नेपाल पावर इन्भेस्टमेन्ट समिट आयोजना हुने - Naya Patrika
eNaya Patrika
  • ePaper

नेपाल पावर इन्भेस्टमेन्ट समिट आयोजना हुने

१० वर्षमा ४० हजार मेगावाट विद्युत् उत्पादन र २० खर्ब लगानी गर्ने कम्पनी भित्र्याउने लक्ष्य

नेपालमा १० वर्षमा ४० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ नेपाल पावर इन्भेस्टमेन्ट समिट हुने भएको छ । माघ १३ देखि १५ गतेसम्म ऊर्जा विकास परिषद् (इडिसी)ले आयोजना गर्ने समिटमा ऊर्जा क्षेत्रका विश्वमा प्रतिष्ठित कम्पनीहरूको सहभागिता हुने परिषद्का अध्यक्ष सुजित आचार्यले बताए ।

समिटमा १० वर्षमा २० हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारी लक्ष्यभन्दा पनि बढी प्रतिबद्धता प्राप्त हुने उनको भनाइ छ । सो अवधिमा ५ खर्बदेखि २० खर्ब रुपैयाँसम्म लगानी गर्ने कम्पनी भिœयाउने लक्ष्य रहेको उनले जानकारी दिए । त्यस्तै इनर्जी मार्ट, अन्तर्राष्ट्रिय तालिम कार्यक्रमलाई समायोजन गर्दै विश्वका प्रख्यात ऊर्जा प्रविधि तथा लगानी ल्याइने आचार्यले बताए ।

सो लक्ष्य प्राप्त गर्न करिब ८० खर्ब रुपैयाँ आवश्यक पर्ने हुनाले जलविद्युत्, सोलार ऊर्जा तथा वायु ऊर्जाका क्षेत्रमा लगानी आकर्षित गर्न विदेशी कम्पनीलाई सहजीकरण समिटमा नै योजना हुनेछ । नेपालमा लगानीपछिको कर तिर्ने प्रणालीमा सुधार भएको अवस्थामा सरकाले लगानीमैत्री नीति अवलम्बन गर्दा नेपाललाई दक्षिण एसियाको सिंगापुर बनाउन सकिने उनको भनाइ छ ।

सरकारले छुट्याएको १४ वटा विशेष आर्थिक क्षेत्र (सेज)मा समेत उद्योग खोल्न समिटमा प्रोत्साहन गरिनेछ । विभिन्न देशमा हाइड्रो इक्युपमेन्ट उत्पादन गर्ने कम्पनीहरूले नेपालमा एसेम्बल प्लान्ट स्थापना गर्न चासो देखाइरहेका कारण समिट फलदायी हुने परिषद्ले जनाएको छ ।

नेपालमा हाइड्रो क्षेत्रमा अत्यधिक सम्भावना भएको तथा नेपालमा एसेम्बल गरेर चीन तथा भारतलगायतमा मुलुकमा हाइड्रो इक्युपमेन्ट निर्यात गर्नसमेत कम्पनीहरूले चासो व्यक्त गरेको उनले बताए ।

समिटमा चाइना कन्स्ट्रक्सन बैंकले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) आकर्षित गर्ने विषयमा सेमिनारको आयोजना गर्ने बताइएको छ । सो कार्यक्रममा आसियानका एक्जुकिटिभ डाइरेक्टर, ब्लुमबर्गका प्रधानसम्पादक, हुनान कन्स्ट्रक्सनका अध्यक्ष, सेजका सिइओ, जिन्दल स्टिल एन्ड वावरका प्रतिनिधिलगायतकाले नेपालमा ऊर्जाको क्षेत्रका विषयमा सम्बोधन गर्नेछन् ।

चाइना डेली, ब्लुमबर्ग न्यू इनर्जी अमेरिका, वाटर पावर युके, सिन्ह्वा र इन्टरनेसनल वाटर पावर र ड्याम कन्स्ट्रक्सन एनपिआईएका अन्तर्राष्ट्रिय मिडिया पार्टनर रहने जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया