रुपन्देहीलाई हराउँदै मनाङ सेमिफाइनलमा - Naya Patrika
eNaya Patrika
  • ePaper

रुपन्देहीलाई हराउँदै मनाङ सेमिफाइनलमा

धनगढीमा सञ्चालन भइरहेको खप्तड गोल्डकप प्रतियोगितामा साबिक विजेता मनाङ–मस्र्यांदी क्लबले रुपन्देही–११ लाई ४–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । शुक्रबार भएको खेलमा सेमिफाइनल प्रवेशका लागि महत्वपूर्ण भिडन्तमा मनाङ बाजी मार्न सफल भयो ।

मनाङ अन्तिम चारमा प्रवेश गरेसँगै प्रतियोेगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि नै आयोजक सुदूरपश्चिम–११, एपिएफ र त्रिभुवन आर्मी अन्तिम चारमा प्रवेश गरिसकेका छन् । अब फाइनल प्रवेशका लागि मनाङले चिरप्रतिद्वन्द्वी आर्मीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । आयोजक सुदूरपश्चिमले एपिएफको सामना गर्नेछ ।

मनाङको दबदबा
१९औँ मिनेटमा विदेशी खेलाडी भिक्टरको गोलबाट अग्रता लिएको मनाङले खेल अवधिभर नै रुपन्देहीलाई दबाबमा राख्यो । पहिलो हाफमा १ गोलमा रोकिए पनि दोस्रो हाफमा मनाङ अग्रता तेब्बर बनाउन सफल भयो ।

रुपन्देहीका छिरिङ गुरुङले मनाङलाई आत्मघाती गोल उपहार दिएपछि मनाङले खेलमा २–० को अग्रता बनायो । खेलको ८३औँ मिनेटमा मनाङले थप २ गोल गरेको थियो । ८३औँ मिनेटमा मनाङका विशाल राई र ८४औँ मिनेटमा विमल रानाले गोल गरेपछि मनाङ अन्तिम चारमा पुग्यो ।

राम्रो लयमा खेल्यौँ
मनाङका प्रशिक्षक हेमन्त आलेले आफ्ना खेलाडीले राम्रो लयमा खेलेका कारण जित सम्भव भएको बताए । आलेले भने, ‘हाम्रो टिमले राम्रो खेल्यो । पाएको मौकामा गोल गर्न सक्यौँ । रणनीतिमा सफल भएका कारण सहज जित निकाल्न सफल भयौँ ।’ त्यस्तै, रुपन्देही–११ का दिलीप क्षेत्रीले आफ्नै गल्तीका कारण टिमले बढी गोल खान पुगेको बताए ।

तपाईको प्रतिक्रिया