मोदी–नेतान्याहुको जोसिलो अँगालो - Naya Patrika
eNaya Patrika
  • ePaper

मोदी–नेतान्याहुको जोसिलो अँगालो

मोदी–नेतान्याहुको जोसिलो अँगालोले पाकिस्तानले आफ्नो हितको चयन ठीक ढंगले गरोस्, जनता र संसद्लाई विश्वासमा लिएर मात्रै कुनै पनि देशसित सम्बन्ध कायम गरियोस् भन्ने विषयमा जोड दिएको छ

पाकिस्तानबाट प्रकाशित हुने उर्दू भाषाका पत्रपत्रिकामा यस साता भारत–पाक नियन्त्रण रेखा (एलओसी) मा गोलाबारीको समाचार सबैभन्दा बढी चर्चामा रहे । यसका अतिरिक्त इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको भारत भ्रमणसित जोडिएका समाचारले पनि पत्रपत्रिकामा स्थान पाए ।

सिमानामा गोलाबारी
‘दुनियाँ’ नामको पत्रिकाले निकै महत्वसाथ प्रसारित गरेको छ– ‘सियालकोट वर्किङ बाउन्ड्री (अन्तर्राष्ट्रिय सीमा) मा तेस्रो दिन पनि गोलाबारी, चार नागरिकको मृत्यु । पत्रिकाले लेखेको छ– सियालकोट सिमानामा भारतीय आक्रमण लगातार तेस्रो दिन पनि जारी रह्यो । विरोधका बाबजुद पनि दुस्मन आक्रमणबाट पछि हटेको छैन । गोलाबारीबाट चार नागरिक मारिएका छन् र २२ घाइते भएका छन् ।

पत्रिकाका अनुसार भारतीय गोलाबारीका कारण कैयौँ पशु पनि मारिएका छन् । सीमामा जोडिएका स्कुल बन्द गरिएका छन् । र, नजिकका एक सय ४० गाउँ खाली गर्ने आदेश दिइएको छ । पाकिस्तानी विदेश मन्त्रालयलाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ– भारतले ०१८ का १९ दिनमा अहिलेसम्म एलओसी र अन्तर्राष्ट्रिय सिमानामा एक सय २५ भन्दा बढीपटक युद्धविराम उल्लंघन गरेको छ ।

बाघामा भारत–पाक सीमाबाट केही मिटरकै दूरीमा छ– ‘सरहद रेस्टुरेन्ट’ । दैनिक पत्रिका ‘खबरेँ’ ले लेखेको छ– भारत–इजरायलको संयुक्त योजनामा काम सुरु, भारतीय सेनाको लगातार ४८ घन्टासम्म फायरिङ । पत्रिकाले लेखेको छ– भारतमाथि युद्धको भूत सवार छ र एलओसीमा नागरिकलाई निसाना बनाइरहेको छ ।

पत्रिकाका अनुसार ताजा गोलाबारीमा तीन नागरिकको मृत्यु भएको छ भने ११ घाइते भएका छन् । ‘नवा–ए–वक्त’ नामको पत्रिकाका अनुसार भारतको तर्फबाट भएको फाइरिङमा चार नागरिक मारिएका छन् र १० नागरिक घाइते भएका छन् । त्यसैगरी ‘जंग’ नामको पत्रिकाको भनाइ छ– भारती उपउच्चायुक्तलाई पाकिस्तानी विदेश मन्त्रालयले बोलाएर युद्धविराम उल्लंघनमाथि आफ्नो असन्तुष्टि व्यक्त गरेको छ ।

पत्रिकाले अगाडि लेखेको छ– पाकिस्तानी रेन्जर्सले पनि भारतीय गोलाबारीको सशक्त जवाफ दिएको छ । जुन प्रतिकारबाहीपछि भारतीय तोप शान्त भएका छन् ।

इजरायली प्रमको भारत भ्रमण
यसका अतिरिक्त इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको ६ दिने भारत भ्रमणसित जोडिएका समाचार पनि लगभग सम्पूर्ण पत्रपत्रिकामा छाइरहे । ‘जंग’ को सम्पादकीय पृष्ठमा एउटा लेख पनि प्रकाशित भएको छ । महमुद सामद्वारा लेखिएको लेखको शीर्षक छ– भारत र इजरायलबीचको दूरी घट्दो । महमुद सामले लेखेका छन्– दिल्ली विमानस्थलमा मोदी र नेतान्याहुको अँगालोले दक्षिण एसियाको सत्ता सन्तुलनमा पक्कै प्रभाव पार्नेछ ।

सामले अगाडि लेखेका छन्– भारत इजरायल दुवै अमेरिकाका प्रिय छन् । उनका अनुसार भारत र इजरायलबीच जुनजुन कुरा समान छन्, ती हुन्– अमेरिकासितको निकटता, आफ्नो छिमेकीसितको शत्रुता र सबैभन्दा मुख्य विषय हो, दुवै देशको मुस्लिमसितको दुस्मनी ।

उनका अनुसार रेल्वे स्टेसनमा चिया बेच्ने कार्यदेखि प्रधानमन्त्रीको कुर्सीसम्म पुग्न मोदीले अनेकौँ तिकडम अपनाएका छन् । उनका अनुसार भारत र इजरायलबीचको कूटनीतिक सम्बन्ध भलै २५ वर्षदेखि कायम छ, तर भारत र चीनबीच १९६२ मा भएको युद्धपछि नै भारत र इजरायलबीच अनौपचारिक सम्बन्ध स्थापित भएको थियो ।

स्तम्भकार सामको दाबी छ– १९७१ को भारत–पाक युद्धमा पनि इजरायलले भारतलाई साथ दिएको थियो । उनले मोदी र नेतान्याहुको जोसिलो अँगालो पाकिस्तानका लागि खतराको घन्टी किन हो भन्ने सम्बन्धमा अगाडि बताएका छन् ।

उनी अगाडि लेख्छन्– दिल्ली विमानस्थलमा ‘यहुद–ओ–हुनुद’ (यहुदी र हिन्दू) को यो जोसिलो अँगालोले यस विषयमा जोड दिएको छ कि पाकिस्तानले आफ्नो हितको चयन ठीक ढंगले गरोस् । जनता र संसद्लाई विश्वासमा लिएर मात्रै कुनै पनि देशसित सम्बन्ध कायम गरियोस् ।

(अहमद बिबिसीका संवाददाता हुन्)
बिबिसी डट कम/हिन्दीबाट

तपाईको प्रतिक्रिया