यसलाई पूरा तागत लगाएर रोक्ने प्रयास गरिन्छ । केही गरेर पनि छेक्न सकिएन भने यो स्वतः स्वीकार्य हुन जान्छ । ०५६/०५७मा पप संगीतले आफ्नै किसिमका श्रोताहरू बनाइसकेको थियो ।

त्यही समयमा पपगीतको क्यासेटको बिक्री हुने चलन सुरु भयो । स्टेज कार्यक्रमबाट पैसा पाइन पनि थालियो । माओवादी जनयुद्ध सुरु भएको सो समयमा धेरै नेपाली युवा विदेश पलायन भए । त्यसपछि विदेशमा पनि पप कार्यक्रमहरूको सुरुवात भयो । आफ्नै किसिमका दर्शक तथा श्रोताहरूमाझ म पनि स्टारको रूपमा स्थापित हुँदै गएँ ।

नेपाल टेलिभिजनमा रोशनप्रताप राणाले पपगीतको म्युजिक भिडियो बनाउने क्रम सुरु गरे । एकपटक एउटा टक सोमा मलाई निमन्त्रणा आयो । रेडियो नेपालका पुराना पुस्ता र युवा पुस्ताबीचको भेटघाट थियो । विचार आदान—प्रदान गर्ने भनिए तापनि सो कार्यक्रम आरोप—प्रत्यारोप लगाउने मैदानको रूपमा देखा पर्‍यो ।

म अरु चार जना पपगायकसँग थिएँ भने पाँच जना गायक/संगीतकारहरू रेडियो नेपालबाट आएका थिए । कुरालाई कुराले, तर्कलाई तर्कले काट्ने दुवै पक्ष बराबरीमा थियो । तर, अन्त्यतिर एक संगीतकारले घुमाउरो पाराले भनेको कुराले भने हामी झुक्नुपर्‍यो ।

अध्ययनको कमीले शब्दहरूमा ओजन आउँदैन । हल्काफुल्का शब्द भएको गीतको आयु कत्ति नै हुन्छ र ? पपगायकहरू धेरै पढेका हुँदैनन् भन्ने कुरा अत्यन्त सभ्य भाषामा नमीठो तरिकाले उनले भने । उनका ती शब्द वाणले सीधै छातीमै घोचेझैँ भयो । “पप गीत भनेको पानीको फोकाजस्तै हो । भुलुक्क उम्लिन्छ, अनि प्याट्ट फुट्छ ।”

हामी चुपचाप लागेर एक आपसमा हेर्न थाल्यौँ । विदेशको सन्दर्भलाई कोट्याई कोट्याई नेपाली पप गीतलाई होच्याए । नबुझिने प्राविधिक शब्द लगाएर उनी आफ्नो विद्वता देखाउन चाहन्थे । कुशल अधिवक्ताझैँवाक चातुर्यताले पप संगीतलाई उनले निचो देखाए । उपस्थित हामी कसैले पनि उनलाई मुखभरिको जवाफ दिन सकेनौँ ।

आफूले जितेजस्तै गरी कटाक्ष मुस्कानले हामीलाई गिज्याएर उनी हिडे । पछि थाहा भयो, उनले नेपाली विषयमा स्नाकोत्तर तहमा स्वर्णपदक हासिल गरेका रहेछन् । संगीतका तीनचारवटा पुस्तक लेखिसकेका हुनाले पनि होला उनको चुरीफुरी बढी नै थियो ।

साह्रै नमीठो लाग्यो मलाई । मर्यादा तोड्न मिलेन । तर, मैले दुईवटा विषयमा डिग्री लिएरै देखाउनेछु भनेर उनलाई मनमनै च्यालेन्ज गरेँ । साथै, पपगीत स्थापित भएरै छाड्नेछ । तर, तपाईं मर्न पाउनु हुन्न । किनकि यी सबै तपाईंले आफ्नै आँखाले हेर्नुपर्नेछ ।

ठीक ८ वर्षपछि त्यस्तै नै भयो । मैले अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेपछि उनले छरेको भ्रम हट्यो । वास्तवमा गम्भीर शब्दले गीत गम्भीर हुने वा सरल शब्दले गीत हल्का हुने होइन । भूपीका कविताहरू यसका साक्षात् उदाहरण हुन् । आर्किटेक्टको जागिर त मैले पाँच वर्षपहिलेदेखि नै
खाँदै आएको थिएँ ।

गायक बन्नकै लागि इन्जिनियरिङ पढेँ
रेडियो नेपालमा गीत रेकर्ड गराउने इच्छा गर्भमै तुहियो । साह्रै ठूलो आशा, भरोसा र विश्वास टुट्यो । बाहिरबाट हेर्दा स्वागत गरेझैँ गर्ने, सबैको साझा सम्पत्ति हो भन्ने, तर वास्तविकतामा त्यसको ठीक उल्टो गर्ने । हिन्दूस्थानी संगीतबाट प्रभावित नेपाली संगीत अनि अंग्रेजी गीत तथा हिन्दी गीतहरू निर्वाद रूपमा रेडियोमा बज्थे ।

तर, नेपाली भाषीले गाएको नेपाली पपगीतलाई त्यहाँ व्यान्ड गरियो । एउटा सर्तमा मात्रै गीत रेकर्ड गर्न पाइने भयो । रेडियोको शैलीमा अनि त्यहाँकै गीतकार तथा संगीतकारको गीत गाइए मात्र सम्भव भयो । तर, त्यसो गर्नु भनेको आफ्नै नजरमा गिर्नु थियो । मैले स्वाभिमान बेच्न सकिन“ । ओम विक्रम विष्टलाई झ्वाट्टै सम्झे ।

उहाँले रेडियोमा कति धेरै अपमान सहनुप¥यो होला, कति पापड् बेल्नु पर्‍यो होला ? रेडियो नेपालमा गीत रेकर्ड गर्न नसकिएपछि प्राइभेट रेकर्डिङ स्टुडियोमा नै जानुपर्ने भयो । मेरो गीत रेकर्डसम्म चाहिँ हुने भयो । किनकि बजाउनुपर्ने ठाउँ त उही रेडियो नेपाल मात्रै थियो । एकपटक मेरो पनि दिन आउला, नभए पनि गीत नमर्नेचाहिँ भयो । आफ्नै जुत्ता बेचेर पहिलो गीत रेकर्ड गराएँ । अब के गर्ने ?
बागबजारको डेराको बसाइ अत्यन्त कष्टकर थियो । हाम्रो कोठा छिँडीमा भएको र भर्खर प्लास्टर गरेकाले अत्यन्त चिसो थियो । भर्खरै मात्र टिबीरोग निको भएकी मेरी आमा बारम्बार खोकिरहनुहुन्थ्यो । यो देखेर मलाई अत्यन्त दुःख लाग्थ्यो । कुरो स्पष्ट थियो ।

गास, बास, कपासको आधारभूत आवश्यकता पूरा गरेपछि मात्र गीत रेकर्ड गर्न सकिने भयो । हामी निम्न वर्गीय परिवारका थियौँ । डेरा भाडा, बिहान बेलुकीको दाल–भात, पहिलो प्राथमिकता थियो । गायक बन्नु छ भने राम्रो जागिर चाहिन्छ, किनकि गीतै गाएर बाँच्न सकिने छैन । पपगीतबाट पैसा कमाउने कुनै आधार थिएन । न क्यासेट बिक्री हुन्थ्यो, न त गीत गाएर पैसै पाइन्थ्यो । छिट्टो पढेर, छिट्टो पैसा कमाएर, छिट्टो गीत रेकर्ड गरेर गायक बन्नु थियो मलाई ।

एसएलसीमा ७२ प्रतिशत अंक ल्याएको हुनाले मैले चाहेको विषयमा नाम निकाल्न सक्ने भएँ । उमेरको कारणले होला मलाई पढेर विद्या आर्जन गर्नुभन्दा पनि गीत गाउनका लागि पढ्नु थियो । इन्जिनियरिङ विषय पढियो भने एक वर्षमै जागिर पाइन्छ रे भन्ने मैले सुनेकोे थिएँ । त्यसैले मैले इन्जिनियरिङ रोजेँ जस्ले गर्दा छिट्टै गीत रेकर्डिङ गर्ने मेरो सपना पूरा गर्न सहज हुने देखियो । पछि भयो पनि त्यस्तै ।

इन्जिनिरिङ र संगीत उस्तैउस्तै
प्रायले मलाई सोध्ने गर्छन् , दुई फरक–फरक विषयमा कसरी काम गर्न सकिरहनु भएको छ ? कतिले त संगीतबाट मात्र जीवन नचल्ने हुनाले अरु पेशा अंगालेको अड्कल पनि गर्छन् । यी दुई विषय साच्चै नै चुम्बकका दुई धु्रवहरूजस्तै ठीक उल्टो तेर्सिएका लाग्न सक्छन् । म पेसाले आर्किटेक्ट र कलेज लेक्चरर पनि छु ।

इन्जिनियरिङ पेसामा त पेन्सन पाक्ने बेला नै भइसक्यो । ०५३ सालदेखि “ड्रयाट्म्यान”को रूपबाट सुरु गरेको यो काम अहिले आर्किटेक्टसम्म आइपुग्दा १८ वर्ष पूरा भयो । फरक–फरक देखिए तापनि यी दुई विधामा एउटा ठूलै समानता छ – त्यो हो कल्पना शक्ति । कल्पनासँग खेल्ने विषय भएकोले नै यी दुईवटै क्षेत्रमा मेरो मन अडेको छ ।

रोमान्टिसिजम् कवि विलियम वर्डस्वर्थले भनेका छन्–सिर्जनाको जननी भनेकै कल्पनशिलता हो । जति बढी कल्पना गर्न सकिन्छ, त्यति नै सिर्जना सशक्त हुन्छ । आफैँले भोगेर गीत लेख्नको लागि एउटा जीवन काफी छैन । प्राय अरुको जीवन पढेर कल्पना गरेपछि म गीतहरू कम्पोज गर्छु । प्रेममा परेपछि रोमान्टिक गीत बन्छन् ।

बिछोडपछिको क्षणलाई सम्झिँदा ट्रेजेडी गीत जन्मन्छ । झन्डै घरको नक्सा बनाउँदा पनि यही नियम लागू हुन्छ । यस्तो डिजाइनको झ्याल वा ढोका यो घरमा सुहाउँछ वा यसका ढोका, अनि कोठामा यस्तो रंग सुहाउँछ । कल्पना गरेपछि नै घरको नक्सा उतार्ने गरिन्छ । कल्पनाको अनुपात जति सही मिलाउन सक्यो, डिजाइन त्यति नै राम्रो हुन्छ ।

जग्गाको अनुपातमा झ्याल ढोका र कोठाको साइज सही तरिकाले मिलेमा घर चिटिक्क देखिन्छ । गीत—संगीत पनि त्यस्तै हो । अन्त्यानुप्रास, ताल र स्वरघातको सही अनुपात रहेमा मात्रै गीत मीठो सुनिन्छ । चट्ट मिलेको घर आँखाले चिन्छ भने शब्द, स्वर अनि संगीत सुहाएको कुरा कान हुँदै मनले थाहा पाउँछ ।

अंग्रेजी पढाएर एल्बम खर्च जुटाए“
मेरो सांगीतिक क्यारियरको उत्कृट एलबमहरू अंग्रेजी पढाएरै रेकर्ड गराएको हुँ । तिम्रा नयन, जाउ समाउ, सेक इट बेबी, तिमी रुँदा एक्लै हुँदा, मेरा हिट गीत हुन् । अंग्रेजी भाषा नपढाएको भए यो सम्भव थिएन । आजभन्दा २० वर्षअघि एल्बममा पैसा खर्च गर्नु भनेको बालुवामा पानी खन्याउनुजस्तै थियो ।

आम्दानी—पैसा, खर्च—रुपैयाँ भनेझैँ पप गीत रेकर्ड गरेर खर्च उठ्ने कुनै चान्स नै थिएन । १५ वर्षको मेरो दिमागमा गायक बन्ने भूत डरलाग्दो तरिकाले बसेको थियो । त्यसमाथि रेडियो नेपालले गरेको अपमानको बदला पनि म लिन चाहन्थेँ । त्यो उमेरमा उर्लेको जोस, जाँगर अनि जिद्धिपनाले मलाई उमालेको थियो । रेडियोमा गाउन नपाएपछि आफ्नै खर्चले गीत रेकर्र्ड गर्न पाइने भयो ।

जुत्ता बेचेर पहिलो गीत लुकीलुकी रेकर्ड भइसकेपछि भने झन् ठूला चुनौतीहरू आइ परे । मध्यमवर्गीय परिवारमा हामी आमा र छोरालाई आर्थिक समस्या थियो । पञ्चायतको विरोध गरेकाले बुबा जेलमा हुनुहुन्थ्यो ।

मेरो अंग्रेजी स्कुलदेखि नै राम्रो थियो । अंग्रेजीमै गीत कविता अनि कथा लेख्न सक्थेँ । परीक्षामा पनि मेरै अंक उच्च थियो । अंग्रेजी कविता प्रतियोगितामा थुप्रै स्कुललाई हराएको थिएँ । एसएलसीपछि मैले सोही विषयको ट्युसन पढाउने काम पाएँ । जसले गर्दा घरखर्च केही सजिलो भयो ।

धनीका छोरा छोरीहरू ब्रिटिस ल्याङ्ग्वेज तथा अमेरिकन ल्याङ्ग्वेजमा गई पढ्थे, जहाँ गोरा शिक्षकहरू थिए । सामान्य परिवारका भने विभिन्न नेपालीले पढाउने इन्स्टिच्युटमा जान्थे । चार पाँचवटा त्यस्तै ठाउँमा मैले पढाउन थालेँ । एकपछि अर्को गीत रेकर्ड गर्ने पैसा जुट्न थाल्यो । पैसा जति जम्मै गीतमा खर्च गरेको देख्दा मम्मी छक्क पर्नुहुन्थ्यो । तर, त्यसो नगर कहिलै भन्नु भएन ।

०५२ सालमा ८ वटा गीत राखेर एल्बमै तयार गरेँ । लगानी उठ्दैन भन्ने थाहा पाएर पनि आफ्नो रहरका कारण अंग्रेजी पढाएको पैसा संगीतमा हाल्दै गएँ । पढाउने काम राम्रै चल्दै थियो । तर, तीनचार वर्षपछि विद्यार्थीहरूले सरको शैक्षिक योग्यता कति हो ? भनी प्रश्न गर्न थाले । म त खासमा इन्जिनियरिङको विद्यार्थी थिएँ । त्यसैले बाध्य भएर अंग्रेजीमा एमए पास गर्नुपर्ने नै भयो । अहिले पनि म विभिन्न कलेजमा अंग्रेजी साहित्य पढाउँछु ।

बाध्यताले पुस्तक लेखेँ
१५ वर्षसम्म पप गाएपछि मलाई एउटा कुराको अभाव महसुस भयो । नेपाली गीत संगीतका अरु विधाहरू–आधुनिक, लोक वा शास्त्रीय संगीतका पुस्तकहरू बजारमा छ्यापछ्याप्ती भेटिन्थे । तर, पप गीत संगीतको विषयमा सो बेलासम्म भने कुनै पुस्तक निस्केको थिएन । हिरण्य भोजपुरे दाइको पुस्तक “केही रंग केही तरंग” पढेपछि म अझ बढी उत्साहित भएँ ।

“कलमले इतिहास कोर्छ, जिउँदालाई मार्छ, अनि मरेकालाई ब्युत्याउँछ । तिमीहरूले बाँच्नु छ भने कलमसँग मितेरी लगाऊ” । खासै लेख्ने मान्छे त म थिइनँ । तर, समय–समयमा विभिन्न पत्रपत्रिकामा म लेख लेख्ने गर्दथेँ । गायक स्वयंले लेख्दा त्यो बढी आधिकारिक र सत्यताको नजिक हुन पुग्दछ ।

पप संगीतमा कलम चलाउनेहरू कोही नभएपछि बाध्य भएर म आफैँ लागि परे । नहुनु मामा भन्ना कानो मामा जाति भनेझैँ जानी नजानी करैले लेखेँ । ओमविक्रम विष्टदेखि सुगम पोखरेलसम्मको करिब ३० वर्षको घट्ना क्रम म आफैँले देखेको र अनुभव गरेको थिएँ । सँगैका धेरै साथीहरूले यो क्षेत्र छाडिसकेका थिए ।

यदि मैले लेखिनँ भने पप संगीतको इतिहास हराउने नै भयो । मुख्यतः यही कारणले गर्दा पुस्तक लेख्ने आँट मैले गरेको हुँ । जस्को हातमा कपी र कलम छ, उसले आफ्नै पक्षमा लेखेर सत्ता हात पारेका घटनाहरू थुप्रै छन् ।

भगवान बुद्धको जन्म भारतमा भएको भन्ने कुरा एउटा उदाहरण हो । आफ्नै देशमा जन्मेका भगवान बुद्धलाई आफ्नो भन्नको लागि संघर्ष गर्नुपरेको कुरा कहीँ कतैबाट लुकेको छैन । म स्वयं यसलाई विगत आठ वर्षदेखि अभियानकै रूपमा बढाउँदै आएको छु । हालसम्म मेरा नेपाली पपगीत संगीत विषयका तीनवटा पुस्तक प्रकाशित भइसकेका छन् ।

तपाईको प्रतिक्रिया