छिन्ताङमा मारिएकालाई ३७ वर्षपछि सहिद घोषणा - Naya Patrika
eNaya Patrika
  • ePaper

छिन्ताङमा मारिएकालाई ३७ वर्षपछि सहिद घोषणा

सरकारले ०३७ मा धनकुटाको छिन्ताङमा हत्या गरिएका १६ जनालाई सहिद घोषणा गरेको छ । प्रजातन्त्र हुँदै गणतन्त्र स्थापनामा उनीहरूको भूमिकाको सम्मान गर्दै हत्याकाण्डको ३७ वर्षपछि शुक्रबार सहिद घोषणा गरिएको हो ।

पञ्चायतकालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारले कम्युनिस्टविरुद्धको अप्रेसन सञ्चालन गर्दा तत्कालीन मालेका कार्यकर्ता भएको आरोपमा छिन्ताङमा १६ जनाको सामूहिक हत्या गरेको थियो । उक्त हत्याकाण्ड तत्कालीन प्रधानमन्त्री थापाको प्रत्यक्ष निर्देशनमा भएको आरोप लाग्दै आएको छ । लामो समयदेखि हत्याकाण्डमा मारिएकालाई सहिद घोषणा गर्न माग भए पनि सरकारले सम्बोधन गरेको थिएन ।

दलहरूको सहमतिमा प्रदेश प्रमुख
सरकारले एमाले–माओवादीसँगको परामर्शपछि मात्र प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम वा अस्थायी कार्यालय तोक्ने भएको छ । मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता मोहन बस्नेतले सर्वदलीय सहमतिका आधारमा आगामी प्रदेश प्रमुख र अस्थायी मुकामबारे निर्णय लिने निर्णय भएको बताए ।

वैशाखबाट आर्थिक गणना गर्ने
सरकारले ०७५ वैशाखबाट राष्ट्रिय आर्थिक गणना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले आगामी १ वैशाखबाट त्यस्तो गणना गर्ने निर्णय गरेको हो । पहिलोपटक राष्ट्रिय आर्थिक गणना हुन लागेको हो । तथ्यांक विभागले संकलन गर्ने गणनामा व्यक्ति, संस्थाको आर्थिक आर्जन, सेवा सञ्चालन, देशमा कस्ता–कस्ता व्यापार कुन स्थानमा छन्, कहाँ कस्तो प्रभाव छ भन्ने विवरण संकलन हुनेछ ।

एक सचिवको बढुवा
साथै बैठकले न्यायसेवातर्फका सहसचिव महेन्द्रनाथ उपाध्यायलाई सचिवमा बढुवा गरेको छ । उनलाई सर्वोच्च अदालतको रजिस्ट्रारमा पदस्थापन गरिएको हो । उनी यसअघि सर्वोच्च अदालतमै सहरजिस्ट्रार थिए ।

कर्मचारीलाई स्वेच्छिक अवकाश प्याकेज घोषणा
सरकारले समायोजन ऐनअनुसार स्वेच्छिक अवकाशमा जाने कर्मचारीका लागि सात वर्षबराबरको एकमुष्ट पेन्सन सुविधा दिने घोषणा गरेको छ । निजामती सेवामा २० वर्ष समय बिताएका र ५० वर्ष उमेर पुगेका कर्मचारीलाई सरकारले यस्तो सुविधा दिने भएको हो । मन्त्रिपरिषद् बैठकले समायोजन ऐनमा भएको व्यवस्थाअनुसार स्वेच्छिक अवकाशमा जाँदा सात वर्षको एकमुष्ट पेन्सन सुविधा दिने निर्णय गरेको हो ।

सहिद घोषणा गरिएकाहरू

-गोपालआनन्द राई

-गंगाबहादुर तुर्हाङ राई

-भैरवबहादुर खालिङ

-बलबहादुर खत्री

-पुत्रमान राई

-टंकबहादुर विश्वकर्मा

-रणध्वज पुमा राई

-गणेशबहादुर विश्वकर्मा

-हाङ्खिमा साइँली राई

-झगेन्द्र राई

-धनवीर दर्जी

-चन्द्रबहादुर दमाईं

-रामकुमारी राई

-गम्भीरमान दर्जी

-केशरमान राई

-लाखमान साधु राई

यस्तै सरकारले १० वर्षे जनयुद्धका क्रममा मारिएका राप्रपा र राप्रपा प्रजातान्त्रिकका पाँच कार्यकर्तालाई समेत सहिद घोषणा गरेको छ । युद्धकालमा उनीहरू धनकुटामा फरक–फरक घटनामा माओवादीबाट मारिएका थिए ।

बाबुमाथि हत्या आरोप, छोरा सहिद घोषणाको प्रस्तावक


पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापाको प्रस्तावमा मन्त्रिपरिषद्ले उनीहरूलाई सहिद घोषणा गरेको हो । उद्योगमन्त्रीसमेत रहेका थापाले मन्त्रिपरिषद्मा सहिद घोषणा गर्ने प्रस्ताव पेस गरेका थिए । प्रस्तावमा छिन्ताङ घटनामा शाहदत प्राप्त गर्ने व्यक्तिको प्रजातन्त्र ल्याउने अभिलाषा पूरा भई गणतन्त्रसमेत स्थापना भइसकेको पृष्ठभूमिमा उनीहरूको अमूल्य भूमिकाको कदर गर्दै सहिद घोषणा गर्न माग गरिएको थियो ।

तपाईको प्रतिक्रिया