देश विकास र समृद्धितिर : प्रचण्ड - Naya Patrika
eNaya Patrika
  • ePaper

देश विकास र समृद्धितिर : प्रचण्ड

माओवादी अध्यक्ष प्रचण्डले राजनीतिक स्थिरता भई देश विकास निर्माणमा अघि बढ्ने बताएका छन् । उनले जनताको आदेशविपरीत वाम गठबन्धनबाहिरबाट सरकार नबन्ने बताए । छैटौँ म्याग्दी महोत्सव र प्रदेश नम्बर ४ स्तरीय कृषि, आद्यौगिक व्यापारिक मेलाको उद्घाटन गर्दै उनले सुशासन र समृद्धि अबको सरकारको प्रमुख एजेन्डा भएको बताए ।

‘अब विकास र समृद्धिमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउनेछौँ, अध्यक्ष प्रचण्डले भने, ‘जलविद्युत्, पर्यटन, कृषि, जडीबुटी, उद्योग, व्यापारको विकास र पूर्वाधार निर्माणमा सार्वजनिक निकाय र निजी क्षेत्रलाई सँगै लिएर अघि बढ्छौँ ।’

म्याग्दी महोत्सवमा माओवादी अध्यक्ष प्रचण्डलाई स्वागत गर्दै आयोजक । तस्बिर :  निर्मल खत्री÷नयाँ पत्रिका

 

प्रचण्डले आफू नौ महिना प्रधानमन्त्री भएको वेला चीनका प्रतिनिधि र राष्ट्रपतिसँग ल्हासा–लुम्बिनी रेलमार्ग र कोरला नाका खोल्ने विषयमा गम्भीर छलफल भएको बताए । कोरला नाका खोल्न चीन सरकार सहमत भएको उनको दाबी छ । प्रचण्डले कोरला नाका खोलिए यस क्षेत्रको आर्थिक विकास हुनुका साथै देशको अर्थतन्त्रमा समेत ठूलो सहयोग पुग्ने बताए ।

भर्खरै सम्पन्न निर्वाचनमा वाम गठबन्धनलाई जनताले अत्यधिक मतका साथ अनुमोदन गरिसकेको भन्दै उनले त्यसविपरीत वाम गठबन्धन कुनै पनि हालतमा जान नसक्ने स्पष्ट पारे । म्याग्दी उद्योग वाणिज्य संघले शुक्रबारदेखि बेनीमा आयोजना गरेको छैटौँ म्याग्दी महोत्सवको उद्घाटन गर्न बेनी आएका प्रचण्डले त्यसअघि कार्यकर्ता भेटघाट गरेका थिए । म्याग्दी उद्योग वाणिज्य संघ मूल आयोजक भएको महोत्सव ७ माघसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया