आर्मीलाई पराजित गरेसँगै एपिएफ उपाधिनजिक - Naya Patrika
eNaya Patrika
  • ePaper

आर्मीलाई पराजित गरेसँगै एपिएफ उपाधिनजिक

आर्मीका लागि सूदूरपश्चिमसँग जित निकाले पनि एपिएफसँगको हार नै उपाधिमा निर्णायक हुने पक्का छ

एपिएफले सुपर लिगमा उपाधिका लागि निर्णायक मानिएको खेलमा आर्मीलाई २–१ ले पराजित गरेको छ । विभागीय डर्बीमा उपाधिमाथि दाबेदारी कायमै राख्न जित्नैपर्ने खेलमा आर्मी पराजित भएपछि एपिएफ जारी १६औँ महिला लिग फुटबलको उपाधिनजिक पुगेको छ ।

अग्रता जोगाउन आर्मी असफल
आर्मीले खेलमा एपिएफविरुद्ध सुरुवाती अग्रता कायम गरेको थियो । आर्मीकी कृष्णा खत्रीले एपिएफकी गोलरक्षक एन्जलिला तुम्बाहाम्फे सुब्बाको गम्भीर गल्तीको फाइदा उठाउँदै टिमलाई अग्रता दिलाइन् । तर, आर्मीले उक्त अग्रतालाई अन्तिमसम्म टिकाउन नसक्दा उपाधि दोबेदारीमा एपिएफ एकतर्फी हाबी भयो । पहिलो हाफको सुरुवातमै गोल गरेपछि उत्साही देखिएको आर्मीले एपिएफलाई पहिलो हाफ तथा दोस्रो हाफको अधिकांश समय गोल गर्न दिएन । तर, अन्तिम केही मिनेट सम्हालिन नसक्दा आर्मी स्तब्ध भएको थियो ।

दोस्रो हाफमा एपिएफ हाबी
प्रतिस्पर्धात्मक बनेको विभागीय डर्बी खेलमा आर्मीविरुद्ध एपिएफले ५०औँ मिनेटमा अनीता केसीको गोलमार्फत खेल बराबरीमा ल्यायो । बराबरीपछि दबाबमा परेको आर्मीविरुद्ध निर्णायक गोल ८३औँ मिनेटमा अनीता बस्नेतले गरिन् । त्यसपछि खेलमा दुवै टिम गोल गर्न असफल भएपछि आर्मी सुपुर लिगमा पनि एपिएफसँग बदला लिन असफल रह्यो । यसअघि समूहचरणमा पनि आर्मी एपिएफसँग पराजित भएको थियो । एपिएफकी मनमाया लिम्बू अतिरिक्त समयमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएकी थिइन् ।

एपिएफलाई अग्रता
प्रतियोगिताअन्तर्गत सुपर लिगमा आफ्ना सबै खेलमा जित निकालेको एपिएफ उपाधि होडमा सबैभन्दा अघि छ । एपिएफसँग हारेको आर्मीका लागि अन्यसँग जित निकाले पनि एपिएफसँगको हार नै उपाधिमा उसका लागि निर्णायक हुने पक्का छ । एपिएफको सुपर लिगमा ६ अंक भएको छ भने पुलिस र आर्मीको समान ३ अंक छ । लिगको पुछारमा रहेको सुदूरपश्चिमले दुई हारसहित खाता खोल्न सकेको छैन ।

पुलिसद्वारा सुदूरपश्चिम पराजित
प्रतियोगिताअन्तर्गत मंगलबार नै भएको अर्को खेलमा नेपाल पुलिसले सुदूरपश्चिमलाई १–० ले पराजित गर्‍यो । प्रतिस्पर्धात्मक खेलमा पुलिसका लागि रूपा मगरले ३१औँ मिनेटमा गरेको १ मात्र गोल निर्णायक बनेको थियो । प्रतियोगिताअन्तर्गत अन्तिम चरणको खेल बुधबार हुनेछ । उपाधि होडमा पुलिसको सम्भावना निकै कमजोर छ । पुलिसलाई डर्बीमा एपिएफलाई पराजित गर्नुपर्ने चुनौती रहँदा आर्मी सुदूरपश्चिमसँग पराजित हुनुपर्नेछ । यस्तोमा पराजयका बाबजुद पनि एपिएफ गोलअन्तरमा अघि रहँदै च्याम्पियन बन्ने सम्भावना कायम रहनेछ ।

तपाईको प्रतिक्रिया