धरानमा फकिर कवि - Naya Patrika
eNaya Patrika
  • ePaper

धरानमा फकिर कवि

प्रकाश आङ्देम्बे मेरा लागि कवि हुन् । तर, बल्ल कवितासंग्रह प्रकाशनको तयारी गर्दै छन् । बरु उनले आफूलाई नाटककार, गजलकार र फिल्म निर्देशकका रूपमा स्थापित गराइसकेका छन् । नेपालमा तांकासंग्रह निकाल्ने औँलामा गनिने कविमध्ये हुन्, प्रकाश आङ्देम्बे । उनको पहिलो पहिचान कवि नै हो । र, आज जे छन्, त्यो धरानले नै दिएको देन हो । अहिले पनि उनी धरानले खनेको गोरेटोमा हिँडिरहेका छन् । उनको धरान आगमनको कथा भने सुखद छैन । न त धरान बहिर्गमनको कथा नै सुखद छ ।

दमकको सातफुटे कोठा

उनी आमासँगै झापाको शरणामती बस्थे । पाँच कठ्ठा जमिन र सानो झुप्रो घर थियो । बुवाले अर्को बिहे गरे । त्यहाँसम्म पनि ठीकै थियो । तर, बुवा बिरामी परेपछि सबै कुरा बिग्रियो । उपचारका लागि जग्गा बन्धकी राखेर ऋण लिए । ऋण एक हजार रुपैयाँ मात्र थियो । आफन्तसँगै काढेको । तर, तिर्न सकेनन् । जग्गा हडपियो । अनि सुकुमबासी भए ।

बस्ने ठाउँको खोजी गर्दै दमक आए । आमा छोरा एउटा सानो कोठा लिएर बस्न थाले । कोठा झन्डै सात स्क्वायर फुटको थियो । भाडा ५० रुपैयाँ । कोठामा सुत्न मिल्दैन थियो । पकाउने र खाने मात्र । उनीहरू पशुहाटको एउटा घरको बरन्डामा सुत्न जान्थे । तर, त्यहाँ प्रत्येक दिन दिउँसै गएर ठाउँ रोक्नुपथ्र्यो । ठाउँ रोक्न प्रकाश २ बजे नै पुगिसक्थे । बुवा र सानिआमा अलिकमाथि हाटखोलामा बस्थे । बुवा र सानीआमाको झगडा परिरहन्थ्यो । त्यसको कारण प्रकाश र उनको आमा नजिकै बस्नु पनि थियो ।

प्रकाश आङ्देम्बे

सानिआमातिरका भाइबहिनी साना थिए । प्रकाशकी आमा बच्चालाई माया गर्ने । उनीहरू ठूलीआमालाई भेट्न आइरहन्थे । आउँदा सडक पार गर्नुपथ्र्यो । गाडीले ठक्कर दिने डर हुन्थ्यो । आमा डराइबस्थिन् । नआओ भन्न पनि नसक्ने । त्यसकारण बुवाले उनीहरू त्यो ठाउँ छाडेर गइदिएहुन्थ्यो जस्तो गरे । तर, जाने ठाउँ थिएन ।

बुवा र सानीआमा दमक हाटखोलाको सुकुमबासी बस्तीमा बस्थे । दीप खड्का भन्ने सुकुमबासी नेता बुवालाई भेट्न आइरहन्थे । उनको घर धरानको सुकुमबासी बस्तीमा थियो । आमा छोराको दुःख देखेपछि उनले बुवालाई धरानको सुकुमबासी टोलमा जग्गा भएको बताए । नहुनेले आश गर्नुबाहेक अरू उपाय हुन्न । प्रकाशकी आमालाई पनि आफ्नै जग्गामा बस्न पाइने आशा लाग्यो । उनीहरू धरान जान राजी भए ।

मक्किसकेको छाना र ढल्लाजस्तो भित्ता

०४९ सालमा प्रकाश ६ कक्षा पढ्थे । आमासँग लागेर धरान पुगे । उनीहरूलाई छाड्न बुवा र सानीआमा धरानसम्म आएका थिए । धरान पुगेपछि उनीहरू फर्किए । त्यहाँ कोही चिनेजानेको मान्छे थिएन । थिए त उनीहरूलाई लिएर आउने दीप खड्का मात्र । उनको घर दुईकोठे थियो । आमा छोरा त्यहीँ बस्न थाले । तर, खर्च थिएन । खर्चको नाममा आमासँग १३ रुपैयाँ रहेछ । फर्किने वेला बुवा र सानीआमाले खर्चबारे केही सोधेनन् । अब पाइलैपिच्छे समस्या थियो ।
लिम्बू जातिमा निकै परसम्म पनि नाता खोज्ने चलन छ । धरान धेरै लिम्बू जातिको बसोवास भएको ठाउँ । नाता खोज्दै जाँदा प्रकाश र उनकी आमाले पनि धेरै आफन्त भेटाए । सहयोग नै गर्ने भन्ने कम मात्र । गैह्रीघरे बाजे र बजुले भने निकै सहयोग गरे ।

उनीहरू दीप दाइको घरमा दुई महिनाजति बसे । सुकुमबासी टोलमा नै लम्बुडे भनिने दाइ थिए । उनको खास नाम अधिकांश टोलवासीलाई थाहा थिएन । लम्बुडे दाइको पुरानो फुसको घर थियो । छाना मक्किसकेको, भित्ता पनि ढल्ला ढल्लाजस्तो । लम्बुडे दाइले त्यही घर सजाएर बस्ने भए आफूले दिने प्रस्ताव गरे । उनीहरू बस्ने भए । टाउको लुकाउनसम्म मिल्ने थियो । छानामा प्लास्टिक लगाए । भित्ता टाले । तर, वर्षाको पानी प्लास्टिकले नछेक्ने । घरभित्र आहाल जम्थ्यो ।

रगतको साइनो टाढा, मनको नजिक

उनले धरान गएको एक वर्षपछि ६ कक्षा पास गरे । ७ कक्षा भर्ना गर्ने पैसा थिएन । आफन्तले पत्याएनन् । भर्ना गर्न एक सय ६० रुपैयाँ लाग्थ्यो । उनीहरूका लागि त्यो निकै ठूलो पैसा थियो । कमाउने आमा मात्र । उनी पनि रोगी थिइन् । कमाएको पैसा खाना र औषधिमै सकिन्थ्यो । सुकुमबासी टोलछेउमै मधेसी मूलका नरेश र ललिता बस्थे । उनीहरूलाई प्रकाश मामा–माइजू भनेर सम्बोधन गर्थे । प्रकाशले पैसा नभएर भर्ना गर्न नसकेको नरेश मामाले थाहा पाएछन् । उनले प्रकाशलाई बोलाएर हात समात्दै शिक्षा सदन मावि पु¥याए । भर्ना गरिदिए ।

आफन्त भनेको रगतको नाता मात्र होइन रहेछ । आफन्त भन्नु त मन रहेछ । किनभने जग्गा हडप्ने तिनै आफन्त थिए, जोसँग रगतको साइनो थियो । विद्यालय भर्ना गर्दिने ती आफन्त थिए, जोसँग मनको साइनो थियो ।

विद्यालयमा चैतन्य इजम, अखण्ड भण्डारी, रमेश लिम्बू, लक्ष्मी, सुधालगायत प्रकाशका साथी थिए । गोपाल पौडेल, चन्द्रमणि अधिकारी नेपाली पढाउने शिक्षक थिए । गोपाल सरको पढाउने शैलीबाट सबै विद्यार्थी प्रभावित थिए । चन्द्रमणि सरचाहिँ लेखक । उनका निबन्धका पुस्तक प्रकाशन भइसकेका थिए । उनको प्रेस पनि थियो । आफैँ पत्रिका निकाल्थे । त्यसकारण विद्यार्थीलाई पनि लेख्न प्रेरित गरिरहन्थे । उनैले प्रकाशमा पनि साहित्यको छाप पारे ।

कक्षा ७ पढ्दा नै उनले आफ्नो क्षमता देखाउन थालिसकेका थिए । एकपटक वादविवाद प्रतियोगिता हुने भयो । उनी बोल्नमा तगडा थिए । साथीहरूले भाग लिनुपर्छ भनेर फुक्र्याए । उनले पनि भाग लिए । दोस्रो भए ।

त्यतिवेला राजनीति विद्यालयसम्मै आइपुगेको थियो । अनेरास्ववियुले प्रारम्भिक कमिटी र नेवि संघले इकाइ समिति बनाउँथे । प्रकाश बोल्न सिपालु । दुवै संगठनको नजरमा परेका थिए । एकपटक चिनेकै दाइहरू कक्षामा आए । कमिटी बनाए । सिन्दूर लाइदिए । भाषण गर्न सिकाए । उनले पनि गरिदिए । बल्ल अरूले भनेपछि पो थाहा पाए कि उनी त कम्युनिस्ट पो भइसकेछन् ।

जब सरले कविता च्यातचुत पारिदिए

उनले ०५३ सालतिर नै विद्यालयमा ‘सजाय’ भन्ने नाटक गरे । त्यतिवेला उनी ९ कक्षामा पढ्थे । नाटक लेखन र निर्देशन उनकै थियो । अभिनय पनि गरे । अहिले सम्झिँदा त्यतिवेला विद्यार्थी बिग्रिनुको मनोविज्ञान खोजेको रहेछुजस्तो लाग्छ रे, उनलाई । तर, तरिका पुगेको थिएन भन्ने उनको आफ्नै ठम्याइ छ ।

त्यतिवेला जिल्लास्तयरीय कविता प्रतियोगिता हुन्थे । उनी तुक मिलाएर लेख्थे । अर्थात्, अन्त्यानुप्रास मिलाएपछि कविता बन्छ भन्ने थियो । कविताको विषयवस्तु र सारको मतलब थिएन । प्रतियोगिता हुने भयो । त्यो पनि जिल्लास्तरीय । साथीहरूले उनलाई ‘तँ त खतरा लेख्छस्, भाग लिनुपर्छ,’ भने । उनले नेपाली सरलाई कविता दिए । तर, सरले त कवितै च्यातेर फ्याँकिदिए ।

आफूलाई मन परेको कविता सरले त पत्याएनन् । उनले पनि इख लिए । सरलाई देखाउँछु भनेर एउटा पूरै कापी कविताले भरे । अहिले पनि त्यो कापी उनीसँग सुरक्षित छ । तर, कविता भने गतिला भएनछन् । अहिले हेर्दा त उनलाई लाज लाग्छ रे ! तर, त्यसले उनलाई कविता लेख्ने अभ्यास भने राम्रै भएछ ।

त्यतिवेला कविता हिमाल, पहाड, जंगल, खोला, नदी, देश, आमा आदिबारेमा हुन्थ्यो । सबै विषयमा अरूले नै कविता लेखिसकेपछि आफूलेचाहिँ केबारे लेख्ने होला भन्ने उनलाई चिन्ता लाग्थ्यो । तनाव लिएर सोची बस्थे ।

ती अनौठा साथीहरू

उनी ‘गरिमा’ खुब पढ्थे । तर, नयाँ अंक कम मात्र किन्थे । पुराना अंक सस्तोमा पाइन्थ्यो । उनले गरिमा किनिरहँदा उनका साथी चैतन्य इजम भने ‘जापानका लोककथा’जस्ता पुस्तक छान्थे । ती लोककथा उनी पनि पढ्थे । निकै प्रतिभावान् थिए, चैतन्य । तर, उनी पछि लाहुरे भए । कवि बन्न सकेनन् ।

प्रकाशका अर्का साथी थिए, विजयपुरका लोकराज निरौला । अहिले उनी राजनीतिमा छन् । लोकराज पहिलादेखि नै आशावादी । जुनसुकै कुरा पनि हुन सक्छ भन्ने विश्वास थियो । आफूसँग नभएको कुरा सम्झिएर कहिल्यै दुःखी हुँदैन थिए । बाबुको मृत्युमा पनि ‘मान्छेलाई नै पर्ने हो, यस्तै हो’ भनेर आफैँ चित्त बुझाउँथे ।

लोकराजकै कारण उनीहरूले ‘बिहानी सांस्कृतिक केन्द्र’ खोले । त्यसपछि आफैँ कविता गोष्ठी गर्न थाले । बिहानीको अध्यक्ष अनुप सबल थिए । खास नाम, अनुप संग्रौला । प्रकाशचाहिँ महासचिव । अनुप अनौठो स्वभावका थिए । माओवादीसँग पुलिसको पक्षमा कुरा गर्थे, पुलिससँग माओवादीको । अनि कांग्रेससँग कम्युनिस्टको र कम्युनिस्टसँग कांग्रेसको समर्थन । पछि उनी हराए । न बेपत्ताको सूचीमा छन्, न मृतकको ।

आफैँलाई कुकुर सम्झेर लेखेको त्यो कविता

पहिलोपटक ०५३ सालतिर उनको ‘कुकुर’ शीर्षकको कविता ‘ब्लाष्ट’ दैनिकमा छापियो । कुकुर इमानदार, बफादार भएर पनि मान्छेहरूले उसलई हेला गर्छन् भन्ने कविताको सार थियो । उनी पनि आफन्तको घरमा बस्थे । काम सघाइदिन्थे । कहिलेकाहीँ नराम्रो वचन खानुपथ्र्यो । त्यही अनुभूतिलाई उनले कवितामा उतारेका थिए । तर, कविता धेरै सशक्त थिएन । तुक मिलाएर लेखेका थिए ।

कविताजस्तो भए पनि उनलाई त्यहीकारण साथीहरूले चिन्न थाले । धरानबाट छापिने ‘न्युज पोष्ट’, ‘मर्निङ टाइम्स’लगायत पत्रिकामा पनि कविता छापिन थाले । जस बेखर्चीलगायतले ती पत्रिकाको अन्तिम पृष्ठमा स्तम्भ लेख्थे । ब्लाष्टमा राजकुमार कार्कीको स्तम्भ आउँथ्यो । धरानमा चलेका लेखक कविले पनि उनलाई चिन्न थाले ।

गोविन्द विकलको त्यो गजल

उनको गोविन्द विकलसँग पहिलो भेट दमकमा भएको हो । विकल धरान आउजाउ गरिरहन्थे । गोविन्द विकल फकिरजस्ता । प्रकाश पनि फकिर नै थिए । गोविन्द विकल अभावमा बाँचेका । उनी पनि अभावमै बाँचेका । अभावले मान्छेलाई नजिक बनाउँदो रहेछ । उनीहरूको उमेर मिल्दैन थियो । तर, पनि नजिक भए । जीवनको अन्तिमकालसम्म उनी गोविन्द विकलसँग निकट थिए । गोविन्द विकलले एउटा गजल लेखेर सुनाए । पहिलोपटक प्रकाशलाई नै सुनाएका थिए । त्यसको पहिलो सेर उनी कहिल्यै बिर्सिंदैनन् ।

नसोध्नू है तिमी मेरो घरको ठेगाना ।
तिम्रो दिल, मेरो जीवनभरको ठेगाना ।।

प्रकाशको न घर थियो, न जीवनको कुनै भर । गोविन्द विकल पनि दुईपटक विवाह गरेर असफल भएका थिए । उनको जीवनयात्रा कहाँ पुग्छ टुंगो थिएन । सायद, यही गजलजस्तो थियो, दुवैको जीवन ।

त्यतिवेला धरानमा कुन्ता शर्मा, गोविन्द विकल, बद्री पलिखे, बम देवान, कृष्ण पाख्रिनलगायत नाम चलेका कवि थिए । कुन्ता शर्माको कविता ‘पोथी बास्नुहुँदैन’ उनले पहिलोपटक स्टेजमा कुन्ता शर्माकै मुखबाट सुनेका थिए । त्यतिवेला कविताको विद्रोह शक्ति उनले बुझेनन् । तर, अहिले सम्झिँदा त्यसले कविता लेख्ने ठूलै हौसला दिएको ठान्छन् ।

धरानमा उनी कवितामा खास जमेनन् । बरु उनका नाटक खुब मन पराइएको थियो । ‘सजाय’ नाटक स्कुल हुँदा नै गरे । ‘गरिबको दशा’ नाटक बिहानी सांस्कृतिक केन्द्रबाट विभिन्न स्थानमा देखाए । कलेज पढ्न थालेपछि ‘आमाको सपना’ नाटक गरे । उनी धरानमा कविभन्दा बढी नाटक गर्ने मान्छेको रूपमा चिनिन्थे । तर, उनको पहिलो परिचय भने कवि नै थियो ।

दुःखमा आए, दुःखमै छाडे धरान

प्रकाश आङ्देम्बेले ०५५ सालको अन्त्यतिर धरान छाडे । धरान छाड्दा पनि उनको खल्ती रित्तो थियो, जसरी धरान आउँदा रित्तो थियो । एसएलसी पास भइसकेका थिए । जागिर थिएन । आमा रोगी । सुकुमबासी बस्तीको बसाइ । आमाले काम गर्न सक्न छाडेपछि उनलाई जिम्मेवारी बढ्दै थियो । तर, धरानले जागिर पत्याएन । अनि भौतारिँदै फेरि दमक पुगे ।

दमकमा भेटिए, धरानका सुमन जवेगू । उनी एउटा बोर्डिङमा भाइस प्रिन्सिपल भइसकेका थिए । त्यहीँ उनले नृत्य सिकाउन थाले । अनि, दमक बसेर धरानमा खनेको गोरेटो हिँड्दै कवि र गजलकार बने । त्यही बाटो हिँडेर फिल्म बनाए । धरान उनको दुःखको भूमरी थियो । त्यही भूमरीमा पसेर उनले जीवन सिके ।

तपाईको प्रतिक्रिया