मानवअधिकार आयोगद्वारा फर्जी बिमा दाबी - Naya Patrika
eNaya Patrika
  • ePaper

मानवअधिकार आयोगद्वारा फर्जी बिमा दाबी

मानवअधिकार आयोगले बिमा कम्पनीलाई सवारी दुर्घटनाको फर्जी बिमा दाबी गरेको छ । ०७२ मंसिर १७ गते सर्लाहीको तत्कालीन नत्रगन्ज गाविस ५ को मलंगवा कच्ची सडकमा मधेसी मोर्चा आन्दोलनकर्ताले गाडीमा आगो लगाई पूर्ण रूपमा क्षति पुर्‍याएको र त्यसको क्षतिपूर्ति पाउन आयोगले हिमालयन जनरल इन्स्योरेन्समा बिमा दाबी गरेको थियो ।

तर, सो दिन दुर्घटना भएको सवारीसाधनको बिमा नगरिएको भन्दै कम्पनीले क्षतिपूर्ति दिन नसकिने व्यहोराको पत्र आयोगमा पठाइसकेको छ । ‘उक्त गाडीको बिमा लेख ०७२ मंसिर १८ देखि ०७३ मंसिर १७ सम्मको जोखिम रक्षावरण बिमा कम्पनीले गरेको हो ।

तसर्थ, उक्त दुर्घटनाको जोखिम रक्षावरण गर्नुभन्दा अगाडि नै भएको स्पष्ट देखिएकाले यस दुर्घटनाबाट सिर्जित क्षतिपूर्तिमा कम्पनीको कुनै दायित्व देखिँदैन,’ सो पत्रमा उल्लेख छ । तर, राष्ट्रिय मानवअधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईले भने सवारीसाधनको बिमा नवीकरण गरेकै दिन सो गाडी दुर्घटनामा परेको बताए ।

‘०७२ मंसिरमा आयोगका कर्मचारी पनि घाइते हुने गरी सवारीसाधन तोडफोड भएको थियो,’ उनले भने, ‘सो सवारीसाधनको बिमा नवीकरण पनि संयोगले त्यही दिन भएको थियो ।’ बिमा नवीकरण भएकै दिन सवारी दुर्घटना भएकाले त्यसको क्षतिपूर्ति बिमा कम्पनीले उपलब्ध गराउनुपर्ने उनले बताए ।

अहिले क्षतिपूर्ति रकम उपलब्ध नगराउने उद्देश्यले बिमा कम्पनीले विभिन्न बहानाबाजी गरिरहेको उनको दाबी छ । सम्बन्धित बिमा कम्पनीले दाबी रकम भुक्तान गर्न यसरी बहानाबाजी गरिरहे बिमा समितिमा उजुरी गरेर भए पनि असुलउपर गर्ने मानवअधिकार आयोगका सचिव भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया