कांग्रेसमा युवाका चुनौती - Naya Patrika
eNaya Patrika
  • ePaper

कांग्रेसमा युवाका चुनौती

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले विगतमा पार्टी फुटाएर आजको विरासत प्राप्त गरेका हुन् । गिरिजाप्रसाद कोइराला देउवाका अन्य हर्कतले गल्नेवाला थिएनन् । पटक–पटक पार्टी सभापति हारेका देउवा १३औँ महाधिवेशनमा भने शृंखलाबद्घ संयोगले सभापति भए । व्यक्तिगत राजनीतिमा देउवा सफल छन्, यदि त्यहाँ पार्टीलाई नगाँस्ने हो भने । अब उनलाई केही प्राप्त गर्नु छैन । तर, कांग्रसको अधोगति त्यहाँबाट सुरु भयो, जब जानीजानी हारिने प्रधानमन्त्रीको संसदीय चुनावमा सुशील कोइरालालाई उम्मेदवार बनाइयो । संविधान निर्माणको महत्वपूर्ण जिम्मेवारीको पूर्ण जस पनि राम्रोसँग लिन दिइएन । उनको अचानक निधन भयो । लामो समयपछि कोइरालाको हातबाट कांग्रेस फुत्किने छनक त्यतिखेरै देखापरेको थियो । चतुर्‍याइँको कमी, गलत सल्लाहकारका सल्लाह र गुटगत राजनीतिक उल्झन रामचन्द्र पौडेलको हारको कारण बन्यो । विद्रोही स्वभावका देउवाका विद्रोही र दम्भयुक्त जमातको ठूलो भिड पार्टीमा हावी हुँदै गयो । फलतः आजसम्म पार्टीको केन्द्रीय समितिले पूर्णता प्राप्त गर्न सकेन । स्थानीय निकायको निर्वाचनमा कैयौँ मन्त्रालय खाली रहे । उदारता प्रदर्शन भएनन् । माओवादीसित गरिएको साँठगाँठ दिगो बनाउन सकेनन् । जसको भरपूर फाइदा केपी ओलीले उठाए । पार्टीलाई उचित सांगठनिक दिशा प्रदान गरिएन । स्थलगत अध्ययनविनै टिकट वितरण गरियो । जसको रिजल्ट सभापतिको हातमै छ । यसको जस–अपजस पनि उनैले लिने हो ।

कांग्रेसी युवा नेतामा यो ताकत छ ?
पार्टीका नीति नियम बदल्नु छ । संगठन विस्तार गर्नु छ । पार्टीका आन्तरिक निर्वाचन जित्नलाई वितरण गरिएका क्रियाशील सदस्यता खारेज गर्नु छ । प्रशिक्षण दिएर जनतालाई कांग्रेस चिनाउनु छ । शेरबहादुर देउवाबाट यी सब हुने छनक देखिएन । कांग्रेसको मैदानी हालत थाहा भयो । अब, पार्टीलाई परिवर्तित गर्न बूढा पुस्ताको सम्मानजनक बिदाइ हो भन्ने बहस चल्न थालेको छ । कटुवाल प्रकरणमा प्रचण्ड हारेको कथा पढेका हाम्रा सभापतिले पुलिस बन्न खोजेकालाई सांसद बनाइदिए, जसलाई आज प्रहरी प्रमुखले सलाम ठोक्छ । उनका मन्त्रिपरिषद्लाई अटेर गर्ने, मन्त्रिपरिषद्को निर्णय नमानेर सुशीला कार्कीलाई अभियोग लगाएजस्तै उनलाई कांग्रेसका कार्यकर्ताले स्पष्टीकरण माग्न मिल्छ या मिल्दैन ? नैतिकताका आधारमा राजीनामा देऊ भन्न मिल्छ या मिल्दैन ? भेलाहरूमा सुनिएजस्तो विशेष महाधिवेशन त देउवाले गराउँदैनन् । यस्तो अवस्थामा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरु घिमिरे, धनराज गुरुङ, बद्री पाण्डे, केशव सिंहजस्ता युवाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीहितका खातिर शेरबहादुर देउवासित कि राजीनामा दिनोस् अन्यथा हामी समानान्तर कांग्रेस पार्टी चलाउँछौँ भन्ने तागत राख्छन् कि राख्दैनन् ? नत्र ठूला भेलाका नाममा गरिने अरण्य रोदनको सुनुवाइ हुनेवाला छैन । आखिर सभापति देउवाको इतिहासले पनि हामीलाई यही सिकाएकै छ । यसमा अन्यथा वा डराउनुपर्ने कारण पनि छैन । यदि यसो नगर्ने भए गगनलगायत युवा पनि गुटका राजनीतिमा लिप्त छन् भन्ने खुल्न धेरै पर्खनु नपर्ला । अनि पाँच वर्षपछि पनि कांगे्रस सुध्रेको देखिनेछैन ।

युवालाई अर्को विकल्प
पार्टीलाई मजबुत बनाउन पद होइन, समय र क्रियाशीलता चाहिन्छ भन्ने हो भने अस्तिको पराजय देउवाका कारण नभई हामी सम्पूर्ण कांग्रेस कार्यकर्ताले यसको जिम्मेवारी लिनुपर्छ । हामीले संगठन निर्माणमा देखाएको उदासीनता, अवसरको दुरुपयोग, सहरकेन्द्रित राजनीति, पैसा र पदीय स्वार्थ, गुटजन्य क्रियाकलाप तथा असली कार्यकर्ताको बेवास्ता नै हारका कारक हुन् । अब हामी विशेष अधिवेशन होइन, पाँच वर्ष फिल्डमा मिहिनेत गरेर वैधानिक बाटो बनाई पार्टीभित्र र बाहिर स्थापित हुने राजनीति गर्छौं भन्ने प्रण गर्नु जरुरी छ । कांग्रेसका युवा गाउँगाउँ पसेर जनता रिझाउन थाले रे भन्ने नयाँ सन्देश पुर्‍याउन सके कुनै युवा नेताको भविष्य अन्धकार छैन । मोही माग्ने ढुंग्र्रो लुकाउने अस्पष्ट चरित्र युवालाई सुहाउँदैन । पार्टीभित्रका बेथितिले युवाको खोजी गरिरहेको सर्वविदितै छ । हाम्रा गतिविधि फेरिए मात्र कांग्रेस बदलिन्छ ।

अबको राजनीतिक बाटो
उदयपुरमा नारायण खड्काले गरेजस्तै काम सबै कांग्रेसका नेताले गर्ने हो भने फेरि हामीले पराजय व्यहोर्नु नपर्ला । यस्तो खडेरीमा पनि ज–जसले चुनाव जित्नुभयो, सबैप्रति हार्दिक आभार प्रकट गर्नैपर्छ । केही दिनमा वाम गठबन्धनको सरकार बन्छ । केपी ओली प्राधानमन्त्री र प्रचण्ड गठजोडको अध्यक्ष हुने लगभग निश्चित छ । यस्तोमा सरकारका गलत क्रियाकलापलाई खबरदारी गर्दै अबका पाँच वर्ष कांग्रेसले मजबुत प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । देश दिनप्रतिदिन विकासको गतिमा अग्रसर हुँदै छ । विद्युत् उत्पादन, बाटो विस्तार एवं विकास, लोडसेडिङ न्यूनीकरण, शिक्षा र खाद्यान्नमा गुणस्तरीयता बढ्दै छ । दल खोल्ने होडबाजी पनि थ्रेसहोल्डले रोकिएको देखिन्छ । हामी नवनिर्मित संविधान कार्यान्वयन प्रक्रियामा गएको अवस्थामा छौँ । हामीसित सामाजिक तथा राजनीतिक आचरणमा पनि शुद्धता अभिवृद्धि हुँदै छ । प्रचण्डले भनेजस्तै पाँचै वर्षमा सिंगापुर बन्ने हाम्रो आर्थिक मजबुती त छैन तर रेमिट्यान्सले हामीलाई मद्दत पुर्‍याएकै छ । अब सबै राजनीतिक दलको एउटै लक्ष्य विकास र समृद्धि भयो भने दश वर्षमा हाम्रो अवस्था बलियो हुने नकार्नुपर्दैन ।

तपाईको प्रतिक्रिया