थ्री स्टारलाई स्तब्ध पार्दै आर्मी सेमिफाइनलमा - Naya Patrika
eNaya Patrika
  • ePaper

थ्री स्टारलाई स्तब्ध पार्दै आर्मी सेमिफाइनलमा

१४ महिनापछि घरेलु फुटबलमा फर्किएको थ्री स्टारसुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको क्वार्टरफाइनलमा आर्मीसँग स्तब्ध

१४ महिनापछि घरेलु फुटबलमा फर्किएको थ्री स्टार क्लब धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । थ्री स्टार बिहीबार नेपाल आर्मीसँग २–१ ले स्तब्ध हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

जितसँगै आर्मी सेमिफाइनलमा पुगेको छ । थ्री स्टारले झापा–११ लाई ३–१ ले हराउँदै क्वार्टरफाइनल स्थान बनाएको थियो । आर्मीले फाइनल प्रवेशका लागि २९ पुसमा मनाङमस्याङ्दी र रुपन्देही–११ बीचको विजेतासँग खेल्नेछ ।

दुवै हाफमा आर्मी बलियो
आर्मीले थ्री स्टारविरुद्ध मध्यान्तरअघि उत्कृष्ट खेल खेलेको थियो । आर्मीले मध्यान्तरअघि १–० को अग्रता लिँदै थ्री स्टारमाथि दबाब राख्यो । खेलको छैटौँ मिनेटमै आर्मीका नवयुग श्रेष्ठले १–० का लागि गोल गरे । पहिलो हाफमा आर्मी एक गोलले मात्र अगाडि रह्यो । खेलको ४९औँ मिनेटमा सुमन अर्यालले आर्मीलाई २–० को अग्रता दिलाए ।

खेलको ५३औँ मिनेटमा थ्री स्टारले खेल २–१ को गोलअन्तरमा झार्‍यो । खेलमा थ्री स्टारले दर्जनौँ मौकाको सदुपयोग गर्न सकेन । खेलेको सुरुमा आक्रामक खेलेको आर्मीमाथि थ्री स्टार हाबी भएको थियो । थ्री स्टारको दुई उत्कृष्ट प्रहारलाई आर्मीका गोलरक्षकले बचाएका थिए । मध्यान्तरपछि आर्मीले रक्षात्मक खेल खेलेको थियो ।

मौसमको असर
जितपछि प्रतिक्रिया दिँदै आर्मीका प्रशिक्षक नवीन न्यौपानेले मौसमका कारण शतप्रतिशत खेल्न नसकेको बताएका छन् । तर, थ्री स्टारजस्तो बलियो टोलीलाई पाखा लगाउँदै अन्तिम चारमा पुग्दा खुसी लागेको उनको भनाइ छ ।

‘मैदानको अनुभव नभएकाले सुरुमा खेलाडीबीच तालमेल हुन सकेन,’ न्यौपानेले भने, ‘दोस्रो हाफमा थ्री स्टारले गर या मरको अवस्थमा प्रतिस्पर्धा गर्‍यो र हामीमाथि दबाब राख्यो ।’ आर्मीका प्रशिक्षक न्यौपानेले मध्यान्तरपछि रक्षात्मक तथा थ्री स्टारका खेलाडीलाई ‘स्पेस’ नदिँदा जित सम्भव भएको बताए ।

डिफेन्डरको गल्ती
थ्री स्टारका प्रशिक्षक मेघराज केसीले डिफेन्डरको गल्तीका कारण पराजित भएको प्रतिक्रिया दिएका छन् । ‘डिफेन्डरले धेरै नै गल्ती गरे, खेलको अन्त्यतिर गोल गर्ने मौकासमेत चुकाए,’ केसीले भने, ‘डिफेन्सको सामान्य गल्तीले दुवै गोल खायौँ, हामीमाथि दबाब सिर्जना भयो ।’ प्रतिस्पर्धामा आर्मीको तुलनामा थ्री स्टारको खेल राम्रो भएको उनको भनाइ छ । ‘खेलको समीक्षा गर्‍यौँ भने थ्री स्टारले नै उत्कृष्ट खेल देखायो,’ केसीको दाबी रह्यो ।

तपाईको प्रतिक्रिया