पञ्चायतविरुद्ध लडेका १६ जनालाई सहिद घोषणा - Naya Patrika
eNaya Patrika
  • ePaper

पञ्चायतविरुद्ध लडेका १६ जनालाई सहिद घोषणा

२०३६ सालको छिन्ताङ, खोकु, आँखिसल्ला हत्याकाण्डमा ज्यान गुमाएका १६ जनालाई सरकारले राष्ट्रिय शहिद घोषणा गरेसँग शहिद परिवारमा खुशीयाली छाएको छ ।

पञ्चायती शासनविरुद्ध लडेका छिन्ताङ, खोकु, आँखिसल्लाका १६ जनालाई सरकारले विहीबार ३८ वर्षपछि शहिद घोषणा गरेको छ । पञ्चायती व्यवस्थाविरुद्ध लडेका आफ्ना अभिभावकहरुलाई शहिद घोषणा गर्न पटक–पटक राज्यसँग अनुरोध गर्दा पनि निराश बनेका छिन्ताङ हत्याकाण्डका आफन्तहरुमा अहिले खुशीको सिमा छैन् ।

राज्यले ढिलै भएपनि आफ्ना अग्रजहरुको सम्मान गरेको छिन्ताङका शहिदपुत्र बलराम राई बताए । आफ्ना बुबा पुत्रमान राई सहित छिन्ताङ, खोकु, आँखिसल्ला हत्याकाण्डमा १६ जनाले ज्यान गुमाएका थिए । सरकारले छिन्ताङ हत्याकाण्डका नागरिकहरुलाई शहिद घोषणा गरेको कुरा सुन्दा शुरुमा त विश्वास नै लागेन । तर विभिन्न पत्रपत्रिकामा समाचार आएपछि आफुलाई विश्वास लागेको उनले बताए ।

वर्षौ अघिदेखि शहिद घोषणा गर्ने नेताको आश्वासन मात्र पाएका शहिद गोपाल आनन्दका छोरा योगेन्द्र राईलाई पनि छिन्ताङ, खोकु, आँखिसल्ला हत्याकाण्डका व्यक्तिहरुलाई राज्यको तर्फबाट शहिद घोषणा गरेकोमा खुशी लागेको बताए । उनले भने, ‘हामीले बल्ल न्याय पायौं । हाम्रा अभिभावकहरुको ३८ वर्ष पछि बल्ल सपना पुरा भएको छ ।’ ढिलै भएपनि शहिदको सम्मान भयो ।

अब राज्यको तर्फबाट हामीले केही राहत पाउने आशा जागेको छ । सरकारले छिन्ताङ, खोकु, आँखिसल्ला हत्याकाण्डमा ज्यान गुमाएकाहरुलाई शहिद घोषणा गरेपछि अहिले सिंगो गाउँमा नै खुशीयाली छाएको छ । उनीहरुले दिपावली समेत गरेका छन् ।

वर्तमान सरकारले विहिबार छिन्ताङ, खोकु, आँखिसल्ला हत्याकाण्डका नागरिकहरुलाई शहिद घोषणा गरेर ढिलै भएपनि सम्मान गरेकोमा खुशी लागेको खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए ।

चार दशक बित्न लाग्दा समेत राज्यबाट उपेक्षित बन्दै आएका छिन्ताङ, खोकु, आँखिसल्ला हत्याकाण्डका शहिदलाई सरकारले राष्ट्रिय शहिद घोषणा गर्दा सिंगो खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिकामा खुशीयाली छाएको अध्यक्ष राईले प्रतिक्रिया दिए । सरकारले छिन्ताङ, खोकु, आँखिसल्ला हत्याकाण्डमा ज्यान गुमाएका नागरिकहरुलाई सहिद घोषणा गरेपछि छिन्ताङमा रहेको शहिदको शालिकमा माल्र्यापण समेत गरिएको छ ।

तत्कालिन सूर्यबहादुर थापा नेतृत्वको सरकारले पञ्चायती व्यवस्थाको बिरुद्ध आवाज उठाउदा छिन्ताङ, खोकु र आँखिसल्लाका १६ जनालाई २०३६ साल कार्तिक २६, २७, २८ र २९ गते राज्यपक्षबाट निर्ममता पूर्वक हत्या गरिएको थियो ।

मृत्यु हुनेमा गोपाल आनन्द राई, गंगाबहादुर तुप्रिहाड़, लाखमान साधु राई, झगेन्द्र राई, धनवीर दर्जी, गंगाबहादुर विश्वकर्मा, गम्भीरमान दर्जी, रणध्वँज पुमा राई, गणेश विश्वकर्मा, पुत्रमान राई, भैरव खालिङ, केशरमान राई, बलबहादुर खत्री, चन्द्रबहादुर दमाई, हाङखिमा साइली र रामकुमारी राई छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु