अमेरिकासितको मित्रता : केही पाएन पाकिस्तानले - Naya Patrika
eNaya Patrika
  • ePaper

अमेरिकासितको मित्रता : केही पाएन पाकिस्तानले

नयाँ वर्षको शुभकामना
बाँकी संसारमा जस्तै पाकिस्तानमा पनि मानिसहरू नयाँ वर्ष आ–आफ्नो औकातअनुसार मनाउने गर्छन् । बन्दुकका सौखिन आकाशतिर गोली चलाउँछन् । रक्सीका अम्मलीहरू महँगो–सस्तो पिएर आगामी वर्षको योजना बनाउँछन् । अल्लाहवालाहरू यी सबैलाई सराप दिन्छन् । लाग्छ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ वर्ष ट्विटरमै मनाए ।

पाकिस्तानी त अझै नयाँ वर्षको रातको ह्याङओभरबाट मुक्त हुँदै थिए कि ट्रम्पले ट्विट गरे— अमेरिकाले मूर्खतापूर्ण ढंगबाट पाकिस्तानलाई अर्बौं डलर दिएको छ तर पाकिस्तानले बदलामा धोकाबाहेक केही दिएन । मलाई फिल्म हिर–राँझाको त्यो दृश्य सम्झनामा आयो, जसमा सैद्दा बिहे गरेर हिरलाई घर ल्याउँछ र आफ्नो सुहागरातमा हिरबाट मार खान्छ । ऊ भन्छ कि मैले तिमीलाई १२ तोला सुन दिएको छु र तिमीले मलाई आउनासाथ समस्या पारिदियौ ।

ट्रम्पको ट्विटले पाकिस्तानका शासक वर्गमा खैलाबैला मच्चाइदियो । हाम्रा ‘क्रान्तिकारी’ मिडियाले आवाज उठाउन लागे कि अमेरिकालाई जोडदार जवाफ दिइयोस्, जसबाट ट्रम्पले आफ्ना बाबुका बिहे देखून् । पाकिस्तानसित अरू केही होस् या नहोस्, तर रक्षा विशेषज्ञ र क्रान्तिकारी मिडिया भने निकै छन् । यहाँ मानिस घरबाट आधा किलो दही लिन जान्छ र घर फर्किउन्जेल ऊ जनरल बनिसक्छ र परिवारलाई भाषण दिन्छ कि ‘जेनेरेसन फाइभ वार’ कसरी लडिन्छ ।

पाकिस्तान र अमेरिका कहिले दाजु–भाइ बन्छन् भने कहिले जुनीजुनीका शत्रु । कहिले अँगालो हालिरहेका हुन्छन् भने कहिले एक–अर्कालाई आँखा तरिरहेका हुन्छन् ।

उर्दूमा गर्जन र अंग्रेजीमा…
पाकिस्तानका शासक वर्गले पनि त्यही गरे, जुन उनीहरूले जहिल्यै गर्दै आएका छन् । उनीहरू उर्दूमा गर्जिए र अंग्रेजीमा कूटनीति गर्न लागे । सेनाका ठूला अधिकारी र रक्षा विशेषज्ञको सुरक्षा परिषद्ले भन्यो कि ट्रम्पले के बकवास गरे, हामीले यसलाई बुझ्न सकेनाैँ । अर्थमन्त्रीले भने— अमेरिकाले हाम्रो ‘हुक्का–पानी’ बन्द गर्न सक्दैन । किनकि, उनीहरूको डलरले त हाम्रो एक दिनको चिया–पानीको खर्च पनि धान्न सक्दैन । एक जनरलले त अमेरिका हाम्रो साथी हो, साथीसित के झगडा गर्नु भनेर कुरै सिध्याइदिए । यस्तो लाग्थ्यो कि कुनै पुरानो र शक्तिशाली मित्रले कसैलाई खुलेआम अपमानित गरोस् र अपमानित मित्रले उनको चिउँडो उचाल्दै भनोस्— छोड्देऊ यार, आखिर तिमी हाम्रै मित्र होइनौ र ?

दुवैले यस मित्रताबाट केही कमाएनन्
पाकिस्तान र अमेरिकाको सम्बन्ध जहिल्यै यस्तै रह्यो । कहिले यी दुई दाजु–भाइ बन्छन् भने कहिले जुनीजुनीका शत्रु । कहिले अँगालो हालिरहेका हुन्छन् भने कहिले एक–अर्कालाई आँखा तरिरहेका हुन्छन् । अमेरिका भन्छ कि पाकिस्तानले आफ्नो साथ दोहोरो खेल खेलिरहेको छ । तर, पाकिस्तान आफ्ना मानिससितै दोहोरो खेल खेल्छ ।

एकातिर तालिवानविरुद्ध सैनिक अखडा दिन्छ र अर्कातिर तालिवानको काँधमा हात पनि राख्छ । एक हातले अमेरिकी डलर समाउँछ र अर्कातिर मानिसलाई बताउँछ कि अमेरिका हामीसित जबर्जस्ती गर्छ ।

त्यसैले भन्न सकिन्छ— अमेरिका र पाकिस्तान दुवैले यस मित्रताबाट केही पनि कमाएका छैनन् । पाकिस्तानले आफ्ना सन्तानलाई मर्न बाध्य बनाएको छ । अमेरिका ३० वर्षअघि अफगानिस्तानलाई स्वतन्त्र गराउन आएको थियो । अफगानी नागरिकको तेस्रो पिँढी जवान भइरहेको छ, जसले युद्धबाहेक केही देखेकै छैन ।

घाँसको बर्बादी
टेलिभिजनमा त देख्नु नै भएको होला, जब हात्ती जुध्छन् तब धर्ती हल्लिन्छ । हात्तीको क्षति कमै हुन्छ । तर, जमिनमा उम्रेको घाँस भने बर्बाद हुन्छ । यिनै हात्ती जब प्रेम गर्न थाल्छन्, त्यतिखेर पनि बर्बादी जमिनको घाँसकै हुन्छ । यस्तो लाग्छ कि एउटा हात पाकिस्तानको चिउँडोमा र अर्को हात ट्रम्पको चिउँडोमा राखेर भनूँ— तिमीहरूको मित्रताबाट हाम्रो कुनै भलो भएन र तिमीहरूको दुस्मनी पनि हामीलाई मन पर्दैन । अब तिमीहरू आ–आफ्नो घर जाओ र आ–आफ्ना बालबच्ला सम्हाल ।
(हनिफ वरिष्ठ पत्रकार हुन्)
बिबिसी डटकम-हिन्दीबाट

तपाईको प्रतिक्रिया