यसरी भए राेडदेखि कराेडपतिसम्म...! - Naya Patrika
eNaya Patrika
  • ePaper

यसरी भए राेडदेखि कराेडपतिसम्म…!

सफलता एकैपटक हात पर्दैन । पसिना बगाएर पैसा उमार्नेहरू मिहिनेती हुन्छन् । परिश्रम र संघर्ष गरेर जीवनमा आर्थिक सफलता हात पार्नेहरूका आ–आफ्नै कथा छन् । जुन अरूका लागि पनि प्रेरणा बनिरहेका हुन्छन् । गज्जबको यस अंकमा त्यस्तै परिश्रमीहरूको सफलताका कथा समेटिएको छ । जसले, कुनै दिन सडकपेटीमा श्रम बेच्थे र त्यही पौरखले महल ठड्याएका छन् । विश्वास खड्काथोकीको रिपोर्टः

पुटपाथबाट सुरु भएको बाजेको सेकुवा

संसारमा दुईथरी मान्छे हुन्छन्, टुप्पाबाट पलाउने र भुइँबाट फुल्ने । त्यो यस अर्थमा कि एकथरीले पैसासँग पैसा साटिरहेका हुन्छन्, अर्काथरीले पसिना बगाएर पैसा उमार्छन् । ‘मिहिनेतको फल मीठो हुन्छ’ भन्ने उखानै छ । पसिना बगाएर पैसा उमार्नेहरू तिनै मिहिनेती मानिस हुन् । त्यसो त सफलता एकैपटक हात पर्दैन ।

यसका लागि संघर्ष पनि उत्तिकै गर्नुपर्छ । मिहिनेत,परिश्रम र संघर्ष गरेर जीवनमा आर्थिक सफलता पाउनेका आ–आफ्नै कथा छन् । जुन अरूका लागि प्रेरणाको स्रोतसमेत बनिरहेका हुन्छन् ।

गज्जबको यस अंकमा तिनै परिश्रमी र पौरखीका सफलताका समेटिएको छ । जो, कुनै दिन सडकपेटीमा श्रम बेच्थे र त्यही पौरखबाट कमाएको पैसाले महल ठड्याएका छन् । कामलाई सानो–ठूलो नभनी निरन्तर मिहिनेत गर्ने हो भने जीवनमा एकदिन अवश्य सफल भइन्छ भन्ने सन्देश उनीहरूले दिएका छन् ।

जभन्दा ३७ वर्षअघि एयरपोर्टको चउरमा एउटा फुटपाट सेकुवा पसल थियो । एक कुनामा त्रिपाल बिछ्याइएको हुन्थ्यो र कोइलाको रापमा सेकेर सेकुवा बेचिरहेका हुन्थे, एक अधबैँसे पुरुष । उनले पाँच वर्षभन्दा बढी समयसम्म एयरपोर्ट क्षेत्रमै सेकुवा सेकेर गुजारा चलाए । जब सरकारले उनलाई त्यहाँबाट धपायो, त्यसपछि उनले भाडामा सटर लिएर सेकुवा बेच्न थाले । एयरपोर्टको त्यो चउरबाट सुरु भएको सेकुवा अहिले चर्चित ब्रान्ड ‘बाजेको सेकुवा’का रूपमा स्थापित भएको छ ।

ठूलो धनराशि लगानी गरेको व्यवसाय मात्र सफल हुन्छ भन्ने मानसिकतालाई गलत सावित गरिदिएको छ, बाजेको सेकुवाले । ‘बाजेको सेकुवा’मा आज करौडौँको लगानी छ । राजधानीमा १० वटा, पोखरा र चितवनमा एक–एकवटा ब्रान्च छन् । साढे तीन सयजनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । धेरैलाई अचम्म लाग्न सक्छ, यति चर्चित ब्रान्डको सुरुवाती लगानी जम्मा दुई केजी खसीको मासु र कोइला थियो ।

खोटाङका दिनानाथ भण्डारी करिब तीन दशकअघि काठमाडौं आएका थिए । उनको उमेर करिब ३५ वर्ष थियो । दिनानाथ काठमाडौं आउनुको उद्देश्य थियो, हवाईजहाज हेर्ने । तर, हवाईजहाज हेर्न आएका दिनानाथले एयरपोर्टमै खाजा खाने पसलको अभाव देखे । त्यसपछि उनले सेकुवा पसल खोल्ने योजना बनाए । र, एयरपोर्टको चउरमा सेकुवा सेक्न थाले । किन पनि यस्तो योजना बनाए भने गाईघाट र झापामा सेकुवा सेकिसकेका थिए उनले । त्यसैले पनि अर्को व्यवसाय गरेर जोखिम उठाउन चाहँदैनथे ।

एयरपोर्टमा अरू कुनै पसल नभएकाले उनको व्यवसाय दिनप्रतिदिन चम्किन थाल्यो । दिनानाथले स्वादिष्ट सेकुवा बनाउने भएकाले मान्छेहरूको ओइरो लाग्न थाल्यो । ग्राहकले भन्न थाले, ‘बाजेको सेकुवा खान जाऔँ न’ । त्यो ठेला पसललाई ग्राहकले नै बाजेको सेकुवा भनेर नाम दिएका थिए ।

०५२ मा फुटपाथबाट सिनामंगलकै एक सटरमा स¥यो, सेकुवा कर्नर । र, ‘बाजेको सेकुवा’ नाम दिएर त्यहाँ एउटा साइनबोर्ड पनि झुन्ड्याइयो । अहिले बाजेको सेकुवालाई संस्थागत गरिरहेका दिनानाथका छोरा तथा बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारी भन्छन्, ‘मेरो बुवाले ढाका टोपी, टीका र दौरा सुरुवाल लगाउने गर्दा ग्राहकहरूले बाजे भन्न थाले । सामान्यतया ब्राह्मण समुदायकालाई बाजे भन्ने चलन पनि थियो । त्यसैले हामीले पनि सबै ग्राहकले भनेझैँ पसलको नाम नै बाजेको सेकुवा भनेर राखिदियौँ ।’ सुरुमा अप्ठ्यारो गरी राखिएको त्यो नाम अहिले चर्चित ब्रान्ड बनेको छ ।

सिनामंगलमा स्थापना भएको बाजेको सेकुवाले ख्याति कमाउन थालेपछि १० वर्षपहिलेबाट विभिन्न स्थानमा ब्रान्च खुलेका छन् । विशेष गरी चेतनले संस्था हाँक्न सुरु भएपछि ब्रान्च पनि खोल्न थालेका हुन् । ०६० देखि बाजेको सेकुवाले संस्थागत रूप लिएको हो । अहिले बाजेको सेकुवाका एउटा फुडकोर्ट, ५ मदर कम्पनी र ४ फ्रेन्चाइज गरी १० वटा शाखा छन् । एउटा शाखा पोखरा र एउटा चितवनको भरतपुरसम्म पुगिसकेको छ, बत्तीसपुतलीमा उनीहरूको आफ्नै भवन रहेको छ ।

‘हाम्रो सेन्ट्रल किचेन कमलपोखरीमा छ, कमलपोखरीमा बनेपछि उपत्यकाभित्र गाडी र बाहिर प्लेनबाट बाजेको सेकुवा परिकार पु¥याउँदै आएका छौँ,’ सिइओ सुशील खड्काले जानकारी दिए । उनको अनुसार अहिले मलेसिया र अस्ट्रेलियामा पनि ब्रान्च खोल्ने तयारी भइरहेको छ । मटनबाट यात्रा सुरु गरेको बाजेको सेकुवाले अहिले मटन, चिकेन र अस्ट्रिच मासुको पनि विभिन्न परिकार बनाउँदै आएको छ ।

स्टोभ बनाउने घरबेटी बा

दमौलीका हरिलाल विक ०४८ मा पोखराको सेतीपुलमा असल्ल औँठी फि“जाएर बस्न थाले । उनले सडकमा बिस्कुनजस्तै सुकाएका हुन्थे– कान कोट्याउने कनकर्नु, दारी फाल्ने मेसिन र मालाहरू । तिनै सामानमा आफ्नो भविष्य देखेका थिए, हरिलालले । त्यसैले त उनी जुरुक्क उठेर झोला बोकी डेराबाट निस्कन्थे अनि रात नपर्दासम्म सडकमै पसिना चुहाउँथे । बुटवलसम्म पुगेर दुई रुपैयाँमा औँठी बोकेर आउँथे र सडकमा ल्याएर आठ रुपैयाँसम्म पार्थे । सडकमा बस्नेलाई कसले सत्कार गर्ने ? त्यस्ता केही अपमान उनको गुजारा र सपनाअगाडि फिका थिए । उनी श्रमलाई घृणा गर्ने सहरमा श्रमसँग पैसा साटिरहेका थिए ।

०७३ मा आइपुग्दा, उनै विकलाई भेट्न तीनतले बिल्डिङको भुइँ तलामा पुगेर घन्टीको स्विच थिच्नुपर्छ । पोखराको नयाँबजारमा अवस्थित उनको निवासमा कोही भाडामा पनि बस्छन् ।

सेतीपुलबाट उठेका हरिलाल आज घरबेटी बा बनिसकेका छन् । राम्रो शैक्षिक संस्थामा सन्तानलाई शिक्षा दिन सक्षम छन् । मन लागेको खानेकुरा र राम्रो लागेको कपडा खरिद गर्न पाउँछन् । तर, उनी जुन स्थानमा आए त्यसको श्रेय सडकलाई जान्छ । किनकि उनी सडकबाटै उठे ।

उनी दुई वर्ष औँठी कुरेर ग्राहक पर्खंदै बसे । उनको गोजीमा दिनमा तीनदेखि पाँच सयसम्म पथ्र्यो । तर, दुई वर्षपछि उनको बाटो मोडियो । ध्यान गयो, स्टोभ र ग्यासचुलो बनाउनेमा । औँठीको व्यापार कम हुनुको विकल्प थियो त्यो ।

त्यसपछि हरिलाल ग्यास–स्टोभ, ग्यास–स्टोभ… भन्दै साइकलमा बसेर पोखराको गल्ली चहार्न थाले । कतिले उनलाई भैया, धोती भन्दै गिज्याए पनि, तर कत्ति पनि बिचलित भएनन् । भन्छन्, ‘सुरुको दुई–तीन महिना त लाज भयो । काम गर्दै गएपछि सामान्य नै लाग्न थाल्यो ।’ नेपाली भएर पनि यसरी काम गरेको देखेर कतिले सम्मान पनि व्यक्त गर्थे ।

ग्यास, स्टोभ उनको रोजी–रोटीको राम्रो माध्यम बनेको थियो । दिनमै १२–१३ सय रुपैयाँसम्म जम्मा गर्थे उनी । कहिलेकाहीँ दुई–तीन दिनसम्म सुक्खाराम पनि हुनुपथ्र्यो । कहिलेकाहीँ लुटिन्थे पनि ।

‘म ग्यास स्टोभ बनाउन लामाचौर, लेखनाथ, हेम्जा, पोत्रैदेखि दमौली, स्याङ्जासम्मै पुग्थँे,’ हरिलाल सगौरव विगत सुनाउँछन्, ‘कहिलेकाहीँ उतै पनि बास बस्थ्यौँ । कहिलेकाहीँ त लुटिन्थ्यौँ पनि ।’ ०५९ तिर दिउँसो चार बजेकै समयमा लुटिएका छन् उनी । भन्छन्, ‘काउँखोलामा म एक्लै हिँडिरहेको थिएँ । ट्यापे केटाहरू आएर चक्कु देखाए । अनि सबै पैसा लुटेर लगे । सुनसानजस्तो ठाउँमा केटाहरूले धेरैपटक लुटका छन् ।’

उता उनकी श्रीमती सुनिता भने डोकोमा तरकारी बेच्न हिँड्थिन् । श्रीमान्–श्रीमतीको मिहिनेतले मासिक २५ देखि ३० हजार रुपैयाँ बचत हुन्थ्यो । तर, एकपटक पानी आएर सबै तरकारी कुहाइदिएपछि सुनिता अन्डा व्यापारतिर लागिन् । हरिलालको पैतालाले पनि साइकलको पाउदानी हानिरह्यो । त्यसैले त ०५८ तिर दमौलीमा ६० हजारको जग्गा जोडे ।

०६० तिरबाट उनको साइकलको पाउदानीमा ब्रेक लाग्यो र उनी पृथ्वीचोकको सडकमा कपडा फिँजाएर बस्न थाले । स्टोभलाई ग्यासले विस्थापित गरेपछि उनको व्यापार कमजोर बन्दै गयो र उनी फुटपाथमा कपडा बिक्रीमा गाँसिए । सुनिताले पनि सँगै ग्राहकसँग डिलिङ गर्न थालिन् । ५० हजार रुपैयाँको लगानीमा सुरु गरेको फुटपाथ पसल राम्रैसँग फस्टाउन थाल्यो ।

हरिलालको दुःख भने कम थिएन । उनी बिहान जुरुक्क उठेर कपडा लिन हिँड्थे । सुनिता घरधन्दा सकाएर नौ बजेतिर खाना बोकेर आउँथिन् । सडकमै बसेर खान्थे हरिलाल पनि । उनीहरूले दैनिक तीन हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न थाले । हरिलाल भन्छन्, ‘प्रायः १० देखि १५ हजार रुपैयाँसम्मको व्यापार हुन्थ्यो । चाडबाडको वेला त चिया खाने फुर्सद पनि हुन्थेन । दिनमै ९० हजार रुपैयाँसम्म व्यापार गरेका छौँ ।’

व्यवसाय राम्रो भएसँगै उनीहरूले ०६२ मा बजारमै १० लाख रुपैयाँबराबरको जग्गा लिए । केही रकम क्यास बुझाए र केही किस्तामा तिरे । अनि ०६६ मा तीनतले घर ठड्याए । ०५९ सालमा उपमहानगरले पुथपाथ हटाइदियो । केही समय उनीहरू मेला–महोत्सवमा समेत कपडा बेच्न हिँडे । पछि सरकारले नजिकैको सरकारी जग्गामा उनीहरूलाई व्यवस्थापन ग¥यो । र, अहिले पनि त्यही कपडा व्यापारमा व्यस्त छन्, हरिलाल–सुनिता ।

अहिले उनीहरूको दिन फिरेको छ । ३० वर्षको उमेरमा औँठी बेच्न सुरु गरेका हरिलाल अहिले ५० पुगे । तर, थाकेका छैनन् । अहिले पनि दैनिक कपडा पसल गइरहन्छन् । उनले पसलमा २० लाख रुपैयाँभन्दा बढीको लगानी गरेका छन् । दैनिक १५–२० हजार रुपैयाँको व्यापार हुन्छ । यही व्यवसायलाई नै तिरन्तरता दिने बताउँछन्– हरिलाल–सुनिता ।

रत्नपार्कमा कपडा बेच्ने बिजनेसम्यान

बुद्धिबहादुर कार्कीलाई आज कुनै दुःख छैन । काठमाडौंमा तीनवटा घर छन् । छोराछोरी राम्रो कलेजमा पढ्छन् । समाजमा राम्रो छाप छ । पैसाकै कारण कुनै काममा अड्कनुपर्दैन । उनको बानेश्वरमा ठूलो सप्लायर्स छ, काठमाडौं सप्लायर्स । दिनमा पाँच सय केजीभन्दा बढी मासु बेच्छन् ।

उनीबाट होलसेलमा मासु खरिद गर्नेहरू निकै धेरै छन् । आफ्नै भ्यानमा सप्लाई गर्छन् । प्रोफेसनल भाषामा भन्दा, उनी राम्रो बिजनेसम्यान हुन् । उनी सजिलै यो स्थानसम्म आइपुगेका होइनन् ।

यहाँसम्म आइपुग्नका लागि उनले कहिले इँटा उचालेका छन्, कहिले साग व्यापार गरेका छन्, कहिले रत्नपार्कमा पुगेर कपडा व्यापार गरेका छन् भने कहिले असनका गल्लीमा हाइनेक र ट्राउजर समाएर पैताला खियाएका छन् ।

बुद्धिबहादुरले ०४६ सालमा एसएलसी पास गरे र नौ महिना गाउँकै विद्यालयमा अध्यापन गरे । तर, जब उनी उच्च शिक्षाका लागि काठमाडौं आए, त्यसपछि भने उनी संघर्षको मैदानमा होमिए । दुई छाक टार्नका लागि उनले जुनसुकै काम पनि गर्न बाँकी राखेनन् ।

महाराजगन्जको सुकुम्बासी बस्तीमा बस्न पुगेका बुद्धिबहादुरको पहिलो काम थियो घर ढलान । उनी दिनभर ढलानको काम गर्थे र बेलुकी कोठा फर्कन्थे । सिमेन्ट बालुवा मुछ्थे, कराहीमा सिमेन्ट हालेर दिन्थे, अहिलेजस्तो प्रविधिको विकास नभइसकेको भए तापनि त्यतिवेला ज्यामी काम गर्नका लागि निकै कष्टप्रद थियो । तर, दिनभरको काम गरेर उनी ४० रुपैयाँ गोजीमा हाल्थे र कोठा फर्कन्थे ।

उनी काठमाडौंका सहरसँग परिचित हुँदै थिए । त्यसैवेला उनी रत्नपार्कसँग परिचय गर्न पुगे । रत्नपार्कमा पुगेर मोजा, बच्चाहरूको कपडा बेच्न थाले । फुटपाटमै आफ्नो जीवनलाई होम्दै थिए उनी । भन्छन्, ‘ज्यामी काम गरेर जम्मा गरेको चार हजार रुपैयाँले मोजा कपडालगायतका सामान खरिद गरेर बेच्न थालेको थिएँ ।’ त्यहाँ उनको कमाइ पनि राम्रै हुन थाल्यो । भन्छन्, ‘नौ रुपैयाँमा लिएको मोजा ४० रुपैयाँसम्ममा बिक्री हुन्थ्यो । दिनमै दुई हजार २२ सय रुपैयाँसम्मको कमाइ गरिन्थ्यो ।’

करिब नौ महिनापछि उनको व्यवसायमा ठूलो अवरोध खडा भयो । सरकारले रत्नपार्कमा डोजर लगायो, जसका कारण उनी त्यो व्यवसायबाट विस्थापित हुन पुगे । त्यसपछि पनि उनले ज्यामी कामलाई निरन्तरता दिए । सामान्य खालको ठेक्कासमेत लिएर काम गर्न थाले । उनको भाइ काठमाडौं आइसकेपछि भने रत्नपार्कले दिएको ६० हजार रुपैयाँले किराना पसल सुरु गरे । विडम्बना ! त्यो व्यवसाय फस्टाएन । अनि हात हाले, मासु व्यापारमा ।

त्यतिवेला मासु काट्नेलाई कसाई भन्थे । ब्राह्मणले मासु छुनुहुँदैन भन्नेसम्मको मान्यता स्थापित थियो । तर, त्यो मान्यतालाई बुद्धिबहादुरको पेट सिद्धान्तले इन्कार ग¥यो । उनले ०५२ मा थापागाउँको खुला आकाशमुनि बसेर मासु काट्न थाले । त्यहाँबाट राम्रो आम्दानी हुन थाल्यो । उनी भन्छन्, ‘सुरुमा त्यस्तै २०–३० केजी मासु बिक्थ्यो । महिनामा १५ सयभन्दा बढी आम्दानी हुन्थ्यो । ०५५ सालदेखि त धेरै राम्रो हुन थल्यो ।’

पेसाका कारण कहिलेकाहीँ बहिष्करणमा पनि परेका छन्, बुद्धिबहादुर । भन्छन्, ‘एकपटक पण्डितले टाँगासमेत बाँधिदिएन मलाई ।’ यस्ता अनेक घटनालाई नजरअन्दाज गर्दै आफ्नै व्यवसायमा केन्द्रित भए उनी । लगनशीलताले उनलाई राम्रो प्रतिफल दियो । जसका कारण ६१ सालमै अनामनगरमा ३५ लाख रुपैयाँको चारआना जग्गा किन्न सफल भए । त्यो जग्गा बिक्री गरे र ०६८ मा मासु पसल गरेकै जग्गा खरिद गर्ने हैसियत बनाए । जुन जग्गा उनले एक करोड ९७ लाख रुपैयाँमा किनेका थिए । त्यो घर खरिदमा तत्कालीन किस्ट बैंकको ऋणले पनि धेरै सहयोग ग¥यो । त्यही जग्गामा अहिले उनको भव्य महल छ ।

हाल पनि कामप्रतिको उनको धारणा उस्तै छ । प्रायः उनी मासु काटेर बेचिरहेको अवस्थामा भेटिन्छन् । ४५ वर्ष पुगेका उनी बिहान ४ बजे उठेर संघर्ष गर्छन् । आफ्ना धेरै दाजुभाइ भएकाले परिवारले नै धानेको छ उनको सप्लायर्स । उनी भन्छन्, ‘मान्छे सफल हुनका लागि पैसा होइन, इच्छाशक्ति चाहिन्छ ।’

पत्रिका र बदाम बेचेर लाजिम्पाटमा घर

ओखलढुंगाका चित्रकुमार खड्कालाई पनि बदाम र पत्रिकाले माथि पु¥याएको हो । कुनै समय हातमा बदाम र पत्रिका लिएर हिँड्ने चित्रकुमार आज सम्पन्न बनेका छन् । चित्रकुमारको ०५४ सालदेखिको संघर्षले लाजिम्पाटमा बिल्डिङ ठडिएको छ । हिजो काठमाडौंमा ६ जना एउटा कोठामा कोचाकोच गरी बस्ने उनी आज सानका साथ आफ्नै निवासमा बस्छन् र व्यापार गर्छन् ।
००
०५० मा एसएलसी पास गरेपछि उनले दुई वर्ष गाउँमै अध्यापन गरे । अनि ०५४ सालमा काठमाडौं छिरे । त्यतिवेला काठमाडौंसम्म आउन पनि कम्ती सकस थिएन । आधा बाटो त उनले हिँडेरै पार गरे ।

पढ्न भनेर काठमाडाैं आएका चित्रकुमारलाई अभावले पढ्न दिएन । बरु, छाक टार्नका लागि पत्रिका बेच्दै हिँडे । केही समयपछि उनी सरस्वती क्याम्पसमा भर्ना भए । बिहान क्याम्पस जाने उनी दिनभर पत्रिका हातमा लिएर कराउँथे, ‘आयो सन्ध्याकालीन ताजा खबर, ताजा खबर… ।’ पत्रिका हल्लाउँदै उनी पुतलीसडक, नक्साल, सरस्वती क्याम्पस, लैनचौर, लाजिम्पाटलगायतका सडकमा भौँतारिन्थे । एक वर्ष उनको दैनिकी त्यसरी नै बित्यो । भन्छन्, ‘एक रुपैयाँमा पत्रिका लिएर दुई रुपैयाँमा बेच्थ्यौँ । दिनमा त्यस्तै ५०–६० वटा पत्रिका बिक्री हुन्थ्यो ।’

उनी सधैँ पत्रिका बेचेर बसेनन् । बदामतर्फ फड्को मारे । पत्रिकाभन्दा बदाममा फाइदा देखे चित्रकुमारले । त्यतिवेला उनलाई राम्रो कामभन्दा पनि पैसा चाहिएको थियो ।
त्यसैले उनी बानेश्वरमा बसेर दिनभर बदाम बेच्न थाले । जाडोको समयमा बदाम फिँजाएर बस्थे र गर्मीमा तरकारी । उनी मीनभवन, बानेश्वर, बिजुलीबजार, सूर्यविनायकसम्म डालीमा बदाम लिएर घुम्थे ।
त्यतिवेलाको रमाइलो किस्सा सुनाउँछन् चित्रकुमार, ‘मीनभवनमा माथिबाट बोलाएर बदाम पु¥याउन गएको थिएँ । मलाई बदाम लिएर बोलाउने त सँगै क्याम्पस पढेको साथीकी श्रीमती पो रहिछिन् ! म त्यो कोठामा पस्नै सकिनँ । लुकेर भागँे ।’ उनको जीवनसँग गाँसिएका यस्ता थुप्रै अनुभूति छन् ।

गर्मी मौसममा तरकारी बेच्न पनि छोडेनन् उनले । बिहानै ४ बजे उठेर उनी कालिमाटीबाट तरकारी ल्याउँथे । अनि फुटपाथमा बसेर बेच्न थाल्थे । त्यो पेसा पनि एक वर्षभन्दा बढी टिकेन । उनले बुद्धिबहादुरको मासु पसलमा मासु काट्न थाले । ०५६ सालबाट त लाजिम्पाटमा आफ्नै मासु पसल सुरु गरे ।

खाली जग्गा लिएर उनले मासु पसल सुरु गरेका थिए । व्यवसाय सुरु गरेको एक महिनापछि बाँसमा पाल अड्याएर पसललाई केही व्यवस्थित बनाउने प्रयास गरे । मासु पसल पनि राम्रै चल्दै गयो । त्यहाँबाट उनले दिनमा दुई–तीन सय रुपैयाँ आम्दानी गर्न थाले । ०६२ सालमा त उनले भाडाको जग्गालाई आफ्नो बनाए । ०६५ मा ४० लाख रुपैयाँ खर्च गरेर निवास नै खडा गरे ।

अहिले उनले एउटा भाइलाई जापान पठाएका छन्, छोरीलाई बिएस्सी स्टार्फ नर्स पढाउँदै छन् भने अन्य पारिवारिक सदस्यलाई पनि राम्रै शिक्षादीक्षा दिएका छन् । उनलाई उठाएको मासु पसल अहिले पनि छाडेका छैनन्, उनले । साथमा तीनवटा ब्रान्डको ग्यासको डिपो लिएका छन् र सँगसँगै पानीको पनि व्यापार गर्छन् ।

साग व्यापारदेखि उपसचिवसम्म

ओखलढुंगा गाम्नाङटारका तीर्थराज भट्टराईको घरअगाडि प्रधानाध्यापकको घर थियो । उनको घरमा जिल्लाबाट माथिल्लो ओहोदाका मान्छेहरू आइरहन्थे । एकपटक घोडाको लगाम समाउँदै एकजना मान्छे आए र तिनै प्रधानाध्यापकको घरअगाडि रोकिए । घोडावाल थिए– जिल्ला शिक्षा अधिकारी । अर्को दिन त्यो घोडा देखेपछि उनकी आमाले तीर्थराजतर्फ फर्कंदै भनिन्, ‘मेरो छोरा यस्तै घोडा चढ्ने होला कि नहोला ?’ जतिवेला तीर्थराज दुई कक्षामा अध्ययन गर्थे ।

आमाले भनेजस्तै अहिले तीर्थराज घोडा नभएर गाडी नै चढ्ने भइसकेका छन् । सडकबाटै संघर्ष गरेर उनी यो अवस्थासम्म आइपुगेका हुन् । उनको जीवनको सफलतासँग कतै न कतै उनको आमाको वाणीले पनि हक राखेको छ ।

तीर्थराज निम्नवर्गीय परिवारमा हुर्किए । आफ्नो जमिनमा उब्जिएको अन्नले वर्षदिन धान्न धौ–धौ पथ्र्यो, उनको परिवारलाई । स्कुल जानुपूर्व र स्कुलबाट फर्किएपछि उनको नियमित ड्युटी थियो, एक भारी घाँस–दाउरा ल्याउने ।

उनी सधैँ चप्पल पड्काउँदै विद्यालय पुग्थे । एसएलसी सकाएर उनी ०५० मा काठमाडौं उक्लिए । उतिवेला दुई दिन पैदल र एक दिन गाडीमा चढेर काठमाडौं आएका थिए, तीर्थराज । काठमाडौंमा उनका काका बस्थे, जो रेडियो नेपालमा जागिर गर्थे । उनैसँग बस्न थाले तीर्थराज । तर, खाने बाटो गर्नुपर्ने भयो ।

उनका काकाले चप्पल फ्याक्ट्रीमा काममा लगाइदिए । त्यसपछि १६ वर्षीय कलिलो उमेरका तीर्थराजले चप्पल फ्याक्ट्रीमा हातपाखुरा बजार्न थाले । धुम्बाराहीमा रहेको चप्पल फ्याक्ट्रीमा उनले नगर्ने कुनै काम थिएन, बोरा बोक्नेदेखि चप्पल बनाउनेसम्मको काम गर्थे उनी । तर, दुई महिनापछि उनी झाडापखालाले थलिए । त्यसपछि कामै छोडिदिए । भन्छन्, ‘त्यतिवेला मासिक ६–७ सय रुपैयाँ कमाइ हुन्थ्यो ।’

उनलाई केही न केही गर्नु थियो । क्याम्पसमा भर्ना हुने र उच्च शिक्षा हासिल गर्ने चाहना त छँदै थियो । त्यसैले कसरी हुन्छ पैसा जम्मा गर्ने जुक्तिमा थिए उनी । त्यतिवेलै उनको मस्तिष्कमा क्लिक भयो, ‘साग व्यापार ।’

०५० तिरै उनले लगनखेलको सडकमा साग व्यापार गर्न थाले । भन्छन्, ‘गाउँबाट ल्याएको भारीका भारी साग खरिद गथ्र्यौँ र बेच्थ्यौँ । एक मुठा सागमा ५० पैसा नाफा हुन्थ्यो ।’ दिनमा औसत ५० रुपैयाँ आम्दानी गर्थे उनी । कहिलेकाहीँ सडकमा बसेर दुई–तीन भारी साग पनि बेचिरहेका हुन्थे । बिक्री भएको सागको मुठामुठामा अध्ययन गर्ने सपनाको गन्ध थियो, सायद । दुई महिनासम्म सडकमा साग बेचेर बचत गरेको रकम बोकेर उनी पाटन क्याम्पस पुगे । र, नेपाली र जियोग्राफी विषय पढ्न थाले ।

पाटन क्याम्पसमा भर्ना भएसँगै उनका लागि रोजगारीको नयाँ बाटो खुल्यो । काकाकै माध्यमबाट एक विज्ञापन एजेन्सीमा काम गर्न थाले । त्यतिवेला उनी साथीहरूसँग असनलगायतको क्षेत्रमा पत्रिका बिक्री गर्न पनि हिँडेका थिए ।

विज्ञापन एजेन्सीमा काम गर्दै जाँदा तीर्थराजलाई राम्रो हुन थाल्यो । त्यतिवेला देशमा त्यति धेरै पत्रिका, रेडियो, टेलिभिजनहरू थिएनन् । र, पनि उक्त विज्ञापन एजेन्सीले राम्रो आर्थिक ट्रान्जेक्सन गर्न थाल्यो । जसको कारण उनी नौ वर्षसम्म त्यही विज्ञापन एजेन्सीमा काम गरे । भन्छन्, ‘पछि त म त्यो एजेन्सीको म्यानेजर नै भएँ । कम्पनी वार्षिक पाँच करोडभन्दा बढीको आर्थिक ट्रान्जेक्सन गर्ने भइसकेको थियो ।’ त्यही एजेन्सीमै काम गरेर उनले भूगोलतर्फबाट मास्टर्स पनि सकाए । उनले ७० प्रतिशतभन्दा बढी अंक ल्याएर मास्टर्स सकाएका थिए ।
०००
०५८ सालमा बिहे गरेर ससुराली गएका तीर्थराजले त्यहाँ फरक अनुभूति गरे । उनको ससुराली गाउँ लमजुङमा सरकारी जागिरे नभएको घर भेट्टाउन गाह्रो थियो । त्यसले उनलाई पनि सरकारी जागिरप्रतिको मोह जगाइदियो । त्यसपछि आफू पनि अफिसर बन्ने अठोट लिए, तीर्थराजले । उनले जागिर नै छाडेर पढ्न थाले । सर्ट लिस्टमा नाम पनि निस्कियो । त्यसपछि पढाइमा नै जोड दिन थाले । भन्छन्, ‘राति जतिवेला निद्राले छाड्यो त्यतिवेला नै अध्ययन गर्ने गर्थेँ ।’
०००
एक दिनको कुरा हो, तीर्थराजको एकजना साथी बिहान ४ बजे नै ढोका ढकढक्याउन आइपुगे । तीर्थले ढोका ढकढक्याएको नसुनेपछि ती साथी वल्लो घरबाट झ्याल ढकढक्याउन पुगेका थिए । त्यतिवेला तीर्थले लोकसेवाको रिजल्ट आएको सपना देखिरहेका थिए ।

जब तीर्थराजले ती साथीलाई भेटे त्यसपछि उनीमा खुसीको सीमा नै रहेन । ती साथीले गोरखापत्र बोकेर आएका थिए । अधिकृतको रिजल्ट थियो गोरखापत्रमा । जहाँ तीर्थराजको नाम पनि अटाएको थियो । उनले अन्तर्वार्तामा पनि नाम निकाले अनि गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय बर्दियामा पोस्टिङ भए ।

त्यतिवेला देशमा संकटकाल थियो र देशको सम्पूर्ण शासनसत्ता तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो हातमा लिएका थिए । तत्कालीन विद्रोही माओवादी र सरकारबीचको द्वन्द्व चरम उत्कर्षमा थियो । त्यसै जिल्लाका सिडिओलाई माओवादीले हत्या पनि गरेका थिए । त्यहीँ रहेर उनले चार वर्ष काम गरे । उनलाई माओवादीबाट ठूलाठूला धम्की पनि नआएका होइनन् । तर, कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरे तीर्थराजले ।

त्यसपछि उनले क्षेत्रीय प्रशासन कार्यालय हेटौँडा, केन्द्रीय कारागार काठमाडौं प्रमुख, जिल्ला विकास समिति काठमाडौंमा स्थानीय विकास अधिकारीको रूपमा जिम्मेवारी निर्वाह गरे । अहिले उनी स्थानीय विकास मन्त्रालयमा उपसचिवको रूपमा कार्यरत छन् । उनले कलंकीमा आफ्नो निवास पनि बनाइसकेका छन् । तर, उनीमा पढाइको भोक अझै मरेको छैन । ४० वर्षीय तीर्थराज एमफिल गर्दै छन् भने सहसचिवको तयारीमा पनि जुटेका छन् ।

सडकबाटै मालामाल 

होटेल छोडेर ठेला व्यापार

१५ वर्ष पहिले सुभद्रा थापाको आफ्नै होटेल थियो । त्यसभन्दा पहिले असनमा किराना पसल । उनले राति अबेरसम्म होटेल खोल्न नपाउने भएपछि पेसा परिवर्तन गरिन् । होटेलबाट फुटपाथमा झरिन् । जब फुटपाथमा आइन्, त्यसपछि निकै रमाइलो लाग्न थाल्यो उनलाई ।

बेलुकी ५ बजे घरबाट बागबजारस्थित तरकारी बजारछेउ पुग्छिन् उनी । त्यसपछि ठेलामा असरल्ल नेवारी आइटम फिँजाउँछिन्, ग्राहकको अर्डरअनुसार खानेकुरा तयार पार्दै पस्कँदै गर्छिन् । अनि १० बजेपछाडि मात्र फर्कन्छिन् । ग्राहकको भिड पनि उस्तै । पैसा समाउनेसम्म फुर्सद हुँदैन उनलाई । भाइ सानु कपालीले सघाउँछन्, सुभद्रालाई ।

६ हजारमा सानो ठेला लिएर १५ वर्षपहिले उनी बागबजारको चोकमा बस्न सुरु गरिन् । जम्माजम्मी १५ हजारको लगानी गरेकी थिइन् सुरुमा । दिनहरू बित्दै जाँदा व्यापार पनि उस्तै गरी बढ्न थाल्यो । मुसुक्क हाँस्दै भन्छिन्, ‘रमाइलै छ ।’ यसकारण उनको अनुहारमा मुस्कान छाएको छ कि १० वर्ष पहिले हुने ५÷७ हजारको व्यापार बढेर अहिले १५ हजार रुपैयाँभन्दा माथि पुगेको छ । ठेलामै उनी दैनिक ७÷८ हजार रुपैयाँभन्दा बढीको आम्दानी गर्छिन् ।

काठमाडौंकै रैथाने भएकाले पनि उनलाई सहज छ । यही पेसा गरेर छोरालाई होटेल म्यानेजमेन्ट पढाएकी छिन् । जो अहिले साउदीमा पुगेर ‘रियल’ फलाइरहेका छन् ।

४८ वर्षीय सुभद्राले कहिले भुटन तयार पारिरहेकी हुन्छिन्, कहिले खागो, बारा, ससेज, चिकेन रोस्ट फ्राई गरिरहेकी हुन्छन् । भाइ सानुकान्छाले मःम झिक्दै दिँदै गरिरहेका हुन्छन् । उनका श्रीमान् ड्राइभिङ गर्छन् । सुभद्राले यो व्यवसायको विकल्प पनि कहिल्यै सोचेकी छैनन् । भन्छिन्, ‘मेरै आँट, साहस र मिहिनेतले सुरु गरेको पेसा हो । यसैमा आनन्द छ ।’

गाडीले डुबायो, फुटपाथले उठायो

जीवनमा मान्छेले अनेक योजना तय गरेका हुन्छन्, आफूअनुकूलको सपना देखेका हुन्छन् । र, त्यो सपनालाई पूरा गर्न संघर्षको यात्रामा दौडन्छन् । तर, जीवनमा सधैँ सोचेअनुरूपका सफलता हाँसिल हुँदैन । कहिलेकाहीँ जीवनले मान्छेलाई नै अचम्मित पार्ने गरी नयाँ आधारशीला खडा गर्दिन्छ वा सोच्दै नसोचेको काम गर्न बाध्या परिदिन्छ । जुन अनुभव छ विश्व बडालसँग ।

उनी गाडीको व्यवसायमा लागे । संघर्ष पनि खुबै गरे । तर, मिहिनेतले मात्र मान्छे सफल हुँदो रहेनछ । उनले १८ लाख रुपैयाँ डुबाए । अनि उनीसँग विकल्प फु¥यो रत्नपार्कमा कपडा व्यापार गर्ने । बडाल एकजनासँग बिन्ति गर्न पुगे, ‘तपाईंको कपडा बेचिदिन्छु । जति व्यापार हुन्छ तिर्छु, नाफा म राख्छु ।’

यसरी करिब एक वर्ष रत्नपार्कमा बिताए बलामीले । आम्दानी पनि राम्रै हुन थाल्यो । महिनामा ५०÷६० हजार नै आम्दानी गर्न थाले । त्यसपछि उनी इन्द्रचोकमा पुगे । त्यहाँ पनि निकै राम्रो व्यवसाय हुन थाल्यो । उनले महाबौद्धबाट फेन्सी आइटम ल्याउँथे र सुपथ मूल्यमा बिक्री गर्थे । अहिले उनको सिनारियो चेन्ज भइसकेको छ । पाँच वर्षको अवधिमा सबै ऋण चुक्ता गरिसकेका छन् । न्युरोड र बांगेवडामा फेन्सीपसल सञ्चालनमा ल्याएका छन् ।

तरकारीवाली पार्वती

पार्वती दाहाल एउटा छोरी लिएर पुतलीसडकको एक गल्लीमा बस्छिन् । उनको ठेला फलफूलका भेराइटीले सजिएका छन् । फुटपाथमा बसेर फलफूलमै आफ्नो भविष्य खोजिरहेकी छिन् । रोजीरोटी जुटाइरहेकी छिन् ।

उनले ७ वर्षपहिले घाँस काट्ने, भैँसी पाल्ने, खेती गर्ने पेसा छाडेर काठमाडौं छिरिन् । र, तरकारीसँगै जिन्दगी बिताउन थालिन् । आजसम्म पनि उनको दिनचर्या उस्तै छ । काठमाडौंको एउटा घरमा डेरा लिएर बस्छिन् । खाना खाइवरी १० बजे ठेला घचेट्दै सडकमा आइपुग्छिन् अनि साँझ ८ बजेतिर घर पुग्छिन् । उनी एउटा छेउमा तरकारी बेचिरहेकी हुन्छिन् भने अर्कोछेउमा उनका श्रीमान् प्रेमप्रसाद चाटपटे मोलिरहेका हुन्छन् । दैनिक एक हजारसम्मको आम्दानी हुने पार्वती बताउँछिन् ।

तर, उनीसँग खुसीका मात्र होइन, दुःखका पलहरू पनि निकै छन् । सडकमा काम गर्दा विभिन्न अप्ठ्यारो त आइहाल्छ । कतिपयले भने प्याच्च नराम्रो पनि भनिदिन्छन् रे । भन्छिन्, ‘तर, यी सबैको मतलब गर्दिनँ ।’ सबैभन्दा समस्या त नगरपालिकाले पो पारेको छ उनलाई । भन्छिन्, ‘नगरपालिकाका प्रहरी देखेपछि भागिहाल्नुपर्छ । कहिलेकाहीँ सबै खोसेर लगिदिन्छन् ।’ तर, आफूलाई यही व्यवसायमा आत्मसन्तुष्टि भएको बताउँछिन् पार्वती ।

जुत्ता सिलाउने नेता

महोत्तरी सुन्दरपुरका सेवक राम सद्भावना पार्टीका केन्द्रीय सदस्य हुन् । राजधानीमा आयोजना हुने विभिन्न फोरम र दलितसम्बन्धी कार्यक्रमहरूमा भाषण पनि दिन्छन् । दलित अधिकारकर्मीका लागि बढ्ता परिचित हो ‘सेवक राम’ नाम ।

राजनीतिबाट चिनिएको सेवक रामको पेसा कसैले थाहा पायो भने ऊ टोक्न बाध्य हुन्छ । त्यो किनभने उनले बागबजारका सडकमा बसेर जुत्ता सिलाइरहेका हुन्छन्, पालिस गरिरहेका हुन्छन् ।’
उनलाई आफ्नो पेसाप्रति कुनै खेद छैन र कुनै पश्चात्ताप पनि । बरु रोजीरोटी जुटाउन सहयोग गरेकोमा पेसालाई नै सलोट गर्छन् । भन्छन्, ‘राजनीति गरे पनि कुनै न कुनै व्यवसाय त चाहियो नि ।’

०५७ मा सेवक रामले पार्टीको सदस्यता लिएका थिए । तर, त्योभन्दा अगाडि पनि राजनीतिको उनको रुचि नभएको होइन । राजनीतिमा चासो राख्ने सेवक रामको जुत्ता पालिस पेसा भने २५ वर्ष पुरानो हो । २५ वर्षदेखि उनले निरन्तर मान्छेहरूको जुत्ता पालिस गरिरहेका छन् र मान्छेहरूलाई नै पाठ सिकाइरहेका छन् । श्रमप्रतिको पाठ ।

सुरुमा त उनले स्टाफ, ग्यास बनाउने काम पनि गर्थे । पछि विस्तार जुत्तामा मात्र केन्द्रित हुन थाले । आठ कक्षा पास गरेका सेवक राम साथीको लहलहैमा काठमाडौं छिरे । उनका साथीहरूले जुत्तासम्बन्धी नै काम गर्ने भएकाले उनको यही पेसा बाध्यता बन्न पुग्यो । दैनिक पाँच सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म आम्दानी गर्ने सेवक राम यो पेसा छाड्ने मनस्थितिमा छैनन् ।

तपाईको प्रतिक्रिया