चमेलियाको विद्युत् राष्ट्रिय प्रसारणलाइनमा - Naya Patrika
eNaya Patrika
  • ePaper

चमेलियाको विद्युत् राष्ट्रिय प्रसारणलाइनमा

दार्चुला जिल्लामा निर्माण भएको चमेलिया जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । निर्माण सुरु भएको १० वर्षपछि शुक्रबार चमेलियाको विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको हो । दुईवटामध्ये एउटा युनिटबाट उत्पादित विद्युत् प्रसारणलाइनमा जोडिएको ऊर्जासचिव अनुपकुमार उपाध्यायले जानकारी दिए ।

परीक्षण उत्पादनमा रहेको यो आयोजनावाट ३० मेगावाट विद्युत् उत्पादन हुन्छ । प्रारम्भिक लोड परीक्षण गरिएको र अर्को सातासम्म विद्युत् उत्पादनमा कुनै अवरोध नआए प्रसारणलाइनमा निरन्तर पठाउन सकिने आयोजनाले जानकारी दिएको छ ।

त्यस्तै उत्पादित बिजुली प्रसारणलाइनमा जाँदा ७२ घन्टासम्म ‘रिलायबिलिटी टेस्ट’ गरिने र त्यसपछि मात्र स्थायी रूपमा राष्ट्रिय प्रसारणलाइनमा जोडिनेछ । यसरी पहिलो चरणमा एउटा युनिटको बिजुली पठाइसकेपछि दोस्रो युनिटबाट उत्पादन भएको बिजुली केही दिनमा पठाइनेछ ।

सन् २००७ मा सुरु भएको यो आयोजना २०११ मा सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, ५ वर्षअघि सुरुङ निर्माणमा समस्या आएपछि आयोजना अगाडि बढ्न सकेको थिएन । कुल ६ सय ११ मिटर सुरुङ खनेको समयमा २ सय ३२ मिटर भने खुम्चिएको थियो ।

तत्कालीन संसद्को सार्वजनिक लेखासमितिले भेरियसन मूल्यांकनमा भ्रष्टाचार भएको भन्दै बीचैमा काम रोक्न निर्देशन दिएको थियो । सन् २०१५ को फेब्रुअरी १० देखि बन्द भएको सुरुङ मर्मतको काम सन् २०१६ को सेप्टेम्बर २८ बाट मात्रै सुरु भएको थियो ।

ऊर्जा मन्त्रालयले गत २२ सेप्टेम्बरमा नयाँ कार्यसूची दिई सन् २०१७ को डिसेम्बरमा आयोजना सम्पन्न गर्न निर्देशन दिएको थियो । यो आयोजनाको कुल लागत अहिले १५ अर्ब ६ करोड रुपैयाँ पुगिसकेको छ ।

तपाईको प्रतिक्रिया