कास्की फुटबलमा विवाद - Naya Patrika
eNaya Patrika
  • ePaper

कास्की फुटबलमा विवाद

नियमसंगत नचले रंगशाला प्रयोग गर्न नदिने कास्की जिल्ला खेलकुद विकास समितिको चेतावनी

कास्की फुटबल संघका केही पदाधिकारीले लाखौँ ऋण नतिरी भागेको र जिम्मेवारी नलिएको एन्फा कास्कीका उपाध्यक्ष मिलन गुरुङले खुलासा गरेका छन् । गुरुङले समितिमा बस्न तँछाडमछाड गर्नेहरूले संघलाई ऋण बोकाएर भागेको आरोप लगाएका हुन् ।

नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले शुक्रबार ‘कास्की फुटबल विकासमा हाम्रो भूमिका’ शीर्षकमा आयोजना गरेको अन्तरक्रियामा गुरुङले भने, ‘समितिमा बस्न तँछाडमछाड हुने तर ऋण लागेपछि भाग्ने, जिम्मेवारी सबैले लिनुपर्छ, ऋण सबैले दामासाहीले तिर्नुपर्छ ।’

संघ ऋणमा चुर्लुम्म
ऋणले चुर्लुम्म डुबेर संघ हाल निष्क्रिय अवस्थामा पुगेको छ । अन्तरक्रियामा आर्थिक पारदर्शिताको विषयलाई लिएर धेरै पक्षहरू बाहिर आएका छन् । एन्फा कास्कीका अध्यक्ष धरम लामिछानेको अनुपस्थितिमा संघको प्रतिनिधित्व गर्दै उपाध्यक्ष गुरुङले मनकामना केबुलकार पोखरा कप गर्दा सात लाख १० हजार घाटा र पाँच लाखजति ऋण लागेको जानकारी दिएका छन् ।

‘प्रतियोगिता गर्दा नाफा भए मेरो भन्ने तर घाटा लागे भाग्ने साथीहरूको कस्तो नियत हो ?’ गुरुङको प्रश्न रह्यो, ‘एन्फामा आबद्ध १८ क्लबले यसको दायित्व लिनुपर्छ, कसैले नलिए आफू व्यक्तिगत रूपमा सो रकम तिर्छु, नयाँ कार्यसमितिलाई ऋणको भारी बोकाउँदिन ।’

अधिवेशन २ माघमा
एन्फा कास्कीको अधिवेशन आउँदो २ माघमा गर्ने निर्णय भएको छ । निर्वाचित पदाधिकारीहरू समस्यादेखि डराएर भागे पनि आफूले यहाँसम्म संघलाई ल्याएको दाबी गुरुङले गरेका छन् । यसअघि ०७० को अधिवेशनमा निर्विरोध अध्यक्ष भएका गोपीबहादुर भट्टराई, महासचिव राजन पौडेल, सचिव ओम बस्नेत, कोषाध्यक्ष शुक गुरुङसँगै सात जनाले डेढ वर्षभित्र राजीनामा दिएपछि एन्फा कास्कीले विशेष अधिवेशन नगरेको गुरुङको आरोप छ ।

रंगशाला प्रयोग गर्न नदिने
कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङले अडिट रिपोर्ट, वार्षिक आर्थिक कारोबार नआउँदा र अधिवेशनलाई एन्फाले मान्यता नदिँदा आफूहरूले रंगशालासमेत प्रयोग गर्न नदिने बताएका छन् । गुरुङका अनुसार कास्कीमा ८५ वटा खेल संस्था दर्ता छन् । त्यसमध्ये २५ वटाजति मात्र सक्रिय छन् ।

निष्क्रिय संस्थाले केन्द्रीय प्रतिनिधि चुन्नका लागि मात्र चुनाव गर्ने उनको भनाइ छ । ‘यहाँ केन्द्रीय प्रतिनिधि चुन्न र अध्यक्ष बन्न मात्र चुनाव गर्ने गरिन्छ,’ अध्यक्ष गुरुङले भने ।

तपाईको प्रतिक्रिया