शीतलहर प्रभावितलाई धुर्मुसको राहत - Naya Patrika
eNaya Patrika
  • ePaper

शीतलहर प्रभावितलाई धुर्मुसको राहत

शीतलहरबाट बालबालिका, वृद्ध तथा दैनिक ज्यालादारी गर्नेहरू अत्यधिक प्रभावित भएका छन् । विभिन्न नगर तथा ग्रामीण भेगमा गत सातादेखि बढेको चिसोले एकको मृत्यु भएको छ ।

महोत्तरीको शीतलहर प्रभावितलाई धुर्मुस–सुन्तली फाउन्डेसन, सामी परियोजना र अन्य विभिन्न संस्थाबाट राहतस्वरूप कम्बल वितरण गरिएको छ । सीताराम कट्टेल ‘धुर्मुस’ले महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं. ९ मुसहर बस्तीमा आफैँ पुगेर तीन सय थान कम्बल वितरण गरे ।

त्यस्तै, सञ्चारकर्मी दीपक पाण्डेयको सहयोगमा एकडारा गाउँपालिकाका विभिन्न स्थानमा कम्बल वितरण गर्न लगाएका छन् । सञ्चारकर्मी पाण्डेयले बस्ती वा वडामा नभई बाटो हिँड्ने, साधुसन्त, अशक्तलगायतका शीतलहर प्रभावितलाई खोजीखोजी कम्बल वितरण गरेका छन् । त्यस्तै, उनले एकडारा गाउँपालिकाकै विभिन्न चोकमा आगो र न्यानोको व्यवस्था गरेका छन् ।

यता, सामी परियोजनाले जलेश्वर नगरपालिका वडा नं. ९ फुल्हट्टा प्रकौलीमा प्रजिअ बाबुराम श्रेष्ठ तथा सुरक्षा निकायका अधिकारीबाट राहतस्वरूप तीन सय थान कम्बल वितरण गरेको छ । जिल्लाका अधिकांश स्थानमा शीतलहर प्रभावितहरू चिसोले कठ्यांग्रिरहेको वेला धुर्मुस र अन्य संघसंस्थाबाट वितरण गरिएको कम्बलले थोरै भए पनि न्यानोको अनुभूति गराएको छ ।

प्रजिअ श्रेष्ठले जिल्लाको कुनै पनि स्थानमा राहत वितरण गर्दा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्न अनुरोध गरेका छन् । राहत नदोहोरियोस् र प्रभावितहरूले न्यानो पाऊन् भन्नका लागि यस्तो आग्रह गरिएको उनले बताए ।

त्यस्तै, प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेल र शैलेन्द्र यादवले समेत विभिन्न स्थानमा राहतस्वरूप कम्बल वितरण गरेका छन् । आफ्नो क्षेत्रमा शीतलहरको प्रभावले जनता कठ्यांग्रिन थालेपछि उनीहरूले कम्बल वितरण गरेका हुन् ।

यस्तो छ अवस्था
जिल्लामा शीतलहरबाट बालबालिका, वृद्ध तथा दैनिक ज्यालादारी गर्नेहरू अत्यधिक प्रभावित भएका छन् । विभिन्न नगर तथा ग्रामीण भेगमा गत सातादेखि बढेको चिसोले दैनिक ज्यालादारी गर्ने, स्कुले बालबालिका तथा वृद्धहरू अत्यधिक प्रभावित भए पनि अझै उनीहरूले राहतको नाममा केही पाउन सकेका छैनन् ।

हालसम्म केही स्थानमा राहतस्वरूप कम्बल बाँडिए पनि सो अपुग छ । यता नेपाली सेना, सशस्त्र प्रहरीहरूले समेत विभिन्न स्थानमा आगो बाल्ने र चियाको व्यवस्था गर्दै आएको छ । महोत्तरीमा चिसोकै कारण एकजनाको मुत्यु भएको पुष्टि भएपछि स्थानीय निकायहरूसमेत न्यानो बाँड्ने कार्यमा गम्भीर देखिएका छन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासमेत दाउरालगायतको बन्दोबस्त गर्नमा व्यस्त देखिएका छन् । जिल्लामा झन्डै तीन लाख जनसंख्या छ ।

तपाईको प्रतिक्रिया