जसले जन्माए नेपाली शब्दसागर - Naya Patrika
eNaya Patrika
  • ePaper

जसले जन्माए नेपाली शब्दसागर

ती व्यक्ति उनै हुन्, जो ०४४ देखि ०५७ सालसम्म एउटै कोठामा घोत्लिरहे । त्यसअघि नै उनले नेपालको प्रत्येक भूगोल र भाषा संस्कृतिलाई नजिकबाट पढिसकेका थिए । तराईका अधिकांश फाँट, पहाडका पत्र र हिमालका हिम्मतका लवजहरू पुगेर नै उतारिसकेका थिए, दिमागमा उनले । परिणामस्वरूप १३ वर्षसम्मको निरन्तरताले जन्मियो, एक लाख ४१ हजारभन्दा बढी शब्दहरूको संग्रह ‘नेपाली शब्दसागर’ । जसलाई जन्म दिएका हुन्, उनै कोशकार वसन्तकुमार शर्मा नेपालले ।

कोशकार वसन्तकुमार शर्मा नेपाल

 

अहिले त उनी ९५ वर्ष पुगिसके । चाबहिलको मैजुबहालस्थित आफ्नै निवासमा गफिइरहेका हुन्छन्, प्रायः उनी । नगफियून् पनि कसरी ? उनलाई भेट्न साहित्यानुगारी, लेखकलगायत शैक्षिक क्षेत्रमा क्रियाशील मन दैनिकजसो पुगिरहेकै हुन्छन्, उनकोमा ।

जीवनमा आफूले सिर्जना गरेका, भाषाअनुवाद गरेका र सम्पादन गरेका कृतिको यकिन तथ्यांक फ्याट्ट भन्न सक्दैनन्, उनी । कति सम्मान प्राप्त गरे भनेरसमेत उनलाई गन्ने फुर्सद छैन । एक हिसाबले उनी नयाँ पुस्ताबीच ‘हट केक’ सेलेब्रिटी होइनन्, तर कहिल्यै ‘कोल्ड’ नहुने प्रिय कोशकार भने अवश्य हुन् ।कति वर्ष पुग्नुभयो ?

शिशिर याममा रूखलाई पातले छोडिगएझैँ उनका गिजालाई छोडिसकेछन्, दाँतले । तर, पनि स्पष्ट बोलिरहने कोशकार नेपाल मुस्कुराउँदै बोले, ‘९५ पुगेँ । ९० सालको भूकम्पमा ११ वर्षको थिएँ । भूकम्पले घर भत्कायो । घरको छानो र पर्खालको चेपमा ८ घण्टा चेपिएर पनि बचेको हुँ । बारबार मृत्यु नजिकबाट बचेर पनि निरन्तर लेखन कार्यमै रमाउन मन लाग्यो । कुनै क्षणिक लोभ, लालच र सुखसयल खोज्नतिर लागिनँ, म ।’

उनले लेखेका, कतिपय लेखकसँग संयुक्त रूपमा सम्पादन गरेका, अनुवाद गरेका र आफ्नै एकल सम्पादनमा रहेका गरी हालसम्म ६१ वटा कृति प्रकाशित छन् । केही महिनाअघि मात्रै उनीसहित ११ लेखकको लेखनमा रहेको ‘जियालो’ महाकाव्य सार्वजनिक भयो । ०४४ सालबाट ‘नेपाली शब्दसागर’ लेखन प्रारम्भ गर्दाको क्षणबारे सम्झिँदै कोशकार नेपाल भन्छन्, ‘दिनको २० घण्टासम्म निरन्तर लेखेँ । मिहिनेत धेरै भएकाले हुनुपर्छ, यो सबैका लागि प्रिय शब्दकोश भएको छ ।’

विसं १९७९ को चैतमा महाराजगन्जमा जन्मिएका हुन्, उनी । उनको बाल्यकाल आश्चर्यलाग्दो रहेछ । विसं २०९० सालको भूकम्पमा मृत्युको मुखबाट बचेका उनी भन्छन्, ‘भूकम्पले घर भत्किँदा म, आमा, ६ वर्ष र ४ महिनाको भाइ गरी हामी चारजना पर्खालको चेपमा पर्‍यौँ । ८ घण्टापछि मलाई उद्धार गरियो । आमाको एउटा खुट्टा नै भाँचियो । आमालाई भने मेरो उद्धार भएको २ घण्टापछि मात्रै बाहिर निकालिएको थियो ।’ यो घटनाअघि पनि उनी एक हिसाबले मरेरै बाँचेका रहेछन् । सम्झिए, ‘म पाँच वर्षको हँुदा बा–आमाले मर्‍यो भनेर माया मारिसकेका । म मुर्छा पर्ने बिमारले ग्रस्त रहेछु । बा–आमाले माया मारे पनि एकजना जोगीले मरिसकेको ठान्ने हो भने मलाई उपहार देऊ भन्नुभएछ । त्यसपछि उहाँले मलाई बचाउनुभयो । घरमै बसे पनि, घरकै खाए पनि शिक्षादीक्षा र लुगाफाटो जोगी (गुरु)ले नै दिनुहुन्थ्यो । ०९७ सालमा उहाँ परलोक भएपछि पूरै घरपरिवारले नै मलाई हेरचाह गरेको हो ।’

दृष्टि अनि श्रवणशक्ति पनि अलि कमजोर भएको छ, उनको । उमेरले एक शताब्दी छुनै लाग्यो । तर, पनि अझै हट्टाकट्टा नै देखिन्छन्, उनी । भन्छन्, ‘म अरूलाई पनि यही भन्छु, सकारात्मक काम गर्न जहिले पनि असन्तुष्ट हुनुपर्छ । सबै कुरामा असन्तुष्ट भएर पनि हुन्न । तर, सिर्जनात्मक काममा कहिल्यै सन्तुष्ट बन्नुहुन्न र बन्न सकिन्न नै भन्ने लाग्छ ।’

०५८ सालमा हृदयाघात भएर कोमामा पुगेर फर्किएका हुन्, उनी । सम्झिए, ‘त्यसवेला म धेरै दिन आइसियूमा बसेँ । पाँच दिनजति कोमामा राखियो । उपचाररत चिकित्सकहरूले समेत माया मारिसकेका थिए रे, कसोकसो बाँचियो ।’ पटक–पटक मृत्युनजिक पुगेकै भए पनि अहिले भने उनलाई कुनै गम्भीर स्वास्थ्य समस्या छैन ।

उमेरगत हिसाबले शरीरका इन्द्रियहरू केही कमजोर बने पनि आफूलाई फुर्तिलो रूपमै प्रस्तुत गरिरहेका हुन्छन्, उनी । ‘सार्वजनिक कार्यक्रममा पनि पुगेकै हुन्छु । तर, लेखनकार्य छाडेको भने दुई वर्ष भइसक्यो ।’ उनी भन्छन्, ‘म अझै पनि घण्टौँसम्म पलेटी कसेर बसिरहन सक्छु । ’

साहित्य–धर्मशास्त्र–राजशास्त्रमा शास्त्री, हिन्दी साहित्यमा साहित्यभूषण, नेपालीमा एमए, बिएड्, होमियो डाक्टर उपाधि उनको शैक्षिक उपलब्धि हो । नेपाली भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषद्मा बृहद् नेपाली शब्दकोशका सहायक सम्पादक तथा संक्षिप्त संस्कृत–नेपाली शब्दकोशका सम्पादक रहेरसमेत काम गरेका कोशकार नेपाल कुनै वेला नेपाल प्रज्ञा प्रतिष्ठान गद्य साहित्य विभाग तथा विदेशी साहित्यकार सम्पर्क समितिका सचिव थिए भने चित्र–कला विभागका सहायक सचिव पनि । उनले वर्षौंसम्म अध्यापन पेसाका साथै साहित्य सिर्जना तथा भाषा अनुवाद तथा सम्पादनको काम गरिरहे ।

‘युगको वारिस’ उनले २००८ सालमै लेखेको लघुनाटक हो । त्यसको दुई वर्षपछि नै उनले ‘विधुवा विवाह’ खण्डकाव्य ल्याए । त्यसको एक दशकपछि ‘एक्काइस कथा’ नामक कथासंग्रहबाट कथाकारका रूपमा आफूलाई उभ्याएका नेपालले कहिले बालकथा, कहिले निबन्ध, कहिले महाकाव्यजस्ता कृतिमा कलम चलाइरहे । यद्यपि, उनलाई नेपाली शब्दसागरलगायतका शब्दकोशलेखन तथा सम्पादनले नै बढी चिनायो ।

एकपछि अर्को गर्दै उनले पाँच दर्जनभन्दा बढी कृति लेखन तथा सम्पादन गरेका छन् । उनको हाउभाउ र आज–भोलिको दैनिकीले समेत लेख्न मन गरिरहेको देखिन्छ । तर, शारीरिक रूपमा कमजोर बन्दै जानु, उमेर बढ्दै जानुले उनको लेखनको रहरले निरन्तरता पाउन सकेन । जीवनमा उनले गोरखा दक्षिण बाहुलगायतका दर्जनौँ पुरस्कार प्राप्त गरेका छन् । कतिपय लेखक, साहित्यकारले राज्यले आफूलाई सम्मान नगरेको भनेर गुनासो गर्छन् नि ?

यो प्रश्नअघि उनी गम्भीर हुँदै बोल्छन्, ‘यो प्रश्न गर्ने प्रश्न होइन । सम्मान पाउनका लागि लेख्ने होइन । राज्यले जति सम्मान गर्न सक्यो त्यति सम्मान गरेकै छ भन्ने लाग्छ । मलाई सम्मान नगरेर के फरक पर्छ ? मैले सम्मान पाउन लेखेको पक्कै होइन ।’ अन्य जिज्ञासामा झैँ यसमा उनी रमाउन सकेनन् । पुरस्कार तथा सम्मानप्रति उनको त्यति धेरै मोह रहेनछ भन्ने प्रस्टियो ।

अनेक जिज्ञासाअघि नथाकेरै जवाफ फर्काइहाल्ने कोशकार नेपाललाई उनका अबको योजनाबारे सोधियो । मुस्कुराउँदै उनी बोले, ‘अब तपार्इंजस्तै आउने साहित्यप्रेमी तथा शुभचिन्तकसँग कुरा गर्ने । सकेसम्म विभिन्न कार्यक्रममा सहभागी भइरहने । नेपाली भाषा साहित्यको सम्वद्र्धनमा लागिरहने ।’

तपाईको प्रतिक्रिया