दृष्टिविहीन ज्ञवालीको पिएचडी यात्रा - Naya Patrika
eNaya Patrika
  • ePaper

दृष्टिविहीन ज्ञवालीको पिएचडी यात्रा

भवानीश्वर गौतम । पुस १६ गते, ललितपुरको पुल्चोक क्याम्पसको खेल मैदान । हजारौँ विद्यार्थी दीक्षित हुन लामबद्ध थिए । दीक्षान्त समारोहमा उपस्थित आठ हजारभन्दा बढी विद्यार्थीको भिडमा एक पात्र मेरो आँखामा ठोक्किए । केहीबेर कालो चस्मामा अल्झिएका मेरा आँखा, सेतो छडीसम्म ओर्लिए । हात समाएर सहारा बन्दै थिइन्, एउटी युवती ।

डा. लक्ष्मण ज्ञवाली, अधिवक्ता/शिक्षक

लक्ष्मण ज्ञवालीसँग परिचय भयो, मेरै रहरमा । नाम, वतनसँगै थोरै संघर्षका कथा खोलिहाले । हात समाउने छोरीले बाबाको बोली काटेर एक वाक्य थपिन्, ‘पिएचडी (विद्यावारिधि) सक्नुभो, दीक्षित हुन आउनुभएको ।’

अब डा. लक्ष्मण ज्ञवालीको सामान्य नाम, वतनमै चित्त बुझाएर पन्छिन मेरो मन मानेन । केही दिनअघि त्रिविकै शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले भनेकी थिइन्, ‘वर्षौंदेखि त्रिविमा पढाएकाहरू नै पिएचडीको भाइभामा रुन्छन् ।’ त्रिपाठीको यो अभिव्यक्तिलाई डा. ज्ञवालीको पिएचडी उपाधिले मेरो मथिंगलमा फेरि दौडाइदियो ।

गुल्मीको बम्घामा बित्यो बाल्यकाल

गुल्मीको बम्घामा बितेको बाल्यकाल स्मरण हुन्छ ? चउरमै पलेँटी कसेर संघर्ष सुनाउन कस्सिएका डा. ज्ञवालीलाई मैले सुरुमै ‘नोस्टल्जिक’ बनाएँ । संघर्षका पत्र–पत्र मिहीनसँग पल्टियून् भनेरै मैले सुरुवाती बिन्दुबाटै कहानी बुन्न लगाएँ ।

‘०२८ असार १८ गते धर्तीमा आएँ । बुबा पनि दृष्टिविहीन हुनुहुन्थ्यो । हामीले जान्ने वेलासम्म आँखाका नानीसमेत थिएनन् । यो हाम्रो जेनेटिक समस्या हो । हामी चार दाजुभाइमध्ये दुईजना दृष्टिविहीन छौँ,’ फरर सुनाउँदै गर्दा मैले उनीसँग आँखा जुधाउन सकिनँ, जबकि उनी देख्दैनथे ।

जन्मजात आँखाको ज्योति नभएको मान्छे, पिएचडी उपाधिसम्म कसरी हिँड्यो ? मनमा उब्जिएको यो प्रश्नले मलाई उनको जिन्दगीको ‘हाइवे’मा धकेलिदियो । जिज्ञासा राखिहालेँ– पढाइको सुरुवात गाउँतिरैबाट त भयो होला ?

सेतो छडी फोल्डिङ गरेर भुइँमा बिसाउँदै डा. ज्ञवाली विगतमा फर्किए, ‘गाउँको सामान्य स्कुलमै भर्ना भएँ । दृष्टिविहीनले ब्रेल लिपीबाट शिक्षा लिन्छन् भन्ने पनि थाहा थिएन । परिवारमा आर्थिक समस्या थियो । बुबा आँखा नदेख्ने भए पनि भागवत्, गीता, रुद्रीजस्ता कर्मकाण्डका धेरै पाठ कण्ठस्थ पार्नुभएको थियो । उहाँको पढाइले हामीलाई पनि पढ्ने प्रेरणा मिल्यो । विद्यालयमा हेडसर पनि आफ्नै दाइ हुनुहुन्थ्यो । सरको भाइको नाताले सबैबाट प्रेम पाएको थिएँ । कक्षा ३ सम्म बम्घा प्रावि, चौतारामा पढेँ । निमावि तह जनवत निमाविमा पढेँ । माविचाहिँ घरबाट केही टाढा साथीहरूकै सहारामा जाने–आउने गर्दै पढेँ । साथीहरू नजाँदा म पनि जान सक्दिनथेँ ।’

अब डा. लक्ष्मण ज्ञवालीको सामान्य नाम, वतनमै चित्त बुझाएर पन्छिन मेरो मन मानेन । केही दिनअघि त्रिविकै शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले भनेकी थिइन्, ‘वर्षौंदेखि त्रिविमा पढाएकाहरू नै पिएचडीको भाइभामा रुन्छन् ।’ त्रिपाठीको यो अभिव्यक्तिलाई डा. ज्ञवालीको पिएचडी उपाधिले मेरो मथिंगलमा फेरि दौडाइदियो ।

स्कुल जान–आउन त साथीहरूको हात सहारा थिए, तर लेख्न, पढ्न ? आँखा नदेख्नेको जीवनमा पक्कै यो पाटो अत्यासलाग्दो थियो होला, त्यो वेला । मेरो अनुमान सही रहेछ, डा. ज्ञवालीको जीवनमा । ‘होमवर्क गर्न सक्दिनथेँ । तर, पनि सरहरूले केही भन्नुहुन्थेन । परीक्षामा जेनतेन लेख्थेँ । तर, अक्षरहरू ओभरल्याप हुन्थे ।’

उच्चशिक्षाका लागि बुटवल

ब्ल्याकबोर्ड कस्तो हुन्छ, बोर्डमा चकले कसरी लेख्छ ? अनुभवविनै एसएलसीसम्मको अध्ययन सकियो । अन्धकारमा लड्दै–पड्दै, सिक्दै र हौसिँदै उनले यो सफलता चुमेका थिए । एसएलसीपछि उच्चशिक्षाका लागि बुटवल झरे । ‘त्यसपछि कोही सहयोगी राखेर परीक्षा दिन पाउनेबारे जानकार भएँ । ब्रेल लिपी लेख्न कहिल्यै सिकिनँ । त्यो संघर्षको फल, आज कापीमै मज्जासँग लेख्न सक्छु । तर, मेरा अक्षर कस्ता हुन्छन्, मलाई थाहा छैन,’ सुनाए ।

०००
मलाई एउटा पीडा पोख्न मन छ । डा. ज्ञवालीले एक्कासि प्रस्ताव गरे । संघर्षको कथा सुन्न नै समय मागेको थिएँ त मलाई किन आपत्ति ? मेरो स्वीकारमा पीडाको पोको फुकाए, ‘गाउँको विद्यालयमा ३ कक्षासम्मको पढाइ सकेपछि निमावि विद्यालयमा भर्ना भएँ । त्यहाँ पढ्दा निकै दुव्र्यवहार भोगेँ । सहपाठीले अपशब्द प्रयोग गर्थे, डेरो भन्दै जिस्क्याउँथे । आँखा नदेख्ने र समयमै विद्यालय शुल्क तिर्न नसक्नु हेपिनुपर्नाका कारण थिए । त्यतिवेला एक महिनाको ५ रुपैयाँ शुल्क लाग्थ्यो । तिर्न एक महिना ढिला भए, अर्को महिनामा नाम काटिन्थ्यो । अति नै अपमान भएपछि मैले दुई वर्ष विद्यालय नै छाडिदिएँ । ती साथीहरू ६ कक्षामा पुगेपछि पुनः चार कक्षामा भर्ना भएर पढाइलाई निरन्तरता दिएँ ।’

‘अन्धाले भोलि मागेरै खाने हो, किन पढ्नुपर्‍यो भन्थे । मन्दिरमा बसेर मजुरा बजाउँदै बोरा थाप्ने, दाल चामल दिन्छन्, खाएर गुजारा चलाउने भन्थे । ती वचन मेरो मस्तिष्कमा अहिले पनि पेचकसले कसेका किलाझैँ गडिएका छन् ।’

अनि केही सहज भयो त, परिस्थिति ? प्रश्न थपिहालेँ । उनको पीडा सकिएको रहेनछ, ‘स्कुलमा केही कम भयो, तर हेप्नेहरू गाउँ–छिमेकका मात्रै होइन, आफन्तहरू नै थिए । अन्धाले भोलि मागेरै खाने हो, किन पढ्नुपर्‍यो भन्थे । मन्दिरमा बसेर मजुरा बजाउँदै बोरा थाप्ने, दाल चामल दिन्छन्, खाएर गुजारा चलाउने भन्थे । ती वचन मेरो मस्तिष्कमा अहिले पनि पेचकसले कसेका किलाझैँ गडिएका छन् ।’

तर, कसैका कटु वचन जीवनका सुमेरु पर्वत छिचोल्न ऊर्जा पनि बन्छ भन्छन् नि कोही–कोही ? यो कुरा ज्ञवालीको जीवनसँग मेल खाएछ । भनिहाले, ‘त्यही ऊर्जाले त पिएचडीसम्मको यात्रा पार गरेँ ।’

०००

एसएलसीपछि पिएचडीसम्मको यात्रा तुलनात्मक रूपमा सहज भयो होला । ज्ञवालीले सुनाउनुभन्दा एक पाइलाअघि नै मेरो मनले कल्पियो । तर, उनले सुनाए, झन् पेचिलो कहानी । ‘०४६ मा एसएलसी पास गरेपछि हजुरआमाले रहर बिसाउनुभयो, नातिको बिहे गर्दिएर मर्न पाए स्वर्ग गइन्थ्यो कि ! म जम्मा १८-१९ वर्षको थिएँ । उहाँको रहर पूरा भयो, म अर्को जिम्मेवारीमा फसेँ,’ आडैकी छोरीलाई धाप मार्दै सुनाए, ‘बिहे गर्दा यिनकी आमा ८ कक्षा पढ्दै थिइन् । घरव्यवहार चलाउन जागिर खाने सोच बनाएँ । गाउँकै स्कुलमा शिक्षक खाली भएकाले सट्टामा काम गर्न प्रस्ताव गरेँ । तर, हेडसर गणेश ज्ञवालीले तितो वचन लगाउनुभयो । यस्ता अन्धाले पढाएर हुन्न भन्नुभयो । नौ सय ४० रुपैयाँ तलब थियो, तर मैले पाँच सयमा गर्छु भन्दा पनि पाइनँ ।’

‘हेडसर गणेश ज्ञवालीले तितो वचन लगाउनुभयो । यस्ता अन्धाले पढाएर हुन्न भन्नुभयो । नौ सय ४० रुपैयाँ तलब थियो, तर मैले पाँच सयमा गर्छु भन्दा पनि पाइनँ ।’

यही मोडले उनलाई पिएचडी डाक्टरको उपाधिसम्म पुर्‍याउन भूमिका खेलेको रहेछ । आफ्नै गाउँमा अपमान भएपछि उनी त्यो ठाउँ त्याग्न तयार भए । गुल्मी छाडेर बुटवल झर्ने निर्णय र बुटवल झरेपछिको संघर्ष निरन्तर बोलिरहे, म सुनिरहेँ, ‘बरु खान नपाए भोकै मर्छु, यहाँ मर्दिनँ भनेर घर छाडेर हिँडेँ । त्यसपछि बुटवलमा एकजना साथीसँग केही समय बसेँ । दिउँसोमा केही काम पाइन्छ कि भनेर आइएलमा भर्ना भएँ । नियमित कक्षा लिन पाइनँ । अहिले प्रदेश सभामा निर्वाचित हुनुभएका लीला गिरीले धेरै सहयोग गर्नुभयो । उहाँकोमा पनि केही समय बसेँ । जागिर पाइनँ, निर्वाह चल्यो । आइएल सकेपछि बिएल पनि बुटवलमै भर्ना भएँ । बिएलको तेस्रो वर्षमा पढ्दै गर्दा रवीन्द्र ज्ञवाली दाइ तत्कालीन शाही औषधि लिमिटेडमा केमिकल इन्जिनियर हुनुहुन्थ्यो । उहाँले एक दिन एक हजार रुपैयाँ तलबको जागिरका लागि प्रस्ताव गर्नुभयो । काठमाडौंमा साथीभाइसँग सामूहिक बसेर खानका लागि बाँचिने बताउनुभयो ।’

यात्रा अब काठमाडौंतिर

गुल्मीबाट बुटवल झरेका ज्ञवालीको यात्रा अब काठमाडौंतिर लम्कियो । एक हजार रुपैयाँ जागिरमा बाँच्ने आशा बोकेर विशाल भिडमा हामफालेका उनको सपना भने ठूलै थियो । आँखा नदेख्नेको सुखी संसार नै हुँदैन भन्ने ती केही गुल्मेलीका सोच उल्ट्याउन उनी अर्को संघर्षमा होमिएका थिए । ‘हो म अर्को संघर्षमा होमिएँ, एउटा जित भेट्टाउनका लागि,’ डा. ज्ञवाली जोसिँदै बोले, ‘काठमाडौंमा नेपाल नेत्रहीन संस्थामा सम्पर्क भयो । म जस्तो अवस्थामा भए पनि सक्रिय रूपमा लिडर हुन चाहन्थेँ । विद्यालयदेखि नै विद्यार्थी राजनीतिमा पनि सक्रियता देखाउँथे । नेत्रहीन संस्थाको अधिवेशनमा भाग लिएँ, ०५५ सालमा केन्द्रीय सदस्यमा निर्वाचित भएँ । त्यसपछि त मलाई ठूलै मानिस भएजस्तो लाग्यो । दोस्रोपटक पनि केन्द्रीय सदस्यमा निर्वाचित भएँ । ०६० सालमा महासचिव भएँ । त्यसवेला अपांगता के हो, यिनीहरूका अधिकार के हुन्छन् भन्ने थाहा पाएँ । यसले जिन्दगीको अर्को पाटो मोडियो । साधारण जीवन बिताउन सकिएन, तर त्यसलाई वातावरणअनुकूल बनाएर बाँच्न सिक्नुपर्दोरहेछ भन्ने सिकेँ । मभन्दा धेरै दुःख पाउने व्यक्ति पनि देखेँ, भेटेँ । अध्ययन निरन्तर जारी नै थियो । ०५५ मा बिएल पास गरेपछि ०५७ मा अधिवक्ताको जाँच दिएर लिखित र अन्तर्वार्ता दुवैमा पास भएँ ।’

नेपालको पहिलो दृष्टिविहीन अधिवक्ता

ओहो ! अपांगता भएकाहरूको नेता हुनुभयो, अधिवक्ता पनि बन्नुभयो, निकै छिटो दौडिनुभएछ नि ? मेरो जिज्ञासामा फेरि दुःख नै बिसाए, ‘अधिवक्तामा पास त भएँ, तर लाइसेन्स लिन समस्या नै भयो । लाइसेन्स लिन आउनू भनेर दरबार हत्याकाण्ड भएको दिन बार काउन्सिलबाट फोन आयो । सबै प्रक्रिया पुर्‍याएर साउन १ गते लाइसेन्स लिन गएँ । तर, अन्धालाई लाइसेन्स दिन नमिल्ने नीतिगत निर्णय गरेछन् । मेरो जिन्दगीमा अर्को धक्का लाग्यो । ६ महिनासम्म संघर्ष गरेर लाइसेन्स लिएँ । ०५८ पुसमा लाइसेन्स हात पर्‍यो । म नै भएँ, नेपालको पहिलो दृष्टिविहीन अधिवक्ता ।’

पहिलो बहस स्मरण गर्न सक्नुहुन्छ ? मैले डा. ज्ञवालीको अनुहार उजिल्याउने कोसिस गरेँ । रमाइलोतिर मोडिँदै सुनाए, ‘०५८ माघ १५ मा ललितपुर जिल्ला अदालतमा गोल्छे मिजारको जग्गासम्बधी बहस नै मेरो पहिलो बहस हो । चन्द्रकान्त ज्ञवाली बहसमा साथमा हुनुहुन्थ्यो ।’

०००

संघर्ष छिचोल्दै अधिवक्तासम्म भएका ज्ञवालीलाई पिएचडी गर्न कम मुस्किल भएन । आँखाको ज्योति नभएको बहानामा मान्छेहरूले उनको सक्षमतामाथि नै प्रश्न उठाए । संघर्षको यो अध्यायमा प्रवेश गर्दै ज्ञवालीले भने, ‘०५६ तिर एलएलएम पढ्न भनेर नेपाल ल क्याम्पस पुगेँ । यस्ता अन्धाले किन पढ्नुपर्‍यो भनेर भर्ना हुन दिएनन् । एउटा छात्रवृत्ति प्राप्त थियो, तर एलएलएममा भर्ना दिएनन् । त्यसपछि कीर्तिपुरमा राजनीतिशास्त्रमा भर्ना भएँ । ०५८ मा पास भएँ । ०६२ माघमा यही विषयमा पिएचडीका लागि भर्ना भएँ । ०७३ मा सकाएँ । आर्थिक र प्राविधिक कारणले ढिलाइ भयो । कम्प्युटरमा आफैँ लेख्न सक्ने तर लाइब्रेरीमा भएका पुस्तक पढेर फुटनोट राख्न अरूको सहयोग चाहिने भयो । परिवार र साथीहरूको सहयोगबाटै पिएचडी सम्भव भयो ।’

ज्ञवाली संघर्षको संसार घुमेर बम्घाबाट नयाँ कर्णाधार जन्माउँदै छन्, सफल र सुखी जीवन जिएका छन् । तै पनि डाक्टर ज्ञवालीकै शब्दमा ‘छुद्रहरू’ भन्छन् रे, ‘पिएचडी गरेर के भो र, पढाउने प्रावि स्कुलमै हो क्यारे !’

पिएचडी गरेका डा. ज्ञवाली पेसाले शिक्षक छन् । शिक्षक सेवा आयोगबाट ०५२ सालमा परीक्षा दिएका उनी ०६१ सालमा पास भए । तर, रोचक विषय उनी अहिले विद्यालयका सामान्य विद्यार्थीलाई कम्प्युटर पढाउँछन्, त्यो पनि पहिले हेपाइ खप्न नसकेर छाडेको गुल्मीकै बम्घामा । ‘बम्घा ताहातिम निमाविमा पढाउँदै छु । मेरो विद्यालय निमावि हो, तर प्रावि द्वितीय शिक्षकको जागिर हो । कक्षा २ देखि ८ सम्मका विद्यार्थीलाई मैले प्रत्येक दिन ७ वटा कक्षा पढाउँछु । हामी १३ जना शिक्षक छौँ, मबाहेक अरूले कम्प्युटर पढाउन सक्नुहुन्न ।’

०००

जिन्दगीका हरेक मोडमा ठेस लागेका डा. ज्ञवाली सफल भएरै छाडे । त्यही बम्घाको कालोपाटीमा कोरिएको चक नदेख्ने ज्ञवाली अहिले त्यहीँका विद्यार्थीलाई कम्प्युटर विषय पढाउँछन् । हिजो उनलाई मन्दिरमा बसेर माग्न थाले हुन्छ भन्दै अपमान गर्नेका नाति-नातिनालाई ज्ञवालीले कम्प्युटरको दुनियाँ अथ्र्याइरहेका छन् । हिजो दुर्वचन बोल्नेहरू जहाँको त्यहीँ छन्, कोहीले एसएलसी पास गर्न पनि सकेनन्, कोही प्रमाणपत्रमै अल्झिए, कोही विदेश गए । तर, ज्ञवाली संघर्षको संसार घुमेर बम्घाबाट नयाँ कर्णाधार जन्माउँदै छन्, सफल र सुखी जीवन जिएका छन् । तै पनि डाक्टर ज्ञवालीकै शब्दमा ‘छुद्रहरू’ भन्छन् रे, ‘पिएचडी गरेर के भो र, पढाउने प्रावि स्कुलमै हो क्यारे !’

तपाईको प्रतिक्रिया