पोखरा लेखनाथ र चीनको नानिङ महानगरपालिकाबीच भगिनी सम्बन्ध - Naya Patrika
eNaya Patrika
  • ePaper

पोखरा लेखनाथ र चीनको नानिङ महानगरपालिकाबीच भगिनी सम्बन्ध

नानिङमा मेयर होङ्बोले नेपाल र चीनबीचको सम्बन्धलाई अझ प्रगाढ गराउन भगिनी सम्बन्धले सेतुको काम गर्ने बताए

कास्कीको पोखरा लेखनाथ महानगरपालिका र छिमेकी मित्रराष्ट्र चीनको नानिङ महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । चीन भ्रमणमा रहेका पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी र नानिङ महानगरपालिकाका मेयर जोउ होङ्बोले भगिनी सम्बन्ध कायम गर्ने सम्झौतापत्रमा बिहीबार हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा पोखराका मेयर जिसीले पोखरा र नानिङको सम्बन्धले नेपाल र चीनबीच सदियौँदेखि रहँदै आएको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत मिल्ने बताए । भगिनी सम्बन्धसँगै दुई सहरबीच पर्यटक आगमनमा सहयोग हुने र चिनियाँ पर्यटकको पोखरामा आगमन वृद्धि हुने उनको भनाइ छ ।

मेयर जिसीले भने, ‘चीनको सहयोगमा नेपालमा ठूला–ठूला योजना सम्पन्न भइसकेका छन् । नानिङ र पोखराबीचको सम्बन्धले पक्कै पनि पोखरामा नानिङका पर्यटन र पोखराको विकासमा थप टेवा पुग्नेछ ।’

नानिङमा मेयर होङ्बोले नेपाल र चीनबीचको सम्बन्धलाई अझ प्रगाढ गराउँदै भगिनी सम्बन्धले दुई महानगरबीच सेतुको काम गर्ने बताए । उनले भने, ‘मैले छिटै पोखराको भ्रमण गर्नेछु र मेरा नगरवासीलाई पोखरा घुम्नका लागि सन्देश प्रदान गर्नेछु ।’ नानिङमा एसियाकै नमुना अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ ।

कार्यक्रममा नानिङका सुरक्षा प्रमुख हुयाङ जोङछेङ, विदेश विभाग प्रमुख पेङ जियन, लगानी प्रवद्र्धन प्रमुख लियङ फेङ, पर्यटन विकास संघका लिन हुइचाओको सहभागिता थियो । साथै, नेपालका पर्यटन व्यवसायी नरेश भट्टराई, गणेश भट्टराई र नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख सूर्य थपलियालगायतले नानिङ र पोखरा महानगरबीचको भगिनी सम्बन्धले दुवै सहरका लागि फाइदा पुग्ने धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया