संस्थागत निक्षेपको ब्याज ३ महिनासम्म बढाउन नपाउने - Naya Patrika
eNaya Patrika
  • ePaper

संस्थागत निक्षेपको ब्याज ३ महिनासम्म बढाउन नपाउने

३ महिनासम्म तरलताको समस्या समाधान भइसक्ने राष्ट्र बैंकको अनुमान

नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेपकर्ताका लागि बैंकले प्रकाशित गरेको ब्याजदर तीन महिनाका लागि परिवर्तन गर्न नपाइने व्यवस्था गरेको छ । आइतबार सर्कुलर जारी गर्दै केन्द्रीय बैंकले बोलकबोलका आधारमा संकलन हुने संस्थागत निक्षेपका हकमा बैंकहरूले प्रकाशित गरेको ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न नपाइने व्यवस्था गरेको हो ।

यसअघि राष्ट्र बैंकको एकीकृत निर्देशिकामा बोलकबोलको आधारमा संकलन हुने संस्थागत मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदरमा २ प्रतिशतसम्म ब्याजदर थप गरी निक्षेप संकलन गर्न सकिने व्यवस्था गरेको थियो ।

संस्थागत निक्षेपकर्ताहरूले बोलकबोलका आधारमा ब्याजदर बढाएको आरोप बैंकहरूले लगाउने गरेका छन् । उनीहरूले अर्थ मन्त्रालय तथा राष्ट्र बैंकलाई संस्थागत निक्षेपकर्ताको बार्गेनिङका कारण ब्याजदर बढेकाले त्यसलाई नियन्त्रण गरिदिन आग्रह गरेका थिए ।

अहिलेको तरलता अभावको समस्या अल्पकालीन भए पनि त्यसले प्रणालीमा पार्न सक्ने प्रभावलाई कम गर्न राष्ट्र बैंकले यो व्यवस्था गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । ‘यो क्षणिक समस्या हो, तर प्रणालीलाई एकैपटक धेरै पक्षले आक्रमण गर्दा पर्न सक्ने समस्यालाई समाधान गर्न भनेर राष्ट्र बैंकले संस्थागत निक्षेपकर्ताको ब्याजदरमा केही नियन्त्रण गर्न खोजेको हो,’ थापाले भने ।

३ महिनासम्म तरलताको समस्या समाधान भइसक्ने अनुमानका आधारमा राष्ट्र बैंकले यो व्यवस्था गरेको उनको भनाइ थियो । तरलता समस्या समाधानका लागि अर्थ मन्त्रालयले गठन गरेको सुझाब समितिले यस्तो व्यवस्थाको सिफारिस गरेको थियो ।

तर, राष्ट्र बैंकले गरेको यो व्यवस्थाले संस्थागत निक्षेपकर्ताको ब्याजदरलाई नियन्त्रण नगर्ने एक बैंकरले बताए । ‘सबै बैंकले ब्याजदरसम्बन्धी सूचना एकैपटक छाप्ने होइन, मेरो बैंकले आज १० प्रतिशत ब्याजदर प्रकाशित गरेर १२ प्रतिशतसम्ममा संस्थागत निक्षेप लिन सक्ला । १ महिनापछि सूचना निकाल्ने बैंकले ११ प्रतिशत ब्याजदर प्रकाशित गरी मेरो बैंकमा भएको निक्षेप १३ प्रतिशत ब्याजमा लैजान सक्छ,’ उनले भने ।

१ अर्ब ५ करोड तरलता प्रशोचन
बजारमा तरलता अभाव भएको भनिए पनि नेपाल राष्ट्र बैंकले आइतबार १ अर्ब ५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकले दुई साताको निक्षेपका लागि २ अर्ब रुपैयाँको बोलकबोल आह्वान गरेकोमा १ अर्ब ५ करोड रुपैयाँ संकलन गर्न सफल भएको जनाएको छ ।

सो निक्षेपमा राष्ट्र बैंकले ३ प्रतिशत ब्याज दिनेछ । ‘३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा निक्षेप राख्न बैंकहरू तयार हुनु भनेको तरलताको समस्या सघन छैन भन्ने प्रमाणित हुनु हो,’ थापाले भने ।

तपाईको प्रतिक्रिया