नारायणी उपक्षेत्रीय अस्पतालका सटरमा प्रशासनको सिल - Naya Patrika
eNaya Patrika
  • ePaper

नारायणी उपक्षेत्रीय अस्पतालका सटरमा प्रशासनको सिल

नारायणी उपक्षेत्रीय अस्पताल परिसरमा सञ्चालनमा रहेका औषधि र नास्ता पसलमा प्रशासनले शुक्रबार सिल गरिदिएको छ । पटक–पटक अस्पताल व्यवस्थापन समितिले खाली गरिदिन गरेको आग्रहलाई अटेर गरेपछि प्रशासनले १६ वटा सटरमा सिल गरिदिएको हो ।

प्रशासनले कडा सुरक्षा व्यवस्था गरेर सटरमा लाहाछाप लगाई सिल गरेको छ । व्यवसायीहरूको औषधि र नास्ता पसलका सामान सबै सटरभित्रै छ । औषधि व्यवसायीले राजनीतिक प्रभाव र दबाबमा अस्पताल हाताका सटर कब्जा गर्दै आएका थिए ।

अस्पताल प्रशासनका अनुसार अस्पतालले ३५ दिने सूचना ६ पटक निकाल्दासमेत सटर खाली गर्न अटेर गरिएको थियो । पछिल्लोपटक निकालिएको पाँचदिने सूचनाको पनि गत २५ पुसमा म्याद सकिएको थियो ।

अस्पताल हाताभित्र नारायणी फार्मेसी, सुरभी मेडिकल हल, अर्याल मेडिकल, हाम्रो मेडिकल, श्रेष्ठ मेडिकल, रोशन फार्मेसी, शुभम् मेडिकल, प्रभात मेडिकल, आफताब मेडिकल सञ्चालनमा छन् । त्यस्तै कृष्ण कोल्ड स्टोर, गुप्ता होटेललगायत अन्य किराना पसल र साना होटेल सञ्चालनमा छन् ।

अस्पताल हाताभित्र रहेका औषधि पसलले मासिक दुई हजारदेखि २० हजारसम्म भाडा तिर्ने गरेको लेखा शाखाले जनाएको छ । पछिल्लोपटक स्वास्थ्य मन्त्रालयले नाउक्षे अस्पतालभित्र रहेका औषधि पसलहरू हटाउन निर्देशन दिएको थियो । अस्पतालले आफ्नै औषधि पसलसमेत स्थापना गरेर सेवा सुरु गरिसकेको छ ।

०७० सालदेखि नै अस्पतालले सम्झौता नवीकरण नगरी सटर खाली गराउने प्रयास गरे पनि औषधि व्यवसायीहरूले राजनीतिक दबाब दिनुका साथै अदालतमा मुद्दा दर्ता गरेर रोक्दै आएका थिए । त्यतिखेर अस्पतालले सटर भाडामा लगाउन टेन्डर लगएपछि औषधि व्यवसायीहरूले वीरगन्जका सबै औषधि पसल बन्द गरेर आन्दोलन गरेका थिए ।

अस्पतालमा आफ्नै औषधि पसल सञ्चालनमा आइसकेको अवस्थामा त्यसलाई व्यवस्थित र परिणाममुखी बनाउन अस्पताल हाताभित्र रहेका औषधि पसल हटाउनु स्वाभाविक भएको अस्पताल प्रशासनको तर्क छ । अस्पताल विकास समितिका अध्यक्ष विनोद गुप्ताले अस्पतालको आग्रहमा प्रशासनले सटरमा सिल लगाएको जानकारी दिए ।

हामीले सटर खाली गर्न पटक–पटक आग्रह गरेका हौँ, सटरमा व्यवसाय सञ्चालन गर्दै आएकाहरूले अटेर गर्दैै आउनुभएको थियो,’ उनले भने, ‘अस्पताल प्रशासनले दिएको पछिल्लो म्याद सकिसक्दा पनि व्यवसायीहरूले सटर खाली गरिदिएनन्, हामी प्रशासनको सहयोग माग्न बाध्य भयौँ ।’

अस्पताल विकास समितिका अध्यक्ष गुप्ताले अब प्रशासनको अगुवाइमा सटर खाली हुने विश्वास व्यक्त गरे । ‘अस्पतालमा हाल ओपिडी सञ्चालनमा रहेको भवन भत्काएर नयाँ भवन बनाउने तयारी भइरहेको छ । त्यसपछि ओपिडी सेवा सञ्चालनमा समस्या आउँछ,’ उनले भने, ‘त्योभन्दा अगाडि सटर खाली भएको खण्डमा सडकपट्टिको भागमा पर्खाल लगाएर भित्रपट्टि सटर निकालेर ओपिडी त्यसैमा सञ्चालन गर्ने सोच हामीले बनाएका छौँ ।’

पर्सा, बारा, रौतहटलगायत आसपासका क्षेत्रबाट सयौँ बिरामी उपचारका लागि आउने अस्पतालको परिसरमा रहेका औषधि पसल बन्द हुँदा सेवाग्राही भने मर्कामा परिरहेका छन् । तर, अस्पताल प्रशासनले भने अस्पतालको औषधि पसलमा बिस्तारै आवश्यक औषधिहरूको बन्दोबस्त गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया