प्रतिभा क्यामेरा र सम्पादनमा अनवरत मानबहादुर - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रतिभा क्यामेरा र सम्पादनमा अनवरत मानबहादुर

मानबहादुर थापा भिजुअल एडिटर र क्यामेराम्यानका रूपमा सक्रिय छन् । खोटाङ दिक्तेलमा जन्मिएका मानबहादुरले सन् १९७८ मै इन्डोर–आउटडोर फोटोग्राफी तथा सन् १९९० मा भिडियो प्रोडक्सनको ट्रेनिङ लिएका थिए । सन् २००० मा प्रिमियर ननलिनियर भिडियो एडिटिङको तीनमहिने कोर्स गरेका थापा त्यसपछि निरन्तर यही कर्ममा लागिरहे ।

नेपाल आर्मीमा कार्यरत रहँदा उनले १३ वर्षसम्म नेपाल आर्मीको अडियो–भिजुअल डिपार्टमेन्टमा रहेर काम गरे । उनले त्यहाँ थुप्रै कार्यक्रम, वृत्तचित्र, डकुड्रामा तथा टेलिफिल्म खिचे, सम्पादन गरे । आर्मीको चर्चित टेलिफिल्म माटोले माग्दैन, आफैँ दिनुपर्छका क्यामेराम्यान तथा एडिटर मानबहादुरले भिभिआइपी तथा भिआइपी भ्रमण, प्राकृतिक प्रकोपमा आर्मीले गरेका उद्धारलगायत थुप्रै घटना छायांकन तथा सम्पादन गरेका छन् । क्यामेरा, भिजुअल सम्पादन तथा मिडिया प्रोडक्सनको प्रशिक्षक भएरसमेत थुप्रैलाई प्रशिक्षण दिएका मानबहादुरले आर्मीबाहिर पनि आफ्नो सीपको प्रचुर मात्रामा प्रयोग गरेका छन् ।

‘नेपाल आर्मीमा कार्यरत रहँदा भिभिआइपी, भिआइपी सवारीका फोटा, भिडियो सबै खिच्ने, सम्पादन गर्ने जिम्मा मेरो थियो,’ हाल ‘रिटायर्ड लाइफ’ बिताइरहेका मानबहादुर भन्छन्, ‘मिडिया प्रोडक्सन तथा अडियो–भिजुअलबारे धेरै ठाउँमा धेरैलाई प्रशिक्षण दिएँ । आफूले जानेको सिप मैले अरूमा पनि फैलाएको छु ।’

उनले नेपाल टेलिभिजनबाट प्रसारण भएको एक सय २० भाग लामो हाम्रो जिल्ला, हाम्रो नगर नामक कार्यक्रमको सम्पादन तथा ग्राफिक्ससमेत गरेका थिए । टेलिभिजन विज्ञापन पनि प्रचुर मात्रामा खिचेका उनले ७२ भाग लामो हामी र हाम्रो संविधान नामक टेलिभिजन कार्यक्रमको समेत सम्पादन र ग्राफिक्स गरेका थिए । हाल उनी बिपीको राजद्रोह नामक डकुमेन्ट्री फिल्मको सम्पादनमा व्यस्त छन् ।

विभिन्न विषयमा बनेका सयभन्दा बढी डकुमेन्ट्री, डकुड्रामा, टेलिफिल्म तथा टेलिसिरियलको छायांकन, सम्पादन र ग्राफिक्स गरेका उनले फिचर फिल्ममा पनि काम गरेका छन् । आकाश अधिकारी निर्देशित क्रोध फिल्म तथा सनसाइन नामक डकुमेन्ट्रीको सम्पादन तथा प्रोमो निर्माण गरेका उनले सवीर श्रेष्ठ निर्देशित जीवरक्षा नामक सामुदायिक स्वास्थ्यसम्बन्धी टेलिफिल्मको सहसम्पादन गरेका थिए ।

त्यसैगरी उनले लव प्याकुरेलको पञ्चायतको घाउ, जर्साबको अपराध, पुकार भट्टराईको देवासरी, सन्तानलगायत फिल्म तथा टेलिफिल्म सम्पादन गरेका छन् । उनले सम्पादन गरेको कथा नालापानीको नामक वृत्तचित्रले एभिएसन म्युजियम काठमाडौंमा उत्कृष्ट सम्पादनको अवार्ड प्राप्त गरेको थियो । त्यसैगरी, उनले सन् २००६ मा सम्पन्न न्युयोर्क इन्टरनेसनल इन्डिपेन्डेन्ट फिल्म एन्ड फेस्टिबलमा फिलिङ्स अफ ड्रप्सबाट उत्कृष्ट छायाकारको अवार्ड जितेका थिए ।

देशविदेशमा भएका वृत्तचित्र, सर्ट फिल्म तथा टेलिफिल्मबाट थुप्रै अवार्ड तथा सम्मान प्राप्त गरेका मानबहादुर बाँकी जीवन पनि यही कार्यमा व्यतीत गर्ने बताउँछन् । नेपाल आर्मीका अवकाशप्राप्त प्राविधिक सुबेदार मानबहादुर आफूलाई भिडियो सम्पादन तथा छायांकनमा भ्याइनभ्याई भइरहेको बताउँछन् ।

तपाईको प्रतिक्रिया