माघेसंक्रान्तिमा रसुवा र नुवाकोटमा २७ हल गोरु जुध्ने - Naya Patrika
eNaya Patrika
  • ePaper

माघेसंक्रान्तिमा रसुवा र नुवाकोटमा २७ हल गोरु जुध्ने

नेपाल र तिब्बतबीच १८४९ असोज १७ गते बेत्रावती सन्धि भएको खुसियालीमा हुने गोरुजुधाइले ग्रामीण पर्यटन प्रवर्धनमा सहयोग

माघेसंक्रान्तिको अवसर पारेर रसुवा र नुवाकोटमा गरी २७ हल गोरु जुधाइने भएको छ । हरेक वर्ष माघ १ गते सञ्चालन हुँदै आएको गोरुजुधाइ मेलामा यो वर्ष पनि रसुवाको बेत्रावती र नुवाकोटको तारुकामा २७ हल गोरु जुधाउन लागिएको हो । रसुवा र नुवाकोटको सीमा बेत्रावतीमा नौ हल र नुवाकोटको तारुकामा १८ हल गोरु जुधाउन लागिएको आयोजकले जनाएको छ ।

बेत्रावतीमा गोसाइँकुण्ड युवा क्लब र तारुकामा माघेसंक्रान्ति गोरुजुधाइ संरक्षण संस्थाले माघ १ गते हुने गोरुजुधाइका लागि तीव्र रूपमा तयारी गरिरहेका छन् । नेपाल र तिब्बतबीच १८४९ असोज १७ गते बेत्रावती सन्धि भएको खुसियालीमा मनाइने गोरुजुधाइले ग्रामीण पर्यटन प्रवद्र्घन गर्न सहयोग पुग्ने गरेको छ ।

१८४९ देखि रसुवा र नुवाकोटको संगमस्थल वेत्रावतीमा गोरुजुधाइ मेला हुँदै आएको भए पनि गोसाइँकुण्ड युवा क्लबले ०५३ देखि व्यवस्थित रूपमा बेत्रावतीमा गोरु जुधाउने मेला सञ्चालन गर्न थालेको हो ।

त्यस्तै, १८८७ देखि नुवाकोटको तारुकामा सुरु भएको गोरुजुधाइलार्ई ०६२ देखि स्थानीय युवाले संस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धनमा केन्द्रित रहेर व्यवस्थित रूपमा जुधाउन थालेको माघेसंक्रान्ति गोरुजुधाइ संरक्षण संस्थाले बताएको छ ।

बझांंगी राजा जयपृथ्वीबहादुर सिंह मावलीगाउँ तारुका आउँदा मनोरञ्जन दिन गोरु जुधाइएको सम्झनामा नुवाकोटको तारुकामा गोरुजुधाइ मेला सुरु गरिएको हो ।

गोरुजुधाइ हेर्न रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुरलगायत जिल्लाका हजारौँ मानिसको उपस्थिति रहने आयोजकको विश्वास छ । माघेसंक्रान्ति पर्वका अवसरमा गोरुजुधाइलाई नेपाली मूलको ‘बुल फाइट’का रूपमा समेत लिने गरिएको छ ।

तपाईको प्रतिक्रिया