भैरहवा सेजका उद्योगले अझै २ वर्ष विद्युत् नपाउने - Naya Patrika
eNaya Patrika
  • ePaper

भैरहवा सेजका उद्योगले अझै २ वर्ष विद्युत् नपाउने

विद्युत् प्राधिकरणले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) मा चैतभित्र विद्युत् पुर्‍याउने बताएको छ । तर, औद्योगिक क्षेत्रमा रहेका उद्योगलाई विद्युत् वितरणमा आवश्यक पर्ने ३३/११ केभिएको (१० एमभिए) क्षमताको सबस्टेसन सेजले निर्माण गर्नुपर्ने प्राधिकरणले जनाएको छ । सो सबस्टेसन निर्माण नभएकै कारण सेजमा प्रसारणलाइन पुर्‍याउन समस्या भएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले भैरहवा सेजसम्म विद्युत् पुर्‍याए पनि सबस्टेसन नहुँदा त्यहाँको उद्योगले २ वर्ष विद्युत् नपाउने अवस्था छ । प्राधिकरणको कार्यक्षेत्र (स्कोप) सेजसम्म विद्युत् पुर्‍याउन चाहिने ट्रान्समिसन लाइन निर्माण गर्न मात्रै रहेको प्राधिकरणले जनाएको छ । त्यसपछि सबस्टेसन बनाएर उद्योगलाई विद्युत् वितरण गर्ने काम भैरहवा सेजको कार्यक्षेत्र (स्कोप) भित्र पर्छ ।

तर, सेजका अध्यक्ष चण्डिकाप्रसाद भट्टले भने सबस्टेसन प्राधिकरणले बनाउने सहमति भइसकेको र मापदण्डअनुसार निर्माण गर्न प्राधिकरणसँग समन्वयको तयारी भएको बताए । ‘हामीले उद्योग मन्त्रालयबाट बजेट निकासा गर्नुपर्छ, कसले बनाउने भन्ने विषयमा अन्योल सिर्जना हुँदा सेजले केही ढिला विद्युत् पाउने भयो,’ भट्टले भने ।

प्राधिकरणका अनुसार तत्कालै टेन्डर गरी ठेकेदार नियुक्त गर्दा पनि कम्तीमा ६ महिना लाग्छ । त्यसपछि सामान अर्डर गरी निर्माण व्यवसायीलाई काम सक्न १५ देखि १८ महिना लाग्छ । त्यसैले सामान्य अवस्थामा टेन्डरका सम्पूर्ण प्रक्रिया सकेर सबस्टेसन निर्माण सम्पन्न गर्न कम्तीमा २ वर्ष लाग्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

घिसिङले विद्युत् प्राधिकरणलाई दोष देखाएर सेज व्यवस्थापन आफ्नो मुख्य जिम्मेवारीबाट भाग्न खोजेको आरोप लगाए । ‘सेजमा खोलिने उद्योगका संरचना निर्माणका लागि आवश्यक पर्ने विद्युत् दिइसकेका छौँ, त्यसैले निर्माणका काम गर्न कुनै समस्या छैन,’ घिसिङले भने, ‘चैतभित्रमा हाम्रो क्षेत्रभित्रको प्रसारणलाइन बनाएर विद्युत् पुर्‍याउँछौँ ।’

हाल भैरहवा सेजमा रहेको ३३ केभिए सिंगल सर्किट प्रसारणलाइनमार्फत विद्युत् दिन क्षमताले नथेग्ने भएपछि प्राधिकरणले छुट्टै प्रसारणलाइन बनाउन लागेको हो । प्राधिकरणले तिलोत्तमा नगरपालिकाको जोइकुटी सबस्टेसनदेखि सेजसम्म छुट्टै ३३ केभिए डबल सर्किट प्रसारणलाइन निर्माण गरिरहेको छ ।

जोइकुटी–भरौलिया खण्डमा वन क्षेत्र भएर प्रसारणलाइन लैजानुपर्ने भएकाले वनका कारण काम अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । भरौलिया–दगदही खण्डमा प्रसारणलाइनको रुट परिवर्तन गर्न माग गर्दै स्थानीयले अवरोध गर्दा पनि समयमा काम सम्पन्न हुन नसकेको हो । अवरोध हटाएर काम सुचारु गराउन उद्योग, वन मन्त्रालय, स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दालगायत सरोकारबीच छलफल भइरहेको घिसिङले बताए ।

‘अवरोध हटाएर चैतसम्ममा सेजमा लाइन पुर्‍याउँछौँ, उद्योग स्थापना गर्न सम्झौता गरेका कम्पनीलाई हाम्रो तर्फबाट कुनै समस्या हुँदैन,’ उनले भने, ‘तर, सेजका तर्फबाट गर्नुपर्ने काम नै अगाडि बढेको देखिँदैन, उद्योगको काम गर्न कन्स्ट्रक्सन पावर दिएको, तर सेजले नै काम नगरेको देखिएको छ ।’

सेजमा उद्योग खोल्न सम्झौता गरेका १९ कम्पनीले समेत विद्युत् नभएको भन्दै काम गरेका छैनन् । तर, उद्योगका संरचना निर्माण गर्न आवश्यक विद्युत् भने ११ केभिए लाइनमार्फत उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया