बजेट अभावमा अर्बाैं लागतका सडक अलपत्र - Naya Patrika
eNaya Patrika
  • ePaper

बजेट अभावमा अर्बाैं लागतका सडक अलपत्र

समयमै बजेट निकासा नहुँदा अर्बौं लागतका सडक आयोजनाको काम प्रभावित भएको छ । आर्थिक वर्ष सुरु भएपछि निर्वाचन आचारसंहिताको कारण रकम निकासा भएको थिएन । तर, निर्वाचनपछि पनि रकम निकासा नहुँदा काम प्रभावित भएको हो ।

डिभिजन सडक कार्यालय बुटवलले यस आर्थिक वर्षमा एक अर्ब माग गरिएकोमा एक पैसा पनि नआएको जनाएको छ । विगतमा ठेक्का लगाई काम अगाडि बढाइएका बहुवर्षीय सडकका काम पनि बजेट अभावमा प्रभावित भएका छन् । सडकमा जाने बजेटबाटै स्थानीय निकायका लागि पनि बजेट विनियोजन भएकाले काम प्रभावित भएको हो ।

रुपन्देहीमा झन्डै सयवटा सडक निर्माण भइरहेका छन् । स्थानीय निकायको जिम्मा दिने कि सडकले नै हेर्ने भन्ने अलमलका कारण पनि यी सडकका लागि बजेट निकासा हुन नसकेको डिभिजन सडक कार्यालयले जनाएको छ ।

यता, डिभिजन सडक बुटवलले ६२ वटा पुल बनाउँदै छ । यी पुल स्थानीय सडकमा धेरै छन् । तर, ती स्थानीय निकायलाई हस्तान्तरण सम्भव देखिँदैन । दक्ष प्राविधिकको अभाव स्थानीय निकायमा हुने हुँदा पुलहरूको काम सडकमार्फत गराउनुपर्ने बाध्यता रहेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख कैलाशकुमार श्रेष्ठले बताए ।

बुटवल सडकले थालेका सडकमध्ये बेलवास–बेथरी सडक महत्वपूर्ण आयोजना हो । यो सडकका लागि बजेट कम आए पनि काम निरन्तर भइरहेको बताइएको छ । तर, विद्युत् र खानेपानीसँग समन्वय गर्न गाह्रो भएको श्रेष्ठको भनाइ छ ।

कपिलवस्तुमा ४२ करोड माग, निकासा शून्य
कपिलवस्तुमा पनि बजेट अभावमा काम प्रभावित भएको छ । डिभिजन सडक कार्यालय कपिलवस्तुका प्रमुख रमेश पौडेलका अनुसार यहाँ ६ वटा सडकको काम रोकिने अवस्था छ । निर्माण कार्य चालू राखेकाहरूले करोडौँका बिल पेस गरेको, तर रकम भुक्तानी दिन बजेट नभएपछि समस्या भएको पौडेलले बताए ।

बहुवर्षीय योजनाका सडक निर्माणलाई गति दिन रकम अभाव भएको उनको भनाइ छ । पौडेलले ४२ करोड माग गरिएकोमा एक पैसा पनि नआएको बताए । तर, निर्माणकर्मीले ताकेता गरिरहेको उनको भनाइ छ ।

पाल्पामा पनि उस्तै समस्या
बजेट आवश्यकताअनुसार नआउँदा डिभिजन सडक कार्यालय पाल्पाले पनि सोचेअनुरूप काम अगाडि बढाउन सकेको छैन । डिभिजन प्रमुख बाबुराम सापकोटाले सडक निर्माणका विभिन्न काम अगाडि बढाएको बताए । कार्यालयका प्रवक्ता पवित्रमणि आचार्यले क्षेत्रीय तथा पर्यटकीय सडकलगायतलाई २० करोड माग गरिएकोमा निकासा नभएको बताए ।

गुल्मीमा दायित्व एक अर्ब ६० करोड
बजेट अभावले गुल्मीका सडक निर्माण पनि प्रभावित भएको छ । तम्घास, सिमलटारी, प्युठान सडक आयोजनाका प्रमुख सुजन अधिकारी १ अर्ब ६० करोड दायित्व देखिने सडकहरूका लागि एक पैसा पनि निकासा नभएको बताउँछन् ।

रकम निकासाका लागि पहल गर्न काठमाडौं पुगेका अधिकारीले तत्काल भुक्तान गर्नुपर्ने २० करोडभन्दा बढी रहेको भन्दै बजेट निकासा नभई फर्कने अवस्था नरहेको बताउँछन् । यस सडक आयोजनाअन्तर्गत एक सय २३ शीर्षकका ६० वटा सडक रहेका छन् ।

अर्घाखाँचीमा ३९ करोड अपुग
सालझन्डी–ढोरपाटन सडक आयोजनाले अगाडि बढाएका दुईवटा सडकको काम १८ करोडबराबरको भइसकेको छ । ४१ करोडमा ठेक्का लगाइएकोमध्ये १८ करोड भुक्तानी दिनुपर्ने अवस्था छ । तर, साढे २ करोड बजेट निकासा भएको छ ।

आयोजनाका प्रमुख होमबहादुर एसीका अनुसार साढे १५ करोड तत्काल भुक्तानी गनुपर्नेछ, तर बजेट नहुँदा समस्या भएको छ । बलकोट, माडिचौर हुँदै सुलिचौर पुग्ने सडक तथा पटौटी, खर्जाङ हुँदै तम्घास जाने सडक सम्भावित रणनीतिक सडक हुन् । यी सडक निर्माणमा तत्काल बजेट आवश्यकता परेको हो ।

तपाईको प्रतिक्रिया