एसएसबीले पिउने राईधाराको पानी - Naya Patrika
eNaya Patrika
  • ePaper

एसएसबीले पिउने राईधाराको पानी

खुला सिमाना रहेको नेपाल–भारतका विभिन्न स्थानमा कहिलेकाहीँ विवाद र द्वन्द्व भएका समाचार आउँछन् । यस्ता विवाद र द्वन्द्वले स्थानीय तहमा मात्रै नभई दुवै देशमा केन्द्रको समेत ध्यान खिच्ने गरेको छ । तर, नेपाल–भारत सीमामध्येकै एक नाका पर्साको ठोरीमा भने नेपाली र भारतीयको मित्रभाव उदाहरणीय छ ।

भारतको सीमा रक्षार्थ खटिएको सशस्त्र सीमा बल (एसएसबी)ले पिउने पानीका लागि ठोरीस्थित राईधारालाई प्रयोग गर्दै आएका छन् । सीमापारि रहेको सशस्त्रको क्याम्पमा राईधाराको मूलको पानी ट्यांकरमा लगेर पिउने गरेका छन् । नेपाल–भारत सीमामा रहेको ठुटेखोला तरेर २ मिटर नेपालतर्फ आई उनीहरूले पिउने पानी लैजाने गर्छन् ।

वर्षौंदेखि यसरी नै भारतीय सीमा सुरक्षा बलले पानी पिउँदै आए पनि पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले भने जानकारीमा नभएको बताए । उनले अब स्थानीय प्रहरीसँग जानकारी लिने बताए ।

आपसी समझदारीमा
‘यो ठाउँमा दुई देशका नागरिकबीच कुनै समस्या छैन,’ ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले भने,‘भारतका पनि आउँछन्, हामी पनि जान्छौँ, खासै अवरोध भएको थाहा छैन ।’ उनले पानीको विषयमा लिखित, मौखिक समझदारी भन्दा पनि आपसी समझदारीका आधारमा पानी लैजाने गरिएको बताए ।

नेपालको पानी मीठो हुने भन्दै उनीहरू यता आउने गरेको स्थानीयको भनाइ छ । ठोरी नाकामा किराना पसल सञ्चालन गर्दै आएका स्थानीयले भने, ‘उनीहरू सहजै नेपाल आउँछन्, पानी लैजाने गर्छन् । तर, हामीलाई भने २–४ किलो चिनी बढी ल्याउँदा पनि थर्काउँछन् र पैसा माग्छन् ।’

राईधाराको मुहानबाट ट्यांकरमा पानी भर्दै एसएसबीका जवान । तस्बिर ः नयाँ पत्रिका

तपाईको प्रतिक्रिया