इन्जिनियर नहुँदा पुनर्निर्माणले गति लिएन - Naya Patrika
eNaya Patrika
  • ePaper

इन्जिनियर नहुँदा पुनर्निर्माणले गति लिएन

राज्यको नीतिका कारण समस्या : नगर प्रमुख

सरकारको नीतिका कारणका सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाभित्र पुनर्निर्माणको काम समस्यामा परेको छ । नगरपालिकामा भएका इन्जिनियरले राजीनामा दिएर गएपछि यस्तो समस्या आएको हो ।

नयाँ इन्जिनियर सरकारले नपठाउने र स्थानीय तहलाई भर्ना गर्न पनि नदिने नीतिका कारण नगरको पुनर्निर्माण अभियान समस्यामा परेको कमलामाई नगरपालिका कार्यालय सिन्धुलीका प्रमुख खड्गबहादुर खत्रीले बताए । प्राविधिकहरू नहुँदा पुनर्निर्माणमा लागेका भूकम्पपीडित समस्यामा परेका छन् ।

सडक निर्माणले थप जटिलता
जिल्लाको मध्यभागबाट निर्माण भएको बिपी राजमार्ग र निर्माणाधीन अवस्थामा रहेको हेटौँडा–चतारा राजमार्गले अधिग्रहण गर्ने जग्गाको विषयले गर्दा पनि कमलामाई नगरपालिका क्षेत्रमा बसोवास गर्ने आधा जनसंख्याले पुनर्निर्माण गर्न नसक्ने अवस्था रहेको प्रमुख खत्रीले बताए ।

राजमार्गले अधिग्रहण गर्ने जमिनको विषयमा निक्र्योल नभएसम्म कमलामाई नगरपालिकाले व्यक्तिगत आवास निर्माणमा गति लिन नसक्ने उनको भनाइ छ । एक दिनमा हुने नक्सापास गर्न अहिले करिब एक हप्ता लाग्ने गरेको सेवाग्राही राजेन्द्र खतिवडाले बताए ।

नगरपालिकामा भएका इन्जिनियरले राजीनामा दिएपछि समस्या

सरकारको दोहोरो चरित्र
सरकारले पुस मसान्तभित्र व्यक्तिगत आवास निर्माणका लागि अनिवार्य रूपमा दोस्रो किस्ता लिइसक्नुपर्ने बाध्यात्मक अवस्था गरेको छ । तर, नगरपालिकामा प्राविधिक नहुँदा पुनर्निर्माणका लागि नक्सा पास गर्न आउनेको नक्सापास समयमा हुन सकेको छैन ।

‘जनप्रतिनिधि आएपछि नगरपालिकाबाट छिटो छरितो सेवा पाइन्छ भन्ने आशा र भरोसाका साथ नगरवासी आउँछन्,’ प्रमुख खत्रीले भने, ‘राज्यको नीतिका कारण सेवा दिन नसक्दा हामीलाई पीडितको भन्दा बढी पीडा भएको छ ।’

नगरपालिका कार्यालयसँग प्राविधिक नभएपछि भवन डिभिजन कार्यालयसँग समन्वय गरेर केही इन्जिनियर ल्याएर अहिले नक्सापासको काम भइरहेको खत्रीले बताए । ‘भवन डिभिजन कार्यालयका प्रमुखदेखि गुहार्नुपर्ने सबै निकायलाई गुहारेर दुई इन्जिनियर ल्याएर नमस्कार गर्दै काम गर्न लगाएको छु, हेरौँ कति दिनसम्म यसरी चल्ने हो ?’ खत्रीले भने, ‘इन्जिनियर भर्ना गर्छु भन्दा अहिले भर्ना गर्न पाइँदैन भन्छन्, पठाइदेऊ न त भन्दा पठाउँदैनन्, पुनर्निर्माण अन्योलमा छ ।’

यही अवस्था रहेमा पुस मसान्तभित्र जिल्लामा पुनर्निर्माण अभियानअन्र्तगत दोस्रो किस्ता लिनेको संख्या २० प्रतिशत पनि नपुग्ने उनले बताए ।

तपाईको प्रतिक्रिया