नाट्टाको नेतृत्व चयनका लागि बढेको सरगर्मी - Naya Patrika
eNaya Patrika
  • ePaper

नाट्टाको नेतृत्व चयनका लागि बढेको सरगर्मी

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५१औँ वार्षिक साधारणसभा शुक्रबार राजधानीमा आयोजना गरिएको छ । यो साधारणसभाले नयाँ कार्यसमितिसमेत चयन गर्ने भएकाले पर्यटन व्यवसायीबीच सरगर्मी बढेको छ । नेपालमा होटेल संघ नेपाल (हान) र नाट्टाले स्वर्ण महोत्सव मनाएका छन् । ५० वर्षभन्दा लामो इतिहास बोकेको यो संगठनको नेतृत्वका लागि यसपटक दुई प्यानल प्रतिस्पर्धामा छन् । एउटा प्यानलको नेतृत्व नाट्टाको वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष सिएन पाण्डे र अर्को प्यानलको नेतृत्व द्वितीय उपाध्यक्ष डिके शर्माले गरेका छन् । पाण्डे सम्राट् टुर्स एन्ड ट्राभलका सञ्चालक हुन् भने शर्मा डिके ट्राभल एन्ड टुर्सका सञ्चालक हुन् । नाट्टा नेतृत्वका प्रत्याशीद्वयले आफ्ना चुनावी एजेन्डा र आगामी कार्यकालका लागि बनाएका कार्ययोजना संक्षेपमा यसरी सुनाए :

गुणस्तरीय पर्यटन गन्तव्यका रूपमा ब्रान्डिङ गर्छौँ

सिएन पाण्डे
अध्यक्षका प्रत्याशी

अग्रज व्यवसायी र आम टुर तथा ट्राभल व्यवसायीको चाहनाबमोजिम नाट्टामा सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिएको थियो । तर, अन्तिम समयमा आएर हाम्रो उक्त प्रयास सफल हुन सकेन । त्यसकारण अब व्यवसाय र व्यवसायीको अधिकतम हितमा काम गर्ने प्रतिबद्धतासहित हामी चुनावमा होमिएका छौँ । यसबीचमा हामीले नाट्टाको दायित्वबमोजिम अतर्राष्ट्रिय बजारीकरणको कामलाई उच्च प्राथमिकता दिएर बढीभन्दा बढी पर्यटक भित्राउने वातावरण तयार पार्नेछौँ ।

नाट्टाको सचिवालयलाई अत्याधुनिक बनाउनुका साथै मुलुकभित्र पर्यटनमैत्री वातावरणको पहल हुनेछ । व्यवसायमा लामो समयदेखिको अनुभवस्वरूप सरकारी निकायसँग हाम्रो सहज पहुँच स्थापित भएको छ । त्यसका माध्यमबाट अस्पष्ट नीति–नियममा परिमार्जन, आइएटिए, बिएसपी, जिडिएसजस्ता प्रक्रियामा रहेका समस्या समाधान गरी व्यवसायीलाई सहजीकरण गरिनेछ । संघीयता कार्यान्वयनका सिलसिलामा नाट्टालाई पनि संघीय स्वरूपमा परिमार्जन गर्ने काम यस अवधिमा हुन्छ । हिमालयन ट्राभल मार्टलाई निरन्तरता दिँदै यसमा व्यवसायीको सहज पहुँचको व्यवस्था हुनेछ ।

भूकम्पबाट क्षति पुगेका पर्यटकीय सम्पदाको पुनर्निर्माणमा सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्ने र पर्यटन व्यवसायीहरूको साझा संस्थाका रूपमा रहेको नाट्टालाई नेपाल सरकारको पर्यटन तथा ट्राभल सल्लाहकारका रूपमा स्थापित गराउने प्रयास हाम्रो हुनेछ । पर्यटक बस टर्मिनल निर्माणलाई प्राथमिकता दिँदै काठमाडौंलगायत देशका प्रमुख पर्यटकीय सहरमा सरकारसँग समन्वय गरी टर्मिनल निर्माणको कार्य अगाडि बढाउने योजना छ । नेपाललाई गुणस्तरीय पर्यटकीय गन्तव्यका रूपमा ब्रान्डिङ गर्नुका साथै अस्वस्थ प्रतिस्पर्धालाई हटाउने हाम्रो प्रतिबद्धता छ ।

देशका पूर्वाधारहरू पर्यटकमैत्री हुनुपर्छ । त्यसका लागि सरकारलाई आवश्यक सुझाब दिने तथा निर्माणाधीन हवाई पूर्वाधारमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनु आवश्यक छ । अहिले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायी र पर्यटकले भोग्नुपरेका समस्याको सूक्ष्म अध्ययन गरी यात्रा सहजीकरणका लागि पहल गरिनेछ । आउटबाउन्ड तथा इनबाउन्ड टुरमा देखिएका मूल्य अभिवृद्धि करलगायत अन्य शुल्कका विषयमा अपष्ट रहेका विषयलाई पनि सरोकारवाला निकायसँगको समन्वयमा समाधान गरिनेछ । राष्ट्रिय ध्वजाबाहक वायुसेवाको आक्रामक बजार विस्तारका लागि प्रेरित गर्नुका साथै आन्तरिक हवाई पर्यटनमा देखिएका समस्या समाधानका लागि पनि पहल गर्ने योजना छ । नाट्टा विशुद्ध व्यावसायिक संगठन हो । यहाँ राजनीति हुँदैन । हाम्रो पहल पूर्ण रूपमा व्यावसायिक वातावरण निर्माणतर्फ मात्र हुनेछ ।

नाट्टाको विशुद्ध व्यावसायिक छविलाई स्थापित गर्छौँ

डिके शर्मा
अध्यक्षका प्रत्याशी

यसपटक गैरराजनीतिक प्यानलका रूपमा हाम्रो समूह निर्वाचनमा होमिएको छ । आजको दिनमा राजनीतिबाट कोही पनि अलग रहन सक्दैन । तर, नाट्टाजस्तो विशुद्ध व्यावसायिक संगठनमा राजनीतिक दल र नेता होइन, व्यवसायी नै सक्रिय हुनुपर्छ । त्यसकारण हाम्रो पहिलो एजेन्डा नाट्टाको पूर्ण व्यावसायिक छविलाई स्थापित गराउनु हुनेछ । संस्थालाई विधिसम्मत रूपमा अगाडि बढाउनुपर्छ भन्नेमा हाम्रो जोड रहेको छ ।

नाट्टाको नयाँ भवन निर्माणको योजनालाई यस कार्यकालमा कार्यान्वयन गर्ने प्र्रतिबद्धता हाम्रो छ । मध्यपूर्वी क्षेत्रबाट हुने एडिएम डिर्पोटीका कारण टिकेटिङ एजेन्टमाथि आर्थिक भार परिरहेको छ । यो भार टिकेटिङ एजेन्टमार्फत नभई एयरलाइन्सले नै बहन गर्नुपर्छ । पर्यटन विभागबाट खारेजीमा परेका इजाजतपत्रलाई नवीकरणको पहल गर्ने प्रतिबद्धता पनि हामीले गरेका छौँ ।

पर्यटक यातायात व्यवसायीसँग समन्वय गरी यस क्षेत्रमा रहेका समस्या समाधानको पहल हुनेछ । ट्राभल, टुर तथा करसम्बन्धी समस्या समाधान गर्न सरोकारवाला संघ–संस्था सम्मिलित कार्यदल बनाएर समाधानको प्रयास यस अवधिमा हुनेछ । आन्तरिक तथा बाह्य पर्यटन प्याकेजमा लाग्ने विभिन्न प्रकारका करको सहुलियतका लागि पहल हामी गर्नेछौँ । आइएटिएसँग सम्बन्धित समस्यालाई समाधान गरी नेपाली कम्पनीहरूलाई सहजीकरण गर्ने योजना छ ।

पर्यटनसँग सम्बन्धित संघ–संस्थाबीचको आपसी समन्वयलाई उच्च प्राथमिकता दिँदै साझा एजेन्डामा सहकार्य गर्ने कार्यमा जोड दिनेछौँ । पर्यटन उद्योगलाई राज्यको प्राथमिकताप्राप्त उद्योगका रूपमा मान्यता दिलाउन सरोकारवाला अन्य निकाय नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, पर्यटन विभागजस्ता निकायसँग सहकार्य हुनेछ ।

नाट्टाको नयाँ भवन निर्माणको काम एकातिर रहनेछ भने अर्कोतर्फ नाट्टाको सचिवालयलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउन सुधारका काम हुनेछन् । आर्थिक मितव्ययिता काम राख्दै नाट्टाको कोषलाई सबल बनाउन आर्थिक विनियमावली जारी हुनेछ । राष्ट्रिय–अन्तर्राष्ट्रिय संघ–संस्थाबीचको सम्बन्धलाई बढाउने र हरेक वर्ष कम्तीमा ४ वटा अन्तर्राष्ट्रियस्तरका पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता पनि हामीले व्यक्त गरिसकेका छौँ । व्यावसायिक हकहितभन्दा बाहिर गएर हामीले कुनै पनि दल विशेषलाई रिझाउनु छैन । त्यसकारण हाम्रो प्राथमिकता विशुद्ध व्यावसायिक वातावरण निर्माणका लागि हुनेछ ।

तपाईको प्रतिक्रिया