बेंग्लोरको रेस्टुरेन्टमा आगलागी, पाँचको मृत्यु - Naya Patrika
eNaya Patrika
  • ePaper

बेंग्लोरको रेस्टुरेन्टमा आगलागी, पाँचको मृत्यु

भारतको दक्षिणी राज्य बेंग्लोरको एक रेस्टुरेन्टमा लागेको आगलागीमा पाँचजनाको मृत्यु भएको छ । स्थानीय समयाअनुसार बिहीबार बिहान साढे दुई बजे कैलाश बार रेस्टुरेन्टमा लागेको आगलागीमा त्यहाँ कार्यरत पाँचजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सो बारमा काम गर्ने कर्मचारी रहेको प्रहरीले जनाएको छ । आगलागीमा मारिनेमा एक महिला पनि छिन् । रेस्टुरेन्टमा आगो लाग्दा उनीहरू निदाइरहेका थिए ।

आधा दर्जन दमकल र अग्निनियन्त्रकको चार घन्टा लामो प्रयासपछि सो आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा आउँदा सो रेस्टुरेन्ट जलेर ध्वस्त भएको थियो । आगोले जलेका शवलाई परीक्षणका लागि अस्पतालमा लगिएको छ ।

रेस्टुरेन्टमा अग्नि सुरक्षा मापदण्ड लागू नभएको जनाइएको छ । भारतकै सूचना प्रविधि (आइटी)को राजधानी मानिने बेंग्लोरमा पछिल्ला दशकमा निर्माण कार्यमा तीव्र विकास भएको छ । तर, आवासीय र व्यावसायिक भवनहरूमा अझै पनि सुरक्षा मापदण्ड र भवनसंहिता पूर्ण रूपमा लागू हुन सकेको छैन ।

आगलागीका कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । आगलागीपछि बेंग्लोरका मेयर सम्पूर्ण सहरका रेस्टुरेन्ट र बारहरूमा अग्नि सुरक्षा मापदण्ड लागू भए नभएको विषयमा जाँच गर्न निर्देशन दिएका छन् । भवनसंहिता लागू नभएका केही बारलाई प्रहरीले सिल गरेको छ । आगलागीपछि बार सञ्चालक फरार छन् । सञ्चालकविरुद्ध प्रहरीले आपराधिक मुद्दा दायर गरेको छ ।

भारतमा घनाबस्ती, अग्नि सुरक्षासम्बन्धी मापदण्डको अभावलगायतका कारण सार्वजनिक भवनहरूमा आगलागीका घटनामा वृद्धि भएको छ । दुई साताअघि मुम्बईको कमला मिल्स कम्पनीमा भएको आगलागीमा ११ महिलासहित १९ जनाको मृत्यु भएको र अन्य २० जना घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया