माघ ४ को सार्वजनिक बिदा फिर्ता लिन तामाङ समुदायको माग - Naya Patrika
eNaya Patrika
  • ePaper

माघ ४ को सार्वजनिक बिदा फिर्ता लिन तामाङ समुदायको माग

लमजुङका तामाङ समुदायले माघ ४ को सार्वजानिक बिदा फिर्ता लिन माग गरेका छन् । बिहीबार नेपाल तामाङ घेदुङ जिल्ला कार्यकारिणी समिती लमजुङले बेसिशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो कुरा बताएको हो ।

फागुन ४ गते सोनाम ल्होसार पर्ने भएकाले उक्त समयमा सरकारले माघ ४ गते दिएको बिदा फिर्ता लिन तामाङ समुदायले माग गरेका हुन् । तामाङ जातिले च्ह्या ल्हो (चरा वर्ग) को बिदाइ र खि ल्हो (कुकुर वर्गको) स्वागत गर्दै २८५४औँ सोनाम ल्होछार मनाउँदै छन् । ल्होसारका अवसरमा विभिन्न प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रम हुने नेपाल जनाइएको छ ।

मञ्जुश्री पात्रोअनुसार तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होसार माघ शुक्ल प्रतिपदा (फागुन ४ गते) पर्ने भन्दै माघ ४ गतेको सार्वजनिक बिदा फिर्ता लिन आग्रह गरेको हो । नेपाल तामाङ घेदुङ जिल्ला कार्यकारिणी समितीका अध्यक्ष अजय तामाङले नेपाली पात्रोमा गलत मितिमा सोनाम ल्होसार परेकोे बताए । उनले भने ‘फागुन ४ गते माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले एकआपसमा शुभकामना आदनप्रदान गरी मिठामिठा परिकार खाएर सोनाम ल्होसार मनाउनेछन् ।

फागुन ४ गते शेर्पा जातिले मनाउने ध्याल्पो ल्होसार परेको र उक्त दिन सार्वजनिक बिदा भएकाले अर्को बिदा दिनु आवश्यक नरहेको तामाङ समुदायको भनाई छ । तामाङ समुदायले वि.स नभई तिथीअनुसार ल्होसार मनाउने गरेको अध्यक्ष तामाङले बताए ।

तपाईको प्रतिक्रिया