सानदार जितका साथ बार्सिलोना क्वार्टरफाइनलमा - Naya Patrika
eNaya Patrika
  • ePaper

सानदार जितका साथ बार्सिलोना क्वार्टरफाइनलमा

लियोनेल मेसीले १५ मिनेटभित्र २ गोल गरेपछि बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । कोपा डेलको दोस्रो लेगमा सेल्टाभिगोलाई ५–० ले पराजित गर्दै समग्रमा ६–१ को नतिजाका साथ बार्सिलोनाले अन्तिम आठको स्थान बनाएको हो । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना पहिलो लेगमा १–१ को बराबरीपछि दोस्रो लेगमा जित निकाल्नैपर्ने दबाबमा थियो ।

मेसीका २ गोल १५ मिनेटमा
दबाबमा रहेको बार्सिलोनालाई अर्जेन्टिनी प्लेमेकर मेसीले १५ मिनेटभित्रै २ गोल गर्दै अग्रता दिलाए । त्यसपछि बार्सिलोना सेल्टाभिगोमाथि हाबी भयो । १३औँ मिनेटमा जोर्डी अल्बाको क्रसमा मेसीले सुरुवाती अग्रता दिलाए । मेसीले १५औँ मिनेटमै फेरि एकपटक अल्बाकै क्रसलाई गोलमा परिणत गरेपछि बार्सिलोना २–० ले अगाडि रह्यो ।

पहिलो हाफमै ४ गोल
बार्सिलोनाले पहिलो हाफमै ४ गोल सम्भव बनाउने क्रममा अल्बा र राकेटिकले १–१ गोल गरे । अल्बाले मेसीको पासमा २८औँ मिनेटमा ३–० का लागि गोल गरे । चौथो गोल स्ट्राइकर लुइस सुआरेजको नाममा रह्यो । सुआरेजले खेलको ३१औँ मिनेटमा गोल गर्दै पहिलो हाफमै बार्सिलोनालाई ४–० को मजबुत अवस्थामा पुर्‍याए ।

मध्यान्तरपछि मेसी बाहिरिए
पहिलो हाफमा बार्सिलोना निकै बलियो अवस्थामा पुगेपछि मेसी मध्यान्तरपछि मैदानबाट बाहिरिए । खेलको ५९औँ मिनेटमा मेसीलाई ओस्मान डेम्बेलेले प्रतिस्थापन गरे । डेम्बेलेको क्रसमा इभान राकिटिकले ८७औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई ५–० को फराकिलो जित दिलाए । यसै साता रियल म्याड्रिडलाई बराबरीमा रोकेको सेल्टाभिगोले बार्सिलोनाविरुद्ध उत्कृष्ट खेल पस्कन सकेन ।

तपाईको प्रतिक्रिया