कर्ण दासले रोज्ने आफ्नै गीत - Naya Patrika
eNaya Patrika
  • ePaper

कर्ण दासले रोज्ने आफ्नै गीत

जिन्दगीको के भरोसा… ०५४ मा गाएसँगै कर्णदास सांगीतिक दुनियाँमा उदाए । उदाएनन् मात्रै, पहिलो एउटै गीतले चम्किए । त्यसपछि श्रोता–दर्शकको मायाको ऊर्जामा दौडिएका कर्ण दास रोकिन चाहेनन् । ‘फर्की आऊ शान्ति तिमी, लालीगुराँस भन्छन्…’, ‘तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो…’, ‘ठूला–ठूला महल होइन, सीप सिकाउने झुपडी देऊ…’लगायत गीत चर्चाको चुलीमा रहे । दुई दशकको अवधिमा उनले ६ सयभन्दा बढी गीतमा स्वर दिएका छन्, अधिकांश गीत श्रोता–दर्शकले मन पराए । तर, आफैँले गाएका गीत कर्ण दासलाई चाहिँ कस्ता लाग्छन् ? उत्कृष्ट लागेका सीमित छान्नुपर्दा, कुन–कुन गीतलाई स्थान दिन्छन् ? नयाँ पत्रिकाका महेश तिमल्सिनाले सोधे, उनले सुनाए :

तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो
शब्द, संगीत र लय, सबै हिसाबमा मलाई मन पर्ने गीत हो, यो । श्रोताले पनि यो गीत मन पराइदिनुभयो, त्यसैले त चल्यो । यो गीतको सबै पक्ष राम्रोसँग मिलेको छ । बुलन्द शब्दमा राम्रो कम्पोजिङले गीतलाई दमदार बनाएको छ । एरेन्ज महाराज थापाको हो भने कम्पोज मेरै हो । शब्द रञ्जना थापाको हो ।

संगीतमा चारवटा स्तम्भ हुन्छन् । यो गीतमा चारवटै पाटा बलिया छन् । ०६० मा रेकर्ड गरिएको यो गीतले एक व्यक्तिको मात्र भावना बोकेको छैन । हरेक मान्छेलाई पर्ने पीडा गीतमा छ, त्यसैले समाजको भावना बोलेको छ ।

सुरुमा रञ्जनाजीले मलाई शब्द देखाएर ‘गाउन सकिन्छ ?’ भन्नुभयो । मैले हेरेँ, असाध्यै मनप¥यो । उहाँले जस्तो गाउनुभयो, मैले त्यस्तै गाएँ । एउटा शब्द पनि यताउता पार्नुपरेन । मैले अहिलेसम्म गाएका गीतमध्ये शब्दमा पूर्णता पाएको गीत यही नै हो ।

ठूला–ठूला महल होइन सीप सिकाउने झुपडी देऊ
यो गीतमा शब्द र संगीत पनि मेरै हो । एक दिन जहाजमा काठमाडौंबाट पोखरा जाँदै गर्दा थानकोटको आकाश कटेपछि झुपडी देख्दै गएँ, अनि पोखरा नजिकिएपछि महलहरू । सर्सर्ती देखाइमा ९० प्रतिशत घर खर र टिनले छाएको देखेँ । यसैलाई गीतमा ढालेर ‘ठूलाठूला महल होइन, सीप सिकाउने झुपडी देऊ…’ लेखेँ ।

गीत लेख्दाको समय देशमा द्वन्द्व चलिरहेको थियो । द्वन्द्वकालमा आमनेपालीको भोगाइ सम्झिँदा अहिले पनि आँसु झर्छ । त्यो वेला ढुक्कसँग कतै बस्न र हिँड्न सक्ने अवस्था थिएन । जहाँ हिँड्दा पनि बाटो–बाटोमा चेकजाँच हुन्थ्यो । कहाँबाट कतिवेला कसको मृत्युको खबर आउँछ, थाहा हुन्थेन । वास्तवमा त्राहीमाम अवस्था थियो ।

त्यस्तो अवस्थामा म एउटा नागरिकको हैसियतले के दिऊँ त भन्ने प्रश्न मनमा उब्जिरहेको थियो । अनि लेखेँ, ‘हिंसा माग्ने मैदान होइन, धान उमार्ने खेत देऊ…।’ यसको सन्देश संसद् र दरबारतर्फ केन्द्रित थियो । दरबार हत्याकाण्ड पनि त्यतिखेर चर्चामै थियो ।

नेपालीका यिनै पीडालाई समेटेर गीतको शब्द तयार पारेँ अनि आफ्नै संगीतमा गाएँ । गीत तयार गर्न दुई महिना लागेको थियो । गीत चल्छ भन्ने अपेक्षा गरेर नै रेकर्ड गराएको थिएँ, नभन्दै नतिजा यस्तै आयो ।

जिन्दगीको के भरोसा यो त सानो खेलौना हो
मेरो सांगीतिक करिअरको पहिलो गीत हो । ९ कक्षाबाट १० मा उक्लिएपछि मेरो मनमा एउटा प्रश्न जागेको थियो, ‘जिन्दगीको के भरोसा ?’ । सानै उमेरदेखि अध्यात्ममा चासो राख्ने भएकाले बुद्ध र जिससबारे पनि प्रश्नहरू पैदा हुन्थे । आफैँमा उब्जिएका प्रश्नको जवाफ खोज्ने क्रममा पनि जीवनलाई केही हदसम्म बुझेँ । अनि गीतकै रूपमा उतारेँ ।

आफ्नै शब्द, संगीत र स्वर भए पनि समूहमा तयार गरेको गीत हो । मान्छेले अहंकार गर्नु व्यर्थ छ, जीवनको कुनै भर छैन भन्ने सन्देश यो गीतबाट दिन खोजेको हो । मेरो रुचिको गीत श्रोताले पनि रुचाइदिनुभयो । आमव्यक्तिले यति धेरै मन पराउनुहुन्छ होला भन्ने सोचेको पनि थिइनँ ।

परदेशबाट छोरो फर्केन
बिबी थापा दाइ जापानमा हुनुहुन्थ्यो । उहाँकी आमा नेपालमा बित्नुभयो । आमाको अन्तिम सास र लास दुवै देख्न पाउनुभएन । आमा बित्नुभएको तेह्रौँ दिनमा मलाई फोन गर्नुभयो र रुनुभयो । अनि, ‘परदेशबाट छोरो फर्केन’ बोलको गीत फोनबाटै लेखाउनुभयो ।

त्यो वेला अकस्मात् र हतारमा गीत उतारेँ कि लेख्ने कागज पनि नभेट्टाएर ढड्डाको बाहिरपट्टि लेखेको थिएँ । त्यो ढड्डा अझै पनि मसँग छ । उहाँले मलाई सर्सर्ती गीत लेखाउनुभयो, मैले थोरै मात्रै तलमाथि गरेँ । उहाँको आमाको ४५औँ पूण्यतिथिमा रिजिल गरेँ । वास्तविक कथा बोकेको गीत भएकाले पनि मलाई बढी मन पर्छ ।

पुरानो डुंगा पानीको छाल पार गरूँ कसरी
यो पनि बिबी थापा दाइकै रचना हो । यो गीतको एउटा रोचक प्रसंग के भने ०३८ मा लेखेको गीत ०५९ मा आएर मात्रै मैले गाउने मौका पाएँ । गीत राम्रो बन्नुमा संगीतकार सुन्दर थापा दाइको हात ठूलो छ । सुरुमा बिबी दाइले उहाँलाई शब्द दिनुभएको रहेछ । सुन्दर दाइले मलाई गाउन दिनुभयो । हामी दुईको प्रेम मिसिएकाले पनि व्यक्तिगत रूपमा मलाई बढ्ता मन पर्छ ।

गीतमा माझीको कथा छ । ०३८ मा बिबी दाइ पोखरा जाँदा फेवातालको छेउमा बसेर लेख्नुभएको रे । त्यो वेला त म जम्मा ६ वर्षको थिएँ । त्यतिखेर फेवातालवारिका मान्छेहरू पारिपट्टी जंगलमा घाँस दाउरा गर्न जाँदा डुंगाको भर पर्थे रे । त्यही कथामा दाइले यो गीत लेख्नुभएको रहेछ । मीठो इतिहास सुनेपछि पनि मलाई यो गीत गाउन मन लाग्यो ।

फर्की आऊ शान्ति तिमी लालीगुराँस भन्छन्
यो गीतको श्रेय संगीतकार शम्भुजित बास्कोटालाई दिन्छु । किनभने, उहाँले मलाई ‘एउटा राम्रो गीत बन्यो यो गीत तिमीले गाउनुपर्छ’ भनेर फोन गर्नुभयो । वास्तवमा त्यो वेलाको द्वन्द्वग्रस्त परिस्थितिमा गीत असाध्यै राम्रो थियो । उन्नती शिला बोहोराको शब्दले त्यो समयको माग बोलेको थियो । जो–जसको कानमा यो गीत गुन्जियो, सबैको मन छोयो । अझै पनि मानिसहरूले ‘फर्की आऊ शान्ति तिमी…’ भनेर गुहार मागिरहेका छन् ।

भेटिएर छुट्नुभन्दा नभेटिएकै जाती हुन्थ्यो
प्रेम कथाको गीति लय हो, यो । युवामाझ लोकप्रिय भयो । मानिसको जीवनमा हरेक क्षण आउँछ । परिचित र अपरिचित मानिससँग भेट हुन्छ, तर अनयासै छुट्छ । त्यसैले यो गीतले एउटा सन्देश पनि दिन खोजेको छ । भूपेन्द्र खड्काको शब्दमा मैले संगीत र स्वर भरेको हो । आफ्नै गीतमध्ये मन पर्ने सूचीको अगाडि नै पर्छ ।

जन्मिँदा एक्लै मर्दा नि एक्लै
‘जन्मिँदा एक्लै मर्दा नि एक्लै, बीचमा किन साथी चाहियो र…’ बोलको गीत अरुण तिवारीजीले लेख्नुभएको हो । एकदिन दीपक बज्राचार्य दाइको स्टुडियोमा गएका थिएँ । मेरो गाउने योजनाचाहिँ थियो, तर शब्द सुनेकोचाहिँ थिइनँ । मैले त्यहीँ गएर, सिकेर, उत्तिखेरै गाएको गीत हो । यो गीतमा जीवित जल्मीको संगीत छ । कुनै तयारीविना गाए पनि गीत राम्रो बन्यो । थुप्रै मानिसको पीडा अँगालेको छ, यो गीतले ।

हाम्रो  नेपाल
आफ्नो लागि होइन, देशको लागि बाँचेर त हेर…अमेरिकाबाट फर्केपछि गाएँ । नेपालको विषयमा धेरै प्रश्नहरू उठ्छन्, नेपालीले केही गरेनन्, देशलाई सोचेनन् भन्नेजस्टा । तर, मैले नेपाललाई कति हेरेको छु त ? यही विषयमा ‘हाम्रो नेपाल’ गीत बनेको छ । देशका लागि केही गरौँ भन्ने सन्देश दिन खोजेको गीत हो । विवेक मल्लको शब्दमा संगीत र स्वर दिएर गीत तयार पारेँ ।

त्यो प्रेमको बलिदान
त्यो प्रेमको बलिदान…बोलको गीत पनि मलाई असाध्यै मनपर्छ । यो गीतको शब्द, संगीत आफ्नै हो । संगीत संयोजन भने अमूल कार्की दाइले गर्नुभएको छ । जब आफूले मन पराएको मान्छेको मन दुखाइन्छ, पछि त्यही मान्छेको अघि गएर पश्चात्ताप गरेको विषय गीतमा छ । मलाई मीठो लाग्छ।

तपाईको प्रतिक्रिया