पूर्वी तराईमा कठ्यांग्रिएर यो वर्ष ५० को मृत्यु - Naya Patrika
eNaya Patrika
  • ePaper

पूर्वी तराईमा कठ्यांग्रिएर यो वर्ष ५० को मृत्यु

पूर्वी तराईमा कठ्यांग्रिएर यो वर्ष अहिलेसम्म ५० जनाले ज्यान गुमाइसकेका छन् । सबैभन्दा धेरै सप्तरीमा २१ र रौतहटमा १६ जनाको मृत्यु भएको छ । सप्तरीमा गत बिहीबार र शुक्रबार दुई दिनमा मात्रै ६ जनाको मृत्यु भएको सप्तरीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए । त्यस्तै सिरहा, धनुषा र पर्सामा तीन–तीन, सर्लाहीमा दुई र महोत्तरी र बारामा एक–एकजनाको मृत्यु भएको छ ।

प्रहरीको फरक तथ्यांक
विभिन्न स्थानीय तहले अहिलेसम्म ५० जनाको मृत्यु भएको पुष्टि गरे पनि प्रहरीले ४४ जनाको मात्र मृत्यु भएको तथ्यांक दिएको छ । प्रदेश नम्बर २ को प्रदेश प्रहरी कार्यालय जनकपुरले सबैभन्दा बढी रौतहटमा १५ जनाको मृत्यु भएको तथ्यांक दिएको छ । त्यस्तै, सप्तरीमा १४ जनाको मृत्यु भएको जनाएको छ । विभिन्न स्थानीय तहले भने सप्तरीमा २१ जनाको मृत्यु भएको जनाएका छन् ।

आगो ताप्ने क्रममा तीनको मृत्यु
आगो ताप्ने क्रममा जलेर तीनजनाको मृत्यु भइसकेको छ । धनुषामा दुई र रौतहटमा एकजनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी निरीक्षक अभय झाले बताए । जलेर ज्यान गुमाउने तीनैजना महिला हुन् ।

जनजीवन कष्टकर बन्दै
चिसो बढेसँगै पूर्वी तराईको जनजीवन नराम्ररी प्रभावित बनेको छ । एक साताभन्दा बढी समयदेखि लागेको बाक्लो हुस्सु र कुहिरोले अत्यधिक चिसो बढेको छ ।  दिउँसो तापक्रम नबढ्दा बजारमा पनि चहलपहल घटेको छ । फुटपाथ र सडकमा व्यापार गरेर दैनिक गुजारा गर्नेको दैनिक जीवनयापन पनि प्रभावित भएको छ ।

न्यानो सामग्रीको अभाव
गृह मन्त्रालयले शीतलहर प्रभावित तराई मधेसका २२ जिल्लाका लागि न्यानो प्याकेज सार्वजनिक गरे पनि जिल्लामा वितरण हुन सकेको छैन । चिसोबाट अत्यधिक प्रभावितमध्येको रौतहटमा न्यानो सामग्रीको अभाव भएको प्रजिअ उद्धवबहादुर थापाले बताए । प्रशासनसँग रहेको केही सामग्री वितरण गरिएको र थप सामग्रीका लागि गृह मन्त्रालयसँग माग गरिएको बताए ।

जिल्ला प्रशासन कार्यालय सप्तरी र सिरहाले भने आफ्नै पहलमा कम्बल वितरण सुरु गरेका छन् । सप्तरी र सिरहाको जिल्ला प्रशासन कार्यालयले आफ्नो कार्यालयमा मौज्दात नभएका सामग्री बजारबाट खरिद गरी वितरण सुरु गरेको जनाए ।

दुई दिनदेखि जिल्ला प्रशासन कार्यालयले कम्बल किनेर वितरण सुरु गरेको सप्तरीका प्रजिअ भगीरथ पाण्डेले बताए । उनले भने, ‘केन्द्रले निर्णय गरिसकेपछि प्रक्रियागत तरिकाले आउँदै गर्छ । त्यतिन्जेल नागरिकलाई ज्यान गुमाउन दिनुहुँदैन । त्यसैले राज्यको कर्तव्य र दायित्व बोध गरेर स्थानीय बजारमै किनेर भए पनि वितरण थालेका छौँ ।’

महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले जिल्लाको कुनै पनि स्थानमा राहत वितरण गर्नुपर्दा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी मात्र वितरण गर्न अनुरोध गरेका छन् । राहतस्वरूप बाँडिने न्यानो सामग्री एक परिवारलाई दोहोरिएर नपरोस् र धेरै प्रभावितले पाऊन् भन्ने उद्देश्यले यसो गरिएको उनको भनाइ छ ।

ज्येष्ठ नागरिक, बालबालिका र बिरामी जोखिममा
शीतलहरले चिसो बढ्दा ज्येष्ठ नागरिक, बालबालिका र बिरामी धेरै प्रभावित भएको राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरले जनाएको छ ।

क्षेत्रीय कार्यालय जनकपुरका मानवअधिकार अधिकृत दीपकुमार यादवले शीतलहर प्रभावितका लागि गृह मन्त्रालयमार्फत बाँडिरहेको न्यानो पर्याप्त नभएको बताए । उनले भने, ‘ढिलै भए पनि शीतलहरबाट प्रभावितका लागि गृह मन्त्रालयअन्तर्गतका कार्यालयहरूबाट न्यानो बनाउने सामग्री वितरण थालिएको छ तर पर्याप्त छैन ।’

स्थानीय सञ्चारकर्मी श्रवण देवले सप्तरीमा शीतलहर प्रभावितहरूका लागि स्थानीय प्रशासनले गर्नुपर्नेजति काम गर्न नसकेको आरोप लगाए । सप्तरीमा चिसोका कारण करिब २१ जनाको ज्यान गए पनि स्थानीय प्रशासनले तथ्यांक कम देखाएर दायित्वबाट पन्छिन खोजेको उनले आरोप लगाए ।

सामुदायिक विद्यालय बन्द
करिब दुई सातादेखिको शीतलहरले जनजीवन प्रभावित भएपछि पूर्वी तराईका आठवटै जिल्लाका सामुदायिक विद्यालय बन्द गरिएको छ । विद्यार्थी बिरामी हुन थालेपछि सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरूले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले १ माघसम्मका लागि औपचारिक रूपमै सामुदायिक विद्यलाय बन्द गरिएको बताए । उनले भने, ‘माघ १ गतेअगाडि मौसममा सुधार नआए फेरि अर्को निर्णय गरेर विद्यालय बन्द गरिनेछ ।’

यस्तै, जिल्ला शिक्षा कार्यालय धनुषाले ६ माघसम्मका लागि सामुदायिक विद्यालय बन्द गरेको छ । जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले मौसम हेरेर मात्रै विद्यालय खोलिने बताए । महोत्तरी र सप्तरीमा भने विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

दाउरा बाँड्दै सुरक्षाकर्मी
शीतलहर बढेपछि सुरक्षाकर्मीले विभिन्न स्थानमा दाउरा बाँड्न थालेका छन् । नेपाल प्रहरी, सशस्त्र र सेनाले विभिन्न स्थानमा दाउरा बाँडिरहेका छन् । प्रदेश प्रहरी प्रमुख विजयलाल कायस्थका अनुसार पैदल गस्तीमा हिँड्ने प्रहरीको हातमा र गाडी ड्युटीमा जाने प्रहरीको गाडीमै दाउरा राखेर विभिन्न स्थान पु¥याइएको छ ।

इलाका प्रहरी कार्यालय लहान र सशस्त्र प्रहरी बेस लहानबाट गस्तीमा खटिएका टोलीले दैनिकजसो दाउरा वितरण गरिरहेका छन् । उता, प्रदेश प्रहरी कार्यालय जनकपुरले स्वेच्छिक आर्थिक सहयोग संकलन थालेको छ । प्रदेशभरिमा कार्यरत नेपाल प्रहरीबाट स्वेच्छिक आर्थिक संकलन गरिने प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विजयलाल कायस्थले बताए ।

उनले भने, ‘चिसो अत्यधिक बढेको छ । नागरिकहरूले ज्यान गुमाउन थालेका छन् । त्यसैले प्रहरीभित्र पनि स्वेच्छिक आर्थिक अभियान थालेका छौँ ।’ उनले प्रहरीबाट संकलन हुने रकमले कम्बल किनेर प्रभावितलाई वितरण गरिने बताए ।

तपाईको प्रतिक्रिया