डेढ वर्षका लागि प्याक छु : आयुष रिजाल - Naya Patrika
eNaya Patrika
  • ePaper

डेढ वर्षका लागि प्याक छु : आयुष रिजाल

अभिनेता आयुष रिजाल झन्डै डेढ दशकदेखि फिल्मकर्ममा निरन्तर छन् । मोडल, क्यामेराम्यान हुँदै फिल्मका विविध पक्षसँग परिचित उनी ०६५ मा निर्माता छविराज ओझाको हिफाजत फिल्मबाट हिरो बनेका हुन् । डेब्यु फिल्मबाटै डेब्यु हिरोको अवार्ड जितेका आयुषले त्यसपछि म त छु नि तिम्रो, दिलमा सजाय तिमीलाई, म बिर्सूं कसरी, सौभाग्य, खुसी, सडक, जलजला, मेरो मनको साथी, पाप, मेरो देशलगायत दुई दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । हालै अमेरिकामा सम्पन्न दोस्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्डमा विशेष योगदान सम्मान प्राप्त गरेका उनी नेपालीका साथै भोजपुरी फिल्ममा समेत व्यस्त छन् । उनै आयुषसँग फिल्मी करिअरलगायत विषयमा नयाँ पत्रिकाका लक्ष्मण सुवेदीले गरेको कुराकानी–

आयुष रिजाल, अभिनेता

 

आयुषजी, के छ तपाईंको फिल्मी हालचाल ?
म व्यस्त नै छु । हालै राजु अधिकारीको तलास र बिबी फुँयालको कादम्बिनी गरी दुई नेपाली फिल्म साइन गरेको छु । तीबाहेक दुइटा भोजपुरी फिल्ममा अनुबन्धित छु । कादम्बिनी वास्तविक घटनाक्रममा आधारित फिल्म भएकाले त्यसका लागि विशेष तयारी चलिरहेको छ ।

भनेपछि तपाईंलाई भ्याइनभ्याई छ ?
त्यस्तै भन्नु पर्‍यो । सुटिङ गर्नुपर्ने चारवटा त फिल्म नै भए । यीबाहेक केही भिडियो तथा विज्ञापनका अफर छन् । तर, समय मिलाउनै गाह्रो भइरहेको छ । म अभिनीत ब्ल्याक फिल्मको हाल पोस्ट प्रोडक्सन भइरहेको छ । यस हिसाबले अबको झन्डै डेढ वर्षलाई म ‘प्याक’ छु ।

तपार्इंका केही फिल्म त प्रदर्शनमा आउन बाँकी नै छन् है ?
अँ, मेरा बोस, तृष्णा, ब्ल्याकलगायत फिल्म प्रदर्शन हुन बाँकी छन् । प्रदीप श्रेष्ठ निर्देशित बोस र तृष्णा निर्माण पूरा भएको धेरै भयो । तर, खोइ किन हो, रिलिज गरिएका छैनन् । ब्ल्याक भने केही समयपछि दर्शकमाझ आउने नै छ । एउटा जिम्मेवार कलाकारको हैसियतले मैले मेरोतर्फको काम–कतव्र्य पूर्ण रूपले निर्वाह गर्ने कोसिस गरेको छु । तर, कुनै–कुनै फिल्म समयमै दर्शकमाझ ल्याइँदैन, त्यसमा भने कताकता चित्त बुझ्दैन ।

नेपाली फिल्ममा व्यस्त भइरहँदै गर्दा तपार्इं भोजपुरी फिल्ममा पनि लाग्नुभयो, खास भोजपुरी मोह के हो ?
म यहाँ (नेपाली फिल्ममा) व्यस्तै थिएँ । सोही क्रममा कसोकसो मलाई भोजपुरी फिल्म शेरनीबाट अफर आयो । दर्शकले त्यो फिल्म र मेरो काम मन पराए । जसकारण मलाई निरन्तर नै भोजपुरी फिल्मका अफर आइरहे । मैले शेरनीपछि चण्डी, ए राजा लाइन पर आजा, तुम बिन, इन्साफकी देवीलगायत आधा दर्जन फिल्ममा अभिनय गरिसकेको छु ।

भोजपुरी फिल्मको आफ्नै दर्शक र बजार छ । भारतलगायत नेपालको तराई क्षेत्रमा भोजपुरी फिल्मले राम्रो व्यापार गर्ने गर्दछन् । नेपाली कलाकारले भोजपुरी फिल्ममार्फत आफ्नो कलाकारिताको दायरा बढाइरहेका छन् ।

नेपालीभन्दा भोजपुरीमा धेरै पारिश्रमिक पाइने भएकाले तपार्इं त्यता लालायित हुनु भएको हो ?
पहिलो कुरा त त्यो एउटा अवसर हो । अवसरको सदुपयोग किन नगर्ने भनेर भोजपुरी फिल्म खेलेको हुँ । स्वाभाविक रूपमा त्यहाँ अलि बढी पारिश्रमिक पाइन्छ । तर, पैसाकै लागि भोजपुरी फिल्म खेलेको भने होइन । काम गर्दै जाँदा सर्कल बन्दै गयो, अफर आउँदै गए । पारिश्रमिक पनि राम्रै पाउन थालेँ । मलाई त्यहाँ निर्माता, निर्देशक तथा दर्शकले सम्झन्छन् । त्यो पनि उपलब्धि हो नि ।

तपाईं प्रायः एक्सन फिल्ममा देखिनुहुन्छ, यो तपार्इंको रोजाइ हो या बाध्यता ?
होइन, मैले एक्सन मात्रै होइन, विविध भूमिका निर्वाह गरेको छु । ज्यानको हिसाबले मलाई एक्सन रोलमा धेरै खोजिने गरिएको भए पनि मैले गाउँले सोझो युवक, निर्दाेष प्रेमी, प्रहरी अधिकारी, क्रान्तिकारी योद्धालगायत फरक–फरक भूमिकामा अभिनय गर्ने मौका पाएको छु । म हरेक प्रकारका भूमिका निर्वाह गर्न चाहन्छु । एक्सन मात्रै मेरो रोजाइ होइन ।

अब तपार्इंलाई कस्तो भूमिका निर्वाह गर्ने मन छ ?
मैले नेपाली र भोजपुरी फिल्ममा अनेक भूमिका गरिसकेको छु । तर, अहिलेसम्म कमेडी रोल गर्न पाएको छैन । मलाई अब कमेडियनको भूमिका निर्वाह गर्ने इच्छा छ । मलाई पूर्ण विश्वास छ, म कमेडी पनि जमेर गर्न सक्छु ।

पछिल्लो समय धेरै कलाकार राजनीतिमा लागेका छन्, तपाईंको विचार के छ ?
कोही पनि नागरिक राजनीतिबाट टाढा रहन सक्दैन । फरक यत्ति हो, कतिले कुनै पार्टीविशेषको झन्डा बोकेका हुन्छन् त कतिले बोक्दैनन् । म लोकतान्त्रिक प्रजातन्त्रमा विश्वास गर्छु । मलाई राजनीतिमा गहिरो रुचि छ । हरेक घटनाक्रमको अध्ययन गर्छु । तर, म कुनै पार्टीमा लागेर नेता बन्ने धुनमा भने छैन । मेरो कर्म अभिनय हो, अभिनयमै रमाउन चाहन्छु ।

भनेपछि तपार्इंलाई दर्शकले कहिल्यै नेताका रूपमा देख्न पाउनेछैनन् ?
मेरो मुख्य पेसा कलाकारिता हो । म योबाटै बाँचेको छु । जे–जति गरेको छु, सबै कलाकारिताकै देन हो । त्यसैले म यसमै रम्न चाहन्छु । तर, म यो ठोकुवाचाहिँ गर्दिनँ कि कहिल्यै राजनीतिमा लाग्नेछैन । पछि गएर समाजसेवामा लाग्ने मेरो सोच छ । त्यो राजनीतिबाट पनि हुन सक्छ ।

तपाईं नेपाली फिल्म तथा कलाकारको भविष्य कस्तो देख्नुहुन्छ ?
नेपाली सिनेमा, कलाकारको भविष्य निकै उज्ज्वल छ । सूचना, प्रविधिका विविध अत्याधुनिक प्रविधिका कारण फिल्म विधा अझ मजबुत हुँदै गएको छ । पहिला फिल्मको आम्दानी हलबाट मात्रै हुन्थ्यो, अहिले विविध डिजिटल माध्यम आएका छन् । पहिला न्यून पारिश्रमिकमा काम गर्नुपर्दथ्यो, अहिले नेपाली कलाकारको पारिश्रमिक निकै राम्रो छ । बजार पनि निकै विस्तार भएको छ । देशमा मात्र सीमित कलाकारको क्रेज अहिले विश्वव्यापी भइरहेको छ । यो हामी सबैका लागि निकै खुसीको कुरा हो ।

अहिले फिल्म क्षेत्रमा नयाँ कलाकारको बाहुल्य देखिएको छ । पुराना कलाकार बिस्तारै ओझेल पर्दै गइरहेका छन्, तपार्इं के भन्नुहुन्छ ?
यो स्वाभाविक प्रक्रिया हो । सबै, सधैँ एउटै स्थानमा हुँदैनन् । बजार र समयले सबै कुराको निर्धारण गर्ने गर्दछ । एक समय अति व्यस्त केही सिनियर कलाकार अहिले फुर्सदिला हुुनुभएको छ । अहिले केही नयाँ कलाकार उदाउनुभएको छ । केही भने संघर्षमै हुनुहुन्छ । उद्योगले नयाँ कलाकार पाइरहेको छ, सोहीबमोजिम बजार पनि बढिरहेको छ । यो हामी सबैका लागि खुसीको कुरा हो ।

तपार्इंका समकक्षी केही अभिनेता, अभिनेत्री यो क्षेत्रबाट अलप नै भइसकेका छन्, तपार्इं भने डेढ वर्षलाई ‘प्याक’ छु भन्नुहुन्छ, खास कारण के हो जस्तो लाग्छ ?
यो सबै समय, परिस्थिति र आफ्नो सोचमा भर पर्ने कुरा हो । खासमा मैले डेब्युपछि अहिलेसम्म पछाडि फर्किएर हेर्नुपरेको छैन । निरन्तर फिल्ममै व्यस्त छु । यत्ति हो कि मैले यो कर्मलाई निरन्तरता दिइरहेको छु । जुन भूगोल, भाषाको फिल्म खेले पनि कलाकारिताबाट टाढा हुन सक्दिनँ।

तपाईको भविष्यको योजना के छन् ?
म फिल्मबाहेक अरू केही सोच्न सक्दिनँ । भविष्यमा पनि म कलाकारितामै लीन हुनेछु । अहिले अभिनयमा मात्रै छु, भविष्यमा फिल्म निर्माण र निर्देशनमा पनि पाइला बढाउने योजना मेरो छ ।

तपाईको प्रतिक्रिया