४५ ग्यास उद्योगद्वारा गुणस्तर चिह्नका लागि आवेदन - Naya Patrika
eNaya Patrika
  • ePaper

४५ ग्यास उद्योगद्वारा गुणस्तर चिह्नका लागि आवेदन

गुणस्तर ऐनले तोकेअनुसार सिलिन्डर नभएको पाइए कारबाही

ग्यास उद्योगको पूर्वाधार सुदृढीकरण गर्न गुणस्तर तथा नापतौल विभागले निर्देशन दिएपछि देशभरका ४५ उद्योगले गुणस्तर प्रमाण चिह्न (एनएस) लिन आवेदन दिएका छन् । थप १० उद्योगले आइतबारसम्म एनएसका लागि विभागमा आवेदन दिने बताएका छन् ।

२० पुसमा विभागले सबै उद्योगलाई तोकिएको मापदण्ड पूरा गरी ग्यास उद्योग सञ्चालन गर्न निर्देशन दिएको थियो । विभागको निर्देशनलगत्तै उद्योगीले एनएस चिह्न लिन आवेदन दिइरहेको महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । ‘प्रत्येक घरको भान्सामा पुग्ने ग्यास सिलिन्डर सुरक्षित र भरपर्दो बनाउन उद्योगले मापदण्ड पूरा गर्नैपर्छ,’ पुडासैनीले भने ।

आइतबारसम्म सबै ग्यास उद्योगको आवेदन आइसक्ने जानकारी पाएको उनले बताए । ‘आवेदन आइसकेपछि १५ दिनको समयसीमा दिएर तोकिएको मापदण्ड पालना गर्न निर्देशन दिन्छौँ र सो समय सकिएपछि देशव्यापी अनुगमन तीव्र पार्छौँ,’ उनले भने ।

 

विभागले ग्यास भर्ने सिलिन्डर र उद्योगको पूर्वाधार मापदण्ड हेर्ने जनाएको छ । गुणस्तर ऐनले तोकेअनुसार सिलिन्डर प्रयोग नभएको पाइए कारबाही हुनेछ । सिलिन्डर तोकिएअनुसार बाक्लोपना भएको, मजबुत फुटरिङ, नियमित हाइड्रोलिक टेस्ट भएको, हाइड्रोलिक टेस्ट गर्ने मेसिनको चालू हालतमा काम गर्न सक्ने, मेसिन चलाउन दक्ष जनशक्ति हुनुपर्ने, सिलिन्डरमा क्याप लगाएको हुनुपर्छ ।

त्यस्तै, सिलिन्डरभित्र फोहोर नजमेको, भल्ब नियमित रूपमा मर्मत गरेको हुनुपर्नेछ । अहिले बजारमा उपलब्ध अधिकांश सिलिन्डरको पिँधमा कम्तीमा आधा किलो लेदो हुन्छ । सो परिमाणबराबर ग्यास नभरी तौल पुकाठमाडौं, २८ पुकाठमाडौं, २८ पुर्‍याइन्छ । जसकारण उपभोक्ता प्रतिसिलिन्डर करिब ५० रुपैयाँ ठगिने गरेका छन् ।

त्यस्तै, धेरै उद्योगले सिलिन्डरको भल्ब सामान्य मर्मत गरेर उपभोक्तालाई बिक्री गर्ने गरेका छन् । भल्ब बिग्रिएको खण्डमा भित्रको ग्यास बाहिर आई विस्फोट हुने खतरा रहन्छ । त्यस्तै ४–५ वटा उद्योगबाहेक कसैले पनि सेफ्टी क्याप लगाउने गरेका छैनन् ।

अम्बर र जगदम्बाको कारोबार रोक्का
बारामा उद्योग रहेका अम्बर र जगदम्बा ग्यास उद्योगको कारोबारलाई विभागले ४ दिनदेखि रोक्का राखेको छ । उद्योगले अत्यन्तै लापरबाहीपूर्ण ढंगले सिलिन्डरमा ग्यास भर्ने गरेको पाएपछि आवश्यक सुधार नगरी रिफिलिङ गर्न गाह्रो भएको महानिर्देशक पुडासैनीले बताए ।

‘दुईवटै उद्योगले ग्यास भर्ने सिलिन्डरको भल्ब मर्मत नगर्ने गरेको, हाइड्रोलिक टेस्ट नगरेको, भल्बको माथि सेफ्टी क्याप नलगाएकोलगायत कैफियत भेटिएको छ,’ उनले भने, ‘उद्योग निकै नराम्रो कन्डिसनमा सञ्चालन भएको भेटिएपछि कारोबार रोक्का राखिरहेका हौँ ।’

काभ्रेका दुई उद्योगलाई १५ दिनभित्र सुध्रन निर्देशन
विभागले २२ पुसमा काभ्रेको चण्डेश्वरी, सूर्य र सगरमाथा ग्यास उद्योगको अनुगमन गरेको थियो । त्यसक्रममा चण्डेश्वरी र सूर्यले मापदण्ड पालना नगरी ग्यास भर्ने, ओसार्ने, सिलिन्डरको सुरक्षामा ध्यान नदिने गरेको पाइएपछि कारोबार रोक्का गरिएको थियो ।

लामो समयसम्म कारोबार रोक्का गर्दा बजारमा ती ब्रान्डका ग्यास सिलिन्डर अभाव हुन सक्ने भएकाले १५ दिनभित्र सुधार गर्न निर्देशन दिएर कारोबार खुला गरिएको महानिर्देशक पुडासैनीले बताए । ‘दुवै उद्योगलाई तोकिएको समयभित्र निर्देशन पालना गरे–नगरेको अनुगमन गरेर हेर्छौँ,’ उनले भने ।

न्यूनतम १ करोड लगानी थप्नुपर्ने उद्योगीको दाबी
ग्यास उद्योगीले विभागले तोकेअनुसारको गुणस्तर मापदण्ड पालना गर्दा प्रत्येक उद्योगले न्यूनतम १ करोड रुपैयाँ लगानी थप गर्नुपर्ने दाबी गरेका छन् । एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले लगानी धेरै पर्ने भएकाले छोटो समयमा सुधारको निर्देशन दिए पालना गर्न कठिनाइ हुने बताए ।

‘सबै ग्यास उद्योगको पूर्वाधार ठीक छ, विभागले दिएको निर्देशन उद्योगको व्यवस्थापन सुधारका लागि हो,’ घिमिरेले भने, ‘विभागको सकारात्मक निर्देशन पालना गरेर हामीले सहयोग गर्छौंँ भनेका र्छौँ, तर लगानी धेरै पर्ने भएका कारण केही समय लिएर सुधार गर्दै लानुपर्छ ।’ मापदण्डअनुसार सबै उद्योगले ग्यास बोक्ने एउटा गाडी थप्नुपर्ने, उद्योगको क्षेत्रफल विस्तार गर्न थप जग्गा किन्नुपर्नेलगायतका कारण लगानी बढ्ने उद्योगीको भनाइ छ ।

तपाईको प्रतिक्रिया