कथा : म अमेरिका आउँदिनँ एमी - Naya Patrika
eNaya Patrika
  • ePaper

कथा : म अमेरिका आउँदिनँ एमी

‘एमी मुगुटी’ एउटी हँसिली र फरासिली साथी थिई फेसबुकमा । उसको पुरानो घर हरारे । पछि साउथ अफ्रिका हुँदै अमेरिका पुगेकी थिई । रोबर्ट मुगाबेको शासनकालमा जिम्बाबेको अर्थतन्त्र कसरी ध्वस्त भयो भन्ने कुराको वर्णन ऊबाहेक सायदै कसैले गर्न सक्थ्यो मलाई । एकपटक बोलेपछि रोकिने नामै लिन्न । पहिला पहिला व्हाट्सएपमा आवाज पठाउँथी । मेरो यो स्टोरीलाइनको कन्सेप्ट तयार गरेपछि मैले नै उसलाई स्काइपमा कुरा गरौँ भनेर प्रस्ताव गरेँ । अनि निरन्तर संवाद चल्यो ।
उसले सुरुमै आफ्ना धेरै नेपाली साथी भएको बताएकी थिई । ऊ अमेरिकामा ग्रिन कार्ड एप्लाई गर्नका लागि आवश्यक कागजपत्र तयार गर्ने काम गर्छे । धेरै नेपालीको फाइल तयार गरेर युएससिआइएस (यु एस सिटिजन एन्ड इमिग्रेसन सर्भिस) पठाएकी छे उसले ।


एक दिन अचानक माओवादीबारे नेपालीमा गरिएको टिप्पणी पठाई । म दंगदास भएँ, ‘ओए, तिमीलाई नेपाली पनि पढ्न लेख्न आउँछ ?’ मेरो प्रश्नको उत्तर खित्का छाडेर हाँस्दा आँसु निस्केको इमोजीले टार्न खोज्दै थिई । ‘आइ एम सिरियस’ भनेपछि उसले भनी, ‘यो कपी पेस्ट हो, मलाई यसको अंग्रेजीमा ट्रान्सलेट गरेर पठाइदेऊ न प्लिज ।’ मैले नाइँ भनिनँ । त्यहाँ माओवादी जनयुद्धलाई गाली गरिएको थियो र सरकारलाई पनि । ‘तिमीसँग नेपालीहरूले ग्रिन कार्ड एप्लाई गर्दा उल्लेख गर्ने यस्ता अरू पनि कारण छन् भने पठाऊ न प्लिज ।’ मैले भद्र अनुरोध गरेँ । मलाई अरूकै आँखाबाट नेपालीलाई हेर्नु थियो । उसले ‘वेट’ भनिहाली ।

‘नेपालमा माओवादी द्वन्द्वले खर्बाैंको भौतिक क्षति गरेपछि ९० प्रतिशत सरकारी कर्मचारी घुस्याहा भए । आफ्नो पेट पाल्न र परिवारलाई पाल्न उनीहरूलाई सरकारले धेरै तलब दिन सकेन । सानातिना व्यापार चौपट भए । ठूला उद्योगहरूमा ताला लाग्यो । नेपालमा बस्ने जनतासँग बस्ने वास भए पनि जीवन बिताउन आवश्यक पैसाको अभाव हुन थाल्यो । म र मेरो परिवारले गर्ने गरेको कपडा व्यापार दिनानुदिन ओरालो लाग्दै गयो । बैंकमा जम्मा गरेको पैसा छिटै सकियो र ऋण थपिँदै गयो । नेपालमा सबै नेता भ्रष्टाचारी छन् । भारत र चीनले जे भन्यो, त्यो मान्छन् । जति पनि जनता नेपाल बसेका छन्, उनीहरू या त कुनै पार्टीमा लागेर भ्रष्टाचारको पैसाले जीवनयापन गरिरहेका छन्, या त घुस्याहा कर्मचारीका परिवार छन् । नेपालमा बस्न सक्ने कुनै वातावरण छैन । मान्छे दिनदिनै रोगले थलिएर मर्दै छन् । ०१५ को भूकम्पपछि त झन् बस्नै नहुने स्थिति बन्यो । यसकारण मैले अमेरिकाजस्तो शान्त, सम्पन्न र सुरक्षित ठाउँमा बस्नका लागि गरेको निवेदन स्वीकृत होस् ।’
‘नाम भन न, यस्तो लेख्ने को रैछ हामीले पनि थाहा पाऊँ,’ मैले राखेको जिज्ञासालाई उसले सिधै ‘नो’ भनेर टारिदिई । भनी, ‘तिमी मुडी पत्रकार हौ, जे पनि लेख्दिन सक्छौ, यहाँ मेरो बिजनेस धरापमा पर्छ ।’
‘इट्स ओके’ मैले भनेँ ।
‘बरु यसलाई पनि अंग्रेजीमा ट्रान्सलेट गर्देऊ न प्लिज ।’
उसले मलाई काम दिइरहेकी थिई या मैले उसलाई काम दिइरहेको थिएँ, म कन्फ्युज भएँ ।
‘तिमीलाई झुटो विवाह गरेर फसेका कैयौँ नेपालीहरूका बारेमा अझै थाहा छैन होला । अझ नेपाली वकिलहरूको कुरा भनिनसक्नु छ,’ हतार–हतार चाउचाउ उमाल्दै उसले भनी, ‘के गर्नु, समयमा नपुगे पार्लरबाट पनि निकाल्देली भन्ने पिर छ । एउटी काली थुसुल्ली छे केप टाउनकी, बोक्सिनी जस्ती ।’ म खित्का छाडेर हाँसेँ । ऊ हप्ताको तीन दिन पार्लरमा काम गर्छे । ऊ पार्लर गई ।
‘एमी, तिमीचाहिँ कसरी अमेरिका आयौ ?’ मलाई उसका बारेमा पनि केही जान्नु थियो ।
‘तिमीलाई थाहा छ, २००८ मा जिम्बावेको अर्थतन्त्र जम्मा १८ प्रतिशतमा खुम्चिएको थियो । तिमीले केही कुराको नाम लेऊ र त्यो जिम्बावेमा छ भनेर देखाइदिन सक्छु म, तर मुगाबेले त्यो कुरा जान्न सकेनन् । २००९ मा स्फीतिको दर कसैले कल्पना गर्न नसक्ने भयो । एक किलो चामलमा जति दाना हुन्छन्, त्यसका लागि त्यति नै जिम्बावियन डलर तिर्नुपर्ने जस्तो स्थिति भयो । त्यसपछि सरकारले हाम्रो मुद्दा खारेज गर्‍यो । अरू देशको मुद्दा चलाउन थाल्यो ।
त्यसपछि अक्टोबरको अन्त्यतिर मेरो बुबाको कृषि फार्म सरकारले कब्जा गर्‍यो र लामो समयसम्म मुआब्जा दिएन । त्यसपछि हाम्रो परिवार साउथ अफ्रिका आयो, हामी त्यहाँको शरणार्थीजस्तै भयौँ । मैले केपटाउनमा रेस्टुरेन्टमा काम गर्दागर्दै ब्वाइफ्रेन्डसँग बिहे गरेर यहाँ आएँ । अहिले ऊ मसँग छैन, तर उसकै कारणबाट मैले यहाँ बस्न कानुनी अनुमति पाएकी छु । ऊ मसँग डिभोर्स गरेर मेक्सिकन केटीसँग बस्न थालेको तीन वर्ष हुन लागिसक्यो ।’
‘सरी टु हियर अल दिस एमी, तर तिम्रो साहस अभूतपूर्व छ । तिमी जहाँ छ्यौ, त्यहाँ हुन योग्य छ्यौ,’ मैले उसलाई ढाडस दिएँ ।
‘यहाँ जिम्बाबियन कम्युनिटी छ । हामीले धेरैपटक जिम्बाबेको पुनरागमनबारे गफ गर्छाैं, योजना बनाउँछौँ । अहिले मुगाबेलाई सेनाले नजरबन्दमा राखेको छ भन्ने सुनिन्छ । म आशा गर्छु, कुनै राम्रो नेतृत्व आओस् र जिम्बाबेलाई फेरि जीवन र गति प्रदान गरोस्,’ उसको यो भनाइमा राष्ट्रभीक्त छचल्किइरहेको थियो ।
‘एमी, मलाई एउटा कुरा भन, तिमी नेपालीहरूले देश छाड्नुपर्दा देखाएको कारणमा सहमत छ्यौ कि नाइँ ?”
‘तिमीलाई नराम्रो लाग्ला, तर मैले यहाँ धेरै जिम्बाबियनहरूको केस पनि हेर्ने गर्छु । मैले जानेअनुसार नेपालभन्दा धेरै ठूलो क्याटास्ट्रोफी व्यहोरेको देश हो जिम्बाबे । यहाँ हामी हाम्रो देशको बारेमा नकारात्मक धारणा जे–जति बन्यो, त्योभन्दा बढी नहोस् भन्नेमा सजग छौँ । मैले कुनै पनि जिम्बाबियनको कागजपत्र हेर्दा आफ्नो देशलाई गाली–बेइज्जत गरेको पाएँ भने आफैँ सम्पादन गरेर तर्कपूर्ण कारण पेस गर्छु ।’
‘वाउ, ग्रेट,’ मैले ग्लानिमिश्रित खुसीले निधार खुम्च्याएँ ।
ऊ थप्दै गई, ‘मैले यसबारे अरू देशका मान्छेलाई निर्देशन दिन मिल्दैन । सल्लाह सुझाब दिनलायक मान्छे धेरै आउँदैनन् । तर, अमेरिका धेरैको सपनाको संसार हो । आफ्नो सपना पूरा गर्न अयोग्य ठानिएको देशलाई जे भने पनि भनून्, आखिर व्यक्तिगत खुसी सर्वाेपरी रहेछ संसारमा ।’
‘तिमी दार्शनिक बन्ने भयौ,’ मैले जाडोले फुटेका मेरा ओठ तन्काएर उसका लागि मुस्कुराउने प्रयास गरेँ ।
‘तिमीलाई थाहा छ, जुन माओवादीको त्रास देखाएर नेपालीहरूले शरणार्थी बन्न मरिहत्ते गर्छन्, त्यो द्वन्द्व समाप्त भएर नेपाली राजनीतिले लोकतान्त्रिक गति लिएको दश वर्षभन्दा बढी भइसक्यो?’
‘थाहा छ डियर, तर यहाँ धरातल हेर्दैनन्, कागज हेर्छन्,’ उसले नेपालको शान्ति प्रक्रिया बुझेझैँ गरी तर म प्रस्ट छु, ऊ मात्र होइन, विश्वका धेरै देशका नागरिकलाई नेपालबारे थाहा छैन ।
‘मलाई अमेरिका नबोलाऊ एमी, बरु तिमी पनि जिम्बाबे फर्क,’ मैले भनेँ । उसले के सोची कुन्नि, लामो समयसम्म पनि उत्तर दिइन ।

‘बेसी हल्ला नगर, भन कहिले आउँछौ ?’ केही छिनपछि उसले यसरी सोधी मानौँ म केही समयका लागि मात्र उसलाई छाडेर कहीँ बाहिर गएको हुँ । ‘कसरी आउनु ? मेरो को छ र त्यहाँ ? अनि एउटा देशको नागरिक हुँदाहुँदै अर्काे देशमा शरणार्थी कसरी बनूँ ? त्यो पनि आफू जन्मेको भूमिलाई गाली गरेर,’ मैले उसलाई प्रश्नको फोहोरा हानेँ । तर, उसले दिने जवाफ मलाई थाहा थियो । म छु, तिमी जसरी नि एकपटक आउनुपर्छ भनेर भन्थी सधैँ । उही उत्तर दोहोर्‍याई, ‘म छु नि ।’

‘म आउने–नआउने कुराको निर्णय गर्ने काम भविष्यलाई छोडौँ, तर अहिले सानो स्टोरीलाइन लेख्छु है, तिम्रो नाममा ।’
‘बदमास, मलाई थाहा थियो, तिमी यस्तै छौ भनेर । जे सुकै गर ।’
(हाल : दुबई)

तपाईको प्रतिक्रिया