आप्रवासीविरुद्ध ट्रम्पले प्रयोग गरे अपमानजनक भाषा - Naya Patrika
eNaya Patrika
  • ePaper

आप्रवासीविरुद्ध ट्रम्पले प्रयोग गरे अपमानजनक भाषा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीविरुद्ध अपमानजनक भाषा प्रयोग गरेका छन् । दुई दलीय सहमतिका आधारमा ल्याइएको आप्रवाससम्बन्धी एउटा सम्झौताको प्रस्ताव खारेज गर्ने क्रममा ट्रम्पले अफ्रिकी देशहरूविरुद्ध अपमानजनक भाषा प्रयोग गरेका हुन् ।

ट्रम्पले खराब देशका नागरिकलाई अमेरिका ल्याउन नहुने बताएका छन् । ट्रम्पको अभिव्यक्ति हैटी, एलसाल्भाडोर र अफ्रिकी देशहरूप्रति लक्षित भएको वासिङ्गटन पोस्टले जनाएको छ । ट्रम्पले अफ्रिकाबाहेक अन्य मुलुकका नागरिकहरूलाई तुच्छ ढंगले टिप्पणी गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ट्रम्पको अभिव्यक्तिको बचाउ
ट्रम्पको टिप्पणीबारे ह्वाइटहाउसले बचाउ गरेको छ । ‘वासिङटनका निश्चित राजनीतिज्ञ विदेशी मुलुकहरूविरुद्ध लड्न खोज्छन्, तर राष्ट्रपति ट्रम्प अमेरिकी नागरिकहरूको रक्षा गर्न चाहन्छन्,’ ह्वाइटहाउसका प्रवक्ता राज साहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

मिहिनेती अमेरिकीको जीवनलाई जोखिम पार्ने अस्थायी, कमजोर र खतरनाक कदमलाई ट्रम्पले जहिले पनि अस्वीकार गर्नेसमेत ह्वाइटहाउसले जनाएको छ । ‘गैरकानुनी ढंगले सुन्दर जीवनको खोजीमा अमेरिका बस्न आउने जुनसुकै देशका नागरिकहरूलाई ट्रम्प प्रशासनले रोक लगाउनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

नर्वेकालाई प्राथमिकता
डेमोक्र्याटिक सिनेटर रिचार्ड डर्विनले प्राकृतिक विपत्ति, युद्ध, महामारीबाट प्रभावित देशका नागरिकलाई अस्थायी रूपमा अमेरिकामा बसोवासका लागि अनुमति दिने विषयमा ट्रम्पसँग छलफल गरेका थिए । वासिङटनपोस्टका अनुसार ट्रम्पले त्यस्ता देशका मानिसलाई भन्दा नर्वेजस्ता मुलुकका आप्रवासीलाई अमेरिका बस्न अनुमति दिन सकिने बताएका थिए ।

नर्वेका प्रधानमन्त्रीले दुई दिनअघि राष्ट्रपति ट्रम्पलाई ह्वाइटहाउसमा भेट गरेका थिए । तीन साताअघि सांसदहरूसँग भएको आप्रवाससम्बन्धी बैठकमा राष्ट्रपति ट्रम्पले हैटीका अधिकांश मानिस एचआइभी पीडित भएको भन्दै उनीहरूलाई अमेरिका प्रवेशमा रोक लगाइनुपर्ने बताएका थिए ।

राष्ट्रपतिको अभिव्यक्तिको निन्दा
राष्ट्रपति ट्रम्पको अभिव्यक्तिको डेमोक्र्याटिक र केही रिपब्लिकन सांसदहरूले आपत्ति जनाएका छन् । ‘राष्ट्रपतिको अक्षम्य अभिव्यक्तिको म निन्दा गर्छु,’ डेमोक्र्याटिक सांसद इलिजाह कमिङले भनिन् ।

अर्का अश्वेत डेमोक्र्याटिक सांसद सेड्री रिचमोन्डले पनि ट्रम्पको भनाइको निन्दा गरेकी छिन् । राष्ट्रपतिको पछिल्लो अभिव्यक्तिले अमेरिकाका श्वेतका एजेन्डालाई फेरि महान् बनाऔँ भन्ने पुष्टि भएको उनले बताइन् । हैटी मूलका रिपब्लिकनका सांसद मिअ लभले ट्रम्पले अशिष्ट, विभाजनकारी र घृणाजनक टिप्पणीप्रति क्षमा माग्नुपर्ने बताए ।

नेसनल एसोसिएसन फर एड्भान्समेन्ट अफ कर्लड पिपुल (एनएएसिपी)ले ट्रम्प जातिवादको गहिरो खाडलमा भासिएको जनाएको छ । तर, ह्वाइटहाउसले भने ट्रम्पको भनाइको बचाउ गर्दै आलोचनाको विरोध गरेको छ ।

अस्थायी अनुमति सुविधा खारेज
ट्रम्पसँगको भेटमा सांसदहरूले निश्चित देशलाई अस्थायी संरक्षण सुविधा (टिपिएस)को अनुमति दिन माग गरेका थिए । यसै सता ट्रम्प प्रशासनले एलसाल्भाडोरका दुई लाख मानिसलाई दिँदै आएको अस्थायी संरक्षण फिर्ता लिएको घोषणा गरेको थियो ।

ट्रम्पको निर्णयसँगै तीन दशकदेखि अमेरिका बसोवास गर्दै आएका एलसाल्भाडोरका मानिसलाई अर्को वर्ष अमेरिका छोड्न वा कानुनी रूपमा बसोवास गर्ने बाटो खोजी गर्न वा जबर्जस्ती देश निकालाको सामना गर्न बाध्य हुनेछ । सन् १९९१ मा गएको विध्वंसकारी भूकम्पपछि मध्य अमेरिकी मुलुक एलसाल्भाडोरका दुई लाख मानिसलाई अमेरिकाले अस्थायी बसोवास अनुमति दिएको थियो ।

तर, भूकम्पले क्षतिग्रस्त बनाएका संरचनाहरूको पुनर्निर्माण भइसकेको अमेरिकी विदेश मन्त्रालयले सोमबार जनाएको थियो । अमेरिकाले हैटी र निकारागुएसका नागरिकहरूलाई दिँदै आएको अस्थायी अनुमति फिर्ता गरिसकेको छ । ट्रम्प प्रशासनको निणर्यसँगै अफ्रिकी मुलुकका दसाँै हजार आप्रवासीलाई अमेरिकाबाट देश निकाला गर्ने सम्भावना बढेको छ ।

‘आप्रवासीबारे ट्रम्पको टिप्पणी लज्जास्पद’
जेनेभा÷ संयुक्त राष्ट्रसंघको मानवअधिकारसम्बन्धी उच्च आयोग (युएनएचसिआर) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाइटी तथा अफ्रिककाबाट अमेरिका जाने आप्रवासीबारे व्यक्त गरेका टिप्पणीलाई ‘लज्जाजनक’ तथा ‘जातिवादी’ भएको बताएको छ ।

युएनएचसिआरका प्रवक्ता रुपट कोलभिलले भने, ‘ट्रम्पको आप्रवासीबारे आएको धारणा लज्जाजनक र दुःखद हो ।’ ट्रम्पका अभिव्यक्ति जातिवादी भएको उनले बताए । कसैले पनि कुनै देश वा महादेशको सम्पूर्ण जनसंख्या गोरा जातिको मात्र नभएकाले र उनीहरूलाई कुनै निश्चित देशमा निन्दा गर्न नमिल्ने कोलभिलले बताए । ट्रम्पको टिप्पणीलाई लिएर अफ्रिकी देशका नागरिकले आपत्ति जनाएका छन् । अमेरिकाले हाइटी तथा विभिन्न अफ्रिकी मुलुकबारे चासो लिन आवश्यक नभएको बताएका थिए ।

तपाईको प्रतिक्रिया